Comments Add Comment

बारामा राहतको नाममा कुहिएको चामल !

२८ चैत, वीरगञ्ज । बाराको कलैया उपमहानगरपालिका-२२ मटेरियाका विजयप्रसाद साहले चैत २४ गते वडा कार्यालयबाट राहत सामग्री पाए ।

लकडाउनका कारण कमाउन जान नपाएको अवस्थामा राहत पाएपछि खुसी हुँदै राहत सामग्री बोकेर उनी घर फर्किए । तर, उनको खुसी धेरैबेर टिक्न सकेन ।

जिरा मसिनो चामल लेखिएको नयाँ बोराभित्र कुहिएको चामल भेटिएपछि राहत बोकेर हिँडेका साह एकाएक निराश भए। उनले आफूलाई मात्रै त्यस्तो चामल परेको होला भन्ने ठाने । भोलिपल्ट गाउँमा अरुले पनि कुहिएको चामल परेको भन्ने गुनासो गरेको सुने । चैत २७ गते उनीहरु गुनासो लिएर वडा कार्यालयमा गए ।

‘वडा कार्यालयले कुहिएको चामल वितरण गरेको रहेछ । बोरामा जिरा मसिनो लेखिएको तर चामल कुहिएको भेटियो,’ उनले भने, ‘ चामल नै गन्हाउँछ कसरी पकाएर खानु ? ’

मटेरियाकै प्रेम साह, जितेन्द्र साह, हरेन्द्र राम, हरि राम, बेल्हार माझी, लालु माझीलगायतले राहतमा पाएको चामल कम गुणस्तरको रहेको गुनासो गरेका छन् । मटेरियासँगै धोदाटोल र मधीलुवा गाउँमा वितरण गरिएको चामलको गुणस्तरमा समेत स्थानीयले प्रश्न उठाएका छन् । वडा कार्यालयले लकडानउनबाट प्रभावित छ सय १५ परिवारलाई प्रतिपरिवार १५ किलो चामलसहितको राहत वितरण गरेको थियो ।

चामल कम गुणस्तरको परेको गुनासो लिएर राम्रो चामल दिन आग्रह गर्दै वडा कार्यालयमा पुग्दा बिहीबार उल्टै प्रहरी लगाएर लखेटिएको गुनासो स्थानीयले गरेका छन् । मटेरियाकै श्यामबाबु साहले राहतको चामल घर लगेर खोल्दा गन्हाएपछि फिर्ता गर्न वडा कार्यालयमा जाँदा दुर्व्यवहारको सामना गर्नुपरेको बताए । ‘राहतको चामल कुहिएको परेछ भनेर वडा कार्यालयमा भन्न गएका थियौँ,’ उनले भने, ‘ उल्टै वडा अध्यक्षले गाली गरेर पठाए ।’

कम गुणस्तरको चामल दिएको विरोधमा असन्तुष्ट स्थानीयले शुक्रबार पनि चामलसहित वडा कार्यालय पुगेका छन् । उनीहरुले वडा कार्यालय घेराउ गरेर विरोध गर्नुको साथै चामल फिर्ता गरिदिएका छन् । चामल दिने मिल र वडा कार्यालय मिलेर राहतको नाममा ठगी गरेको भन्दै उनीहरुले दोषीलाई कारबाहीको माग गरेका छन् ।

राहतमा कम गुणस्तरको चामल वितरण गरेको विषय बाहिर ल्याएको भन्दै आफूहरुमाथि वडा अध्यक्ष निकटका मानिसहरुले दुर्व्यवहार गरेको स्थानीय अमित साहले जानकारी दिए । ‘राहतको नाममा भएको बदमासी हामीले सामाजिक सञ्जालमार्फत बाहिर ल्याइदियौँ । वडाअध्यक्ष पक्षधरका मानिसहरु हामीमाथि नै आक्रमण गर्न खोज्दैछन्’ साहले भने ।

वडाध्यक्षद्वारा स्वीकार

वडाअध्यक्ष लालबाबु यादवले राहत वितरण गरिएको चामलका केही पोका कम गुणस्तरको पाइएको स्वीकार गरेका छन्। उनले जैतापुरमा वीरेन्द्र साहले सञ्चालन गरेको मिलबाट खरिद गर्दा नै कमसल चामल परेको हुन सक्ने आशंका गरे।

‘यो राहत वितरण गर्दा पनि सुख छैन, नगर्दा पनि सुख छैन । छ सय १५ परिवारलाई राहत वितरण गर्दा ५० परिवार जतिलाई कम गुणस्तरको चामल परेको रहेछ,’ वडा अध्यक्ष यादवले भने, ‘ त्यो फिर्ता गरिदिन्छौँ भनेका छौँ। तर, विपक्षी केही व्यक्तिहरुले स्थानीयलाई उचालेर वडामा होहल्ला मच्चाइरहेका छन् ।’

राहत वितरणमा देखिएको विवाद समाधानका लागि बसेको वडा समितिको बैठक समेत होहल्लाका कारण बस्न नसकेको उनले सुनाए ।

‘हामीले जानी जानी त्यसो गरेका होइनौँ, चार सय बोरा खरिद गर्दा केही बोरा चामल नराम्रो परेछ,’ उनले भने, ‘ स्थानीयले फिर्ता ल्याएछन् । के गर्ने कसो गर्ने भन्ने निर्णय गर्न समितिको बैठक बस्न लागेको हो। तर, केही व्यक्तिहरु आएर होहल्ला गरेर बैठक बस्नै दिएका छैनन् ।’

यसअघि बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नं १७ का बासिन्दाले पनि गुणस्तरहीन चामल वितरण गरेकोभन्दै राहत वितरणमा रोक लगाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment