Comments Add Comment

तेल उत्पादक देशले २० प्रतिशतभन्दा बढी तेल कटौती गर्ने

२८ चैत, काठमाडौं । पेट्रोलियम पदार्थ उत्पादक मुलुकको संगठन (ओपेक) र उसका सहयोगी मुलुकले तेल उत्पादन २० प्रतिशतभन्दा बढीले कटौती गर्ने भएका छन् । बीबीसीका अनुसार कोरोना भाइरस (कोभिड–१९) को महामारीले विश्वभर मागमा कमीसँगै तेल उत्पादकले उत्पादनमा कटौतीको निर्णय गरेका हुन् । उनीहरुले आगामी मे र जुन महिनामा तेल उत्पादन एक करोड ब्यारेल प्रतिदिनको दरले कटौती गर्ने सहमति गरेका छन् ।

बिहीबार ओपेक र रुससहित अन्य सहयोगी मुलुकको बीचमा यसबारे छलफलका लागि भिडियो कन्फ्रेन्स आयोजना गरिएको थियो । सोही भिडियो कन्फ्रेन्समा तेलको उत्पादन कटौतीको विषयमा सहमति जुटेको हो । यसअघि रुस र साउदी अरेबियाको बीचमा तेल उत्पादनमा कटौतीको विषयलाई लिएर सहमति जुट्न सकेको थिएन । मे र जुन महिनाको लागि गरिएको प्रतिदिन कटौती विश्वको समग्र आपूर्तिको १० प्रतिशत हो ।

बिहीबार तेल उत्पादकहरुले आगामी जुलाईदेखि डिसेम्बरसम्म भने तेल उत्पादन अहिलेको तुलनामा ८० लाख ब्यारेल प्रतिदिनको दरले कटौती गर्ने निर्णय गरेका छन् । त्यस्तै सन् २०२१ को जनवरीदेखि सन् २०२२ को अप्रिलसम्म भने यो कटौती ६० लाख ब्यारेल प्रतिदिनमा झर्नेछ ।

गत मार्चमा ओपेक र उसका सहयोगी मुलुकको बीचमा तेल कटौतीबारे सहमति जुट्न नसकेपछि तेलको भाउ १८ वर्षयताकै कमजोर बन्न पुगेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment