Comments Add Comment
स्मृतिमा डम्बर सुब्बा :

‘बिलायो धनकुटाको सारङ्गीको धुन’

साविकको नेकपा (एमाले) ले स्थानीय निर्वाचनमा धनकुटा जिल्लामा क्लिनस्विप गरिसकेपछि एउटा लेख लेख्न मन लागेको थियो, विगतको वामपन्थी आन्दोलन सम्झिँदै धनकुटामा कायम भएको वर्तमान वर्चश्वबारे ।

सम्पूर्ण धनकुटाको विगतको अवलोकन गर्न नपाए पनि धनकुटा नगरमा र त्यसमा पनि आफ्नै घरमा भएको गतिविधिबारे एउटा बालसाक्षीको हैसियतले एउटा लेख तयार पारी प्रकाशमा ल्याएको थिएँ, स्थानीय निर्वाचनलगत्तै ।

पुराना बामपन्थी नेता तथा धनकुटा नगरका पूर्वउपप्रमुख जीवप्रसाद पोखरेल हिजो गाह्रो अप्ठ्यारोको समयमा ज्यानको जोखिम मोलेर पार्टीमा पसिना बगाउनेहरु क्रमश: ओझेलमा पर्दै र पारिँदै आएको गुनासो गरिरहनुभएको थियो ।

मलाई भने पञ्चायतकालीन भूमिगत समयमा आफ्नो घर र घर वरिपरिका गतिविधिहरुको धमाधम सम्झना आउन थाल्यो । यही सम्झनाको सेरोफेरोमा रहेर २०३७ देखि २०३९ सालसम्मको धनकुटा नगरको तत्कालीन मालेको गतिविधिलाई मसिनो गरी फुटकर रुपमा प्रकाशमा ल्याएँ ।

सकेसम्म कसैलाई पनि नछुटाउँ भन्ने मेरो उद्देश्य थियो। यही उद्देश्यबाट निर्देशित भएर मैले लेखनलाई अगाडि बढाउने अभिष्ट गरेँ ।

ती लेखनहरुबाट खासगरी अप्ठ्यारो समयमा जोखिम मोल्नेहरुमा इतिहास उजागर भएकोमा उत्साहको सञ्चार भएको खबर पाएँ । तर, आज सक्रिय भइरहेका, जन्मकै कारण पञ्चायतकालमा योगदान गर्न नपाएका, पुरानाहरुको इतिहासलाई मेट्न चाहने, आफ्नो भागै खोसिएला झैँ सोच्ने केही कमरेडहरुमा भयग्रस्त मनोविज्ञान सञ्चार भएको अनुभूति मैले गरेँ ।

राजकुमार दिक्पाल

सञ्चार प्रक्रियामा यस्ता विविध खालको प्रतिक्रिया आउनु स्वभाविकै हो । फेरि हिजो जे देखेँ, त्यसलाई इमान्दारितापूर्वक लेख्नुपर्ने आफ्नो कर्तव्यलाई मैले भुल्नु पनि भएन ।

मैले धनकुटा नगरको तत्कालीन मालेको गतिविधिलाई आधार बनाएर बाल स्मरणको आँखाबाट तिनीहरुको पाना पल्टाउँदै जाँदा लेखेका लेखमध्ये एउटामा मानवशास्त्री डा. डम्बर चेम्जोङ (हाल त्रिवि मानवशास्त्र विभाग प्रमुख) ले लेख्नुभएको प्रतिक्रियाले नछोएको होइन, मलाई ।

उहाँले लेख्नुभएको थियो, ‘राजकुमारले लेखेका लेखहरू पढिरहेको छु । तर, आफ्नै दाजु डम्बर सुब्बाको बारेमा चाहिँ लेख्न अलिक कञ्जुस्याइँ गरिरहेको देखिन्छ । डम्बर सुब्बा पञ्चायतकालमा कति जोसिला थिए भने, उनलाई देख्दा सिंहको बच्चाजस्तै लाग्थ्यो ।’

मेरा अधिकांश लेखमा मेरा दाजु डम्बर सुब्बा छुट्दैनथे। उनी छुटे भने लेख पनि तयार हुँदैनथ्यो । तर, एउटा सिङ्गो लेख उनीबारे लेख्दा परिवारवादको आरोप लाग्छ भन्नेमा म आफैँ सतर्क थिएँ ।

परिवारवादीको आरोप लाग्ने मेरो भ्रमले डम्बर सुब्बा एउटा सिङ्गो लेखबाट छुटिरहे । उनको जीवनकालमा उनीबारे सिङ्गो लेखका रुपमा मेरो कलम चलेन । सोमबार (२०७६ चैत २४) मध्यरातमा त उनले प्राण त्यागिहाले । २७ गते उनलाई समाधिस्त गरियो । त्यसपछि लेखेको यो स्मृति लेखको अर्थ रहन्छ कि रहँदैन, थाहा छैन ।

कार्यकर्ता र सेल्टरदाता

२०३७ सालदेखि २०३९ सालसम्म हाम्रो एउटा घर पूरै पार्टीप्रति समर्पित थियो । यो भूमिका खेल्ने उनै डम्बर सुब्बा थिए । सैन्य अधिकारीबाट निवृत्त मेरा बुबा भने कडा स्वभावको हुनुहुन्थ्यो । उहाँकै मेहनत र पसिनाबाट बनेको त्यो घरमा भूमिगत भई आउने मालेका नेताहरुलाई बास मात्रै होइन, निम्नमध्यम वर्गीय हाम्रो परिवारबाट गाँसको पनि व्यवस्था गर्नु पर्ने । तर, बुबाले यस्तो गतिविधिको कहिल्यै पनि विरोध गर्नु भएन । बरु पोस्टर लेख्नका लागि राम्ररी खिपेर बाँसका कलमहरु बनाएर दिनुहुन्थ्यो ।

खुलेआम जनसांस्कृतिक रिहर्सलले मध्यरातसम्म त्यो घरमा गाना बजाना चल्थ्यो । हामीले त्यसबाट हाम्रो निद्रा खल्बलियो भनेर कहिल्यै गुनासो गरेनौँ । धनकुटा नगरका अरु चार ठाउँमा पनि भूमिगत नेताका लागि सेल्टरहरु थिए। तर, भूमिगत नेताको लागि सेल्टरको व्यवस्थासँगै हाम्रो घर खुल्ला सा‌ंस्कृतिक गतिविधि हुने ठाउँ पनि थियो ।

जनसांस्कृतिक मोर्चाका रुपमा तत्कालीन मालेले उपयोग गरेको थियो। प्रगतिशील लेखक कलाकार संघलाई । वि सं‌ २०३७ र २०३८ सालमा धनकुटामा दुईपटक भव्य सांस्कृतिक कार्यक्रम सम्पन्न भए । यी दुबै कार्यक्रमको रिहर्सल हाम्रै घरमा भएको थियो ।

पाहुना कलाकारहरुलाई गाँस र बासको व्यवस्था गर्न मेरी आमा र दिदीहरु खुब खटेको देख्थेँ । मोटरबाटोको सुविधा नभएको त्योबेलाको धनकुटामा धानको चामल निक्कै महँगो पर्थ्यो। दाजु डम्बरकै अनुहार हेरेर आमा र दिदीहरुले चामल, दाल जोहो गरेर ती पाहुना कलाकारहरुलाई गाँसको व्यवस्था गर्थे ।

धनकुटाको राणाचोकमा प्रगतिशील लेखक कलाकार संघकोे २०३८ सालमा पहिलो जिल्ला सम्मेलनले डम्बर सुब्बालाई अध्यक्ष चुन्यो । भोलिपल्ट तत्कालीन क्षेत्रीय अदालतको अस्थायी बिचारी पदको जागिरबाट उनले हात धुनुपर्‍यो । सायद मुक्तिका लागि ज्यानकै बाजी थाप्न तयार एउटा क्रान्तिकारीलाई त्यो अस्थायी जागिरको के परवाह रह्यो होला र ?

उनले सेल्टरको चाँजोपाँजो मिलाएको घरमा मदन भण्डारी, अशोक राई, राजेश बान्तवा, चित्र निरौला र रमेश खनालजस्ता जिम्मेवार कमरेडहरुले आश्रय लिएका थिए, पटक-पटक ।

सारङ्गीको मीठो धुन

हाम्रो टोलका युवाहरुलाई परिवर्तनका खातिर मुक्ति यात्रामा लगाउन अभिभावकको भूमिका खेल्नु हुनेमा गोपाल गुरागाईं अग्रपङ्क्तिका नेता हुनुहुन्थ्यो । संस्कृतिकर्मी रेख ब्लोनको विशेष उत्प्रेरणा थियो । अनि जिल्लाको सा‌ंस्कृतिक नेताका रुपमा डम्बर सुब्बा अगाडि बढिरहेका थिए । घरको विशेषगरी आर्थिक प्रतिकूलता जटिल अवस्थामा थियो । अनेकौँ अभावका जङ्घारहरु तर्दै हिँड्नुपर्ने अवस्था थियो । खालीखुट्टामा सिस्नो टेक्दै भए पनि मुक्तियात्रामा डम्बर सुब्बाहरु यात्रारत थिए ।

त्योबेला खासगरी गितारमा पोख्त हुनुहुन्थ्यो, रेख ब्लोन । उहाँका भाइ नगेन्द्र गिटार र हारमोनियम दुबैमा । सन्तोष तामाङको हातबाट मादल बडो गज्जबले बज्थ्यो । डम्बर सुब्बा सारङ्गीबाट मीठो धुन निकाल्थे । धुन निकाल्ने मात्रै होइन, फलेदोको रुख काटेर आफैँ सारङ्गी बनाउँथे पनि । फलेदोको काठ, बाख्राको छाला, टेलिफोनको तार, हात्तीबारको रेसा र सल्लाको खोटो भएपछि डम्बरको हातबाट मीठो धुन निस्कने सारङ्गी उत्पादन हुन्थ्यो । उनले दर्जनौं सारङ्गी उत्पादन गरेको मैले आफ्नै आँखाले देखेको छु ।

तत्कालीन मालेभित्र २०३९ सालमा पार्टी स्वतन्त्रता कि राजनीतिक स्वतन्त्रता ? भन्ने दुई मत आयो । त्यसपछि हाम्रो घरमा भूमिगत नेताहरु आउन छाडे। सांस्कृतिक गतिविधि ठप्प भयो । स्थानीय कार्यकर्ताहरु भने बेलाबेलामा जम्मा हुने र गाइँगुइँ कुराकानी भने गर्थे ।

त्योबेला पार्टीको सम्पर्क केन्द्रका रुपमा हुलाकटोलमा एउटा पुस्तक तथा स्टेसनरी पसल थियो । आफ्ना सहकर्मीहरु भक्त थापा र मोती लावतीका साथ त्यो पुस्तक पसलको उनले २०४१ सालसम्म रुँगालो गरे । २०४० सालको तिहारसम्म त वर्षेनि भव्य प्रगतिवादी देउसी भैलो उनकै नेतृत्वमा हुने गरेको थियो ।

२०४१ सालको दशैं लाग्दा उनी हाम्रो पुर्ख्यौली थलो ताप्लेजुङको हाङपाङ उक्ले । त्यसतर्फ जाँदै गर्दा उनमा केही विरक्तभावहरु रहेको उनको आँखाले बोल्थ्यो । केही महिनापछि त्यहाँबाट फर्कँदा बुबासँग उनको कुरा हुन्थ्यो । छेउमा बसेर मैले सुन्दा त्योबेला हाङपाङमा हाम्रो पुर्खाले किपटका रुपमा चर्चेको जग्गाको नापी हुँदै रहेछ । बुबाको निर्देशनअनुसार उनले पनि केही छुटपुट जग्गाहरु आफ्नो नाममा नापी गराए ।

उनी बेरोजगार थिए । तर, आफ्नो हातको शिल्पअनुसार सारङ्गीको धुन हाङपाङमा पनि घन्काएछन् । यही सारङ्गीको धुन सुनेर कतिपयले एउटा गन्धर्वलाई जस्तो दान दक्षिणा उनलाई दिएको उनी सुनाउँथे । हाङपाङमा रहँदा उनले केही थान सारङ्गी बनाई बिक्री गरी खर्च जुटाएको पनि उनीबाटै सुन्ने अवसर पाएको थिएँ ।

उनी गीत गाउँथे, नाटक लेखन तथा प्रदर्शन गर्थे । कविता पनि लेख्थे । तर, उनका ती रचनाहरु छरपस्ट छन् ।

पछि उनले सुदूरपूर्वी पाँचथरको सिदिङ्मा गाउँमा पुगी केही समय शिक्षण पेशा पनि गरे ।

पछि धनकुटा फर्के । खेती किसानीमा रमाए । पार्टीमा आस्था राख्थे, तर सक्रियता देखाउँदै’थे । सबैभन्दा उनको उच्च पक्ष के हो भने उनले आफ्नो आस्थालाई प्रतिक्रियावादीहरुको हातमा बन्धक राखेनन् । उनी कहिल्यै बिकेनन् । सम्भवतः उनले एउटा राम्रो स्कुलिङबाट मनमा आस्थाको धरोहर उच्च बनाएका थिए ।

जोखिमको यात्रामा

२०७६ सालको भाइटीकाको दिन मैले पुराना बामपन्थी नेता राजेश बान्तवालाई बागबजारमा भेटेँ । उहाँले सोध्नुभयो, ‘भाइ, डम्बरजी कता हुनुहुन्छ ?’ मैले उहाँको जिज्ञासा मेट्दै भनेँ, ‘उनी अलि अस्वस्थ छन्, छोराहरुसँग काठमाडौंमै रहेर स्वास्थ्यलाभ गरिरहेका छन् ।’ राजेश दाइ उनलाई भेट्न चाहनुहुन्थ्यो ।

मैले राजेश दाइसँगको भेटमा उहाँलाई सोधेँ, ‘तपाईंहरुकै योजनामा धनकुटाको एउटा विद्यालयबाट पार्टीले टाइपराइटर चोरी गरेको थियो नि होइन ?’

‘हो त, यो काम उदय बस्नेतको पहलमा भएको हो’, उहाँले मेरो एउटा जिज्ञासा मेटाइदिनुभयो ।

त्योबेला चित्र निरौला धनकुटाको जिल्ला पार्टी सचिव हुनुहुँदो रहेछ । राजेश बान्तवाचाहिँ सुनसरी जिल्लाको सचिव । ताङ्खुवाको चुलाचुली माविबाट रातको समय निबुवा खोला तारेर बोरामा खाँदिएको एउटा गह्रौँ वस्तु हस्तान्तरण गरी भिरगाउँका डेगमान राई करप्प हात मिलाई आफ्नो घर फर्के । त्यो गह्रौँ वस्तु निबुवा खोलाबाट घाँटीचौर हुँदै सल्लेरी वनको उकालै उकालो ल्याई वारि पात्लेको कुलकेशर वाग्लेको घरमा पुर्‍याउने जोखिम पनि उनै डम्बर सुब्बाहरुले उठाएका थिए ।

कडा चेकजाँच गरिने त्यो समयमा ढाक्रेको भेषमा साँगुरीगढी हुँदै धरान पुर्‍याउने जोखिम पुष्प राईले उठाएका थिए । उनले सम्बन्धित ठाउँमा पुर्‍याई आफ्नो जिम्मेवारी पूरा गरेका थिए । संयोग पनि बडो दुःखको ! उनै डेगमान, पुष्प र डम्बर यो संसारमा छैनन्, अहिलेको पार्टी नेतृत्वलाई उनीहरुले उठाएको यस्तो जोखिमबारे सम्झने फुर्सद पनि छैन ।

व्यक्तिगत लापरवाह

कुन विरक्तभावले हो, पञ्चायतकालमा त्यत्रो जोखिम मोलेर तत्कालीन मालेको सेवा गर्ने उनी २०४६ सालको परिवर्तनपछि त्यसतर्फ आकर्षित भएनन् । उनीहरुकै प्रेरणाबाट बाल्यकालदेखि प्रभावित उनको भाइ म भने विद्यार्थी राजनीति, थोरै पार्टी राजनीति, बढीभन्दा बढी सांस्कृतिक क्रियाकलाप र लेखन हुँदै पत्रकारितामा सक्रिय भएँ ।

मैले धेरैपटक उनलाई पुरानै पार्टीमा फर्कन आग्रह पनि गरेँ । तर, उनी पुराना वामपन्थी नेता नन्दकुमार प्रसाईंको समिपमा पुगे । उनको पार्टी माओवादीमा विलय भएसँगै जिल्लाको एउटा माओवादी नेताका रुपमा पो मैले डम्बर सुब्बालाई पाएँ ।

राजनीतिक र आध्यात्मिक कर्मले धनकुटाको उकाली-ओराली गर्दा रक्तचाप नाप्ने पनि फुर्सद पाएनन् । उनी जिल्ला अस्पताल विकास समितिको अध्यक्ष पनि भए । तर, आफ्नो स्वास्थ्यबारे लापरवाह बनिरहे । उनले मसँग पनि सहयोग रकम मागी अस्पतालमा केही फर्निचर दान पनि गरे । तर, एकैपटक पनि आफ्नो स्वास्थ्य परीक्षण गराएनन् । भोजनको अनियमिततालाई पनि उनले बिर्सिरहे ।

रोगले अन्तिम अवस्थामा  च्याप्दै लगेपछि उनी एक दिन ढले । त्यसपछि आन्तरिक रक्तप्रवाह भई त्यो शौचमा देखा परेपछि हतार-हतार उपचारार्थ काठमाडौं आए । तर, ढिलो भइसकेको रहेछ । कलेजो ध्वस्त भइसकेको रहेछ । रोग पत्ता लागेको ६ महिनापछि त उनी समाधिस्त नै भइहाले ।

उनी सारङ्गीको एउटा मीठो धुन थिए । तर, सारङ्गीको पेट खोक्रो हुन्छ । आधा पेट खाएर उनले निष्ठाको धुन भरिरहे । जीवनभर बामपन्थी आस्थाको झण्डा उचालिरहे ।

अब डम्बर सुब्बा यो संसारमा छैनन्। तर, उनको ४० वर्ष लामो नेपाली बामपन्थी आन्दोलनमा शालीन योगदान र निष्ठापूर्ण उचाइको सम्झना भने छँदैछ । निष्ठाको राजनीति गर्नेले उनलाई सम्झे मात्र हामी परिवारका सदस्यलाई मनग्य हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment