+
+
Shares
गाई किसानको पीडा :

दूध दुहुँदै, गाईलाई खुवाउँदै !

बिक्री हुनै छाड्यो गाईको दूध

रोयल आचार्य रोयल आचार्य
२०७६ चैत २८ गते १५:३६

२८ चैत, काठमाडौं । ‘उफ ! घाम पनि कति चर्को लगेको’ गाईलाई घाँस हाल्दै कृष्णप्रसाद घिमिरेले सुस्केरा हाले ।

भक्तपुरको कौशलटार स्थित फार्ममा १४ वटा गाई छन् । जसको स्याहार सुसार गर्नु कृष्णप्रसाद र उनकी श्रीमतीको दैनिकी हो । त्यसमा केही फेरिएको पनि छैन । तर, अहिले दूध उत्पादन मात्र घटेको छैन । भएको दूध पनि बिक्री हुन छाडेको छ ।

हामीले सोध्यौँ, ‘के भएर उत्पादन घट्यो त ?’

‘लकडाउन ! हजुर लकडाउन’ प्रश्न भुइँमा खस्न नपाउँदै कृष्णप्रसादले जवाफ फर्काए ।

‘लकडाउनले सबै क्षेत्र लक भएको छ । गाईलाई खुवाउने सामान पनि किन्न सकिएको छैन । खानेकुरा नै नभएपछि दूध घट्ने भइहाल्यो’ कृष्णप्रसादले समस्या सुनाए ।

कृष्णप्रसाद दम्पतिलाई दूध उत्पादन घटेकोभन्दा पनि दूध बिक्री नभएकोमा चिन्ता धेरै छ । लकडाउनका कारण दूध बिक्री हुन छाडेको छ । ‘उत्पादन त घट्यो घट्यो, कमसेकम राम्रोसँग व्यापार भएको भए हुन्थ्यो’ कृष्णप्रसाद भन्छन्, ‘दूध बिक्री नभएर पनिर बनायौँ । अहिले त पनिर पनि बिक्री गर्न समस्या छ ।’

कृष्णप्रसाद फार्ममा गाडीले उत्पादन गरेको दूध साइकलमा घरघरमा पुर्‍याएर बेच्ने गरेका रहेछन् । उनका नियमित ग्राहक थिए । धेरै जसो दूध उनीहरुले लिन्थे । बचेको दूध डेरीमा लगेर बिक्री गर्थे ।

तर, लकडाउनले दूध बेच्ने दुबै बाटो लगभग बन्द भएका छन् । धेरैजसो नियमित ग्राहक घरमा छैनन् भने डेरीले पनि दूध लिन मान्दैन । ‘म डेरीमा ७० रुपैयाँमा शुद्ध दूध दिन्छु । तर, अहिले त डेरीले पनि किन्दैन’ उनी भन्छन्, ‘डेरीमा पनि दूध बिक्री नभएपछि पनिर बनाउँछौँ । तर, अहिले पनिर पनि बिक्री हुन गाह्रो छ ।’

कृष्णप्रसाद दम्पतिले अब गाईको दूध दुहुने र फेरि त्यही गाईलाई नै खुवाउन थालेका छन् ।

सहुलियत ऋण सुन्यौँ मात्र, पाएनौँ

१७ महिना अघिसम्म कृष्णप्रसाद दम्पति पुख्र्यौली थलो काभ्रेको पनौतीमा खेती किसानी गर्थे । काठमाडौं आउनेजाने क्रममा भक्तपुरको लोकन्थलीमा गाई गोठ बिक्रीमा रहेको खबर पाए । व्यवसाय गर्न पाए दुई छोराछोरीलाई राम्रो स्कुल पढाउन सकिन्छ कि भन्ने लाग्यो र गोठ किनेर छवटा गाई पाल्न सुरु गरे ।

गाईको संख्या बढेर १४ पुगेको छ । तर, अझै गोठमा गाईको संख्या थप्ने योजना बनाइरहेका छन् । त्यही बेला कृषि उद्यमीलाई सहुलियत ऋण दिने सरकारको घोषणा सुनेपछि धेरै बैङ्कका शाखा कार्यालय धाए । राष्ट्रिय वाणिज्य बैङ्कको सानोठिमी शाखामा कृष्णप्रसाद दम्पतिले कर्जाका लागि आवेदन पनि दिए ।

‘हाम्रो आवेदन बैङ्कले थन्काएको छ, सहुलियत कर्जा पाएनौँ’ कृष्णप्रसादकी श्रीमती भन्छिन्, ‘अनुदानको त आशा छैन, कमसेकम ऋण लिएर व्यवसाय त गर्न दिनुहुन्थ्यो ।’

सरकारले ढुवानीमा २५ प्रतिशत अनुदान दिन्छ भन्ने समाचार पनि आफूहरुले सुनेको भन्दै कृष्णप्रसादले यस्तो राहत आफ्नो पहुँचमा नरहेको बताएका छन् । उनी भन्छन्, ‘बिक्री नभएको दूधलाई बजार व्यवस्था गरिदिए मात्र पनि राहत हुन्थ्यो ।’

अरुको पनि पनि उस्तै छ

भक्तपुरको लोकन्थली (हनुमन्ते) खोलापारि चार परिवारले गाई पालन गरेका छन् । प्रतिफार्म वार्षिक एक लाख २० हजार रुपैयाँ भाडा तिर्ने गरी उनीहरुले फार्म सञ्चालन गरेका छन् । चार परिवारको गरी एक सयभन्दा बढी गाई छ ।

गाई फार्म सञ्चालन गरिरहेका सरिता बोहरा, विष्णु बोहरा, सागर बोहरा र कृष्ण बास्तोलाको पीडा पनि कृष्णप्रसादको जस्तै छ । ‘गाईलाई खुवाउने चोकर आउन छाडेको छ । त्यसैले पेट भरिने गरी खानै दिन सकिएको छैन ।’ सरिता भन्छिन्, ‘गाईले खान नपाएपछि दूध घट्ने नै भयो । त्यही दूध पनि बिक्री हुन छाडेको छ ।’

‘अनि के गर्नु हुन्छ त दूध ? हामीले सोध्यौँ । केही दिन अघिसम्म पनिर बनाएको । तर, त्यो पनि बिक्री हुन छाडेपछि दूध फेरि गाईलाई नै खुवाउने गरेको उनले सुनाइन् । ‘अरुबेला त डेरीवालाहरु लिन आउँथे, अहिले प्रहरीले डेरी खोल्नै दिँदैन भनेर लिन आएका छैनन्’ सरिता भन्छिन्, ‘त्यसैले फाल्नुभन्दा त्यही गाईलाई दिन्छौँ ।’

एकातिर उत्पादन कम, अर्कोतिर भएको दूध पनि बिक्री हुन छाडेपछि किसानहरुको आर्थिक चेन नै भत्किन थालेको छ । त्यसैले अहिले अन्य अनुदानभन्दा पनि उत्पादन भएको दूध नियमित बिक्री गर्ने वातावरण बनाइदिए हुन्थ्यो भन्छन् । भन्छन्, सरकारले केही देला भनेर आशाभन्दा पनि गाईलाई खुवाउने कुरा सहज आइदिए र उत्पादन भएको दूध बिक्री गर्न पाए हुन्थ्यो ।’

तस्वीर र भिडियो : आर्यन धिमाल/अनलाइनखबर

लेखक
रोयल आचार्य

आर्थिक पत्रकारितामा सक्रिय आचार्य मुलतः बैंक तथा वित्तीय संस्था, सेयर बजार र निजी क्षेत्रका विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?