Comments Add Comment

भारतमा हाइड्रोक्सिक्लोरोक्विन औषधि अभाव हुने चिन्ता

२८ चैत, काठमाडौं । भारतमा औलोको उपचारमा प्रयोग हुने हाइड्रोक्सिक्लोरोक्विन औषधिको अभाव हुन सक्ने चिन्ता बढेको छ ।

बीबीसी हिन्दीकाअनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले माग गरेअनुसार यो औषधि भारतले निर्यात गर्ने निर्णय गरेसँगै भारतमा यसको अभाव हुन सक्ने आशंका बढेको हो ।

अहिलेसम्म यो औषधि कोरोना भाइरस (कोभिड–१९) को उपचारमा काम लाग्न सक्ने कुनै प्रमाण भेटिएको छैन । तर, ट्रम्पले यसलाई ‘गेम चेन्जर’को संज्ञा दिएका छन् । भारतमा हजारौं मानिसहरु यो औषधि सेवन गर्ने गरेका छन् ।

भारतको स्वास्थ्य विभागले भने भारतमा पर्याप्त मात्रामा यो औषधि उपलब्ध रहेको बताएको छ । यद्यपि भारतमा ‍औषधि पसलबाट भने यी औषधि हराइरहेका छन् ।

पसलबाट हराउन थाले औषधि

भारतको कोलकातामा बस्ने बरनाली मित्रा ‘ल्युपस’ रोगबाट पीडित छिन् । उनले विगत १७ वर्षदेखि यो औषधि खाँदै आएकी छिन् । यो रोगको उपचारको लागि पनि हाइड्रोक्सिक्लोरोक्विनको प्रयोग गरिन्छ । अहिले भने मित्रालाई औषधि पसलले डाक्टरको अनुमति बिना यो औषधि बिक्री गर्न नमिल्ने भन्दै फर्काइदियो । यहाँसम्मकी डाक्टरको अनुमति लिएर जाने मानिसलाई पनि केवल एक पत्ता (१० ट्याबलेट्स) मात्र दिइन्छ ।

अन्य धेरै पसलमा खोज्दा र अनलाइन अर्डर गरेर मगाउँदा उनले २० ट्याबलेट पाइन् । तर, यो सकिएपछि के हुन्छ भन्ने चिन्ता उनलाई अझै छ ।

भारत ठूलो उत्पादक

हाइड्रोक्सिक्लोरोक्विनको लागि भारत विश्वको सबैभन्दा ठूलो उत्पादक मुलुक हो । हालसालै भारतले यो औषधि निर्यातमा रोक लगाएको थियो । तर, मंगलबार भारतले आफ्नो निर्णय परिवर्तन गर्‍यो र कोरोना भाइरसबाट अतिप्रभावित मुलुकमा यो औषधि निर्यात गरिने बतायो । यससँगै भारतमा आगामी दिनमा यो औषधिको अभाव चुलिने आशंका बढेको छ ।

तर, भारतको इन्डियन फर्मास्युटिकल एसोशिएसनले भने भारतमा यो औषधि कमी हुने विषयमा कुनै किसिमको चिन्ता लिनु नपर्ने बताएको छ । एक एसोशिएसनका अध्यग टीवी नारायणले य कोभिड–१९ को उपचारमा यो औषधि काम लाग्न सक्ने समाचार सार्वजनिक भएसँगै मानिसहरुले मौज्दात थालेसँगै यसको अभाव देखिएको बताए ।

उनले अहिले हतारमा मानिसले यसको जथाभावी प्रयोग गर्न सक्ने आशंकामा सरकारले डक्टरको अनुमति बिना यसको प्रयोगमा रोक लगाएको हो । उनकाअनुसार अहिले अमेरिकाले मागेको भन्दा धेरै मौज्दात भारतमा अहिले नै भएकाले निर्यातले पनि भारतमा कुनै किसिमको समस्या भने आउँदैन ।

डाक्टरले जसलाई सधैं हाइड्रोक्सिक्लोरोक्विन लिन सल्लाह दिएको छ, उनीहरुलाई अहिले केही कठिन भए पनि केहीदिनपछि सजिलै औषधि उपलब्ध हुने उनको भनाइ छ ।

यो औषधिको अभाव भारतमा चुलिन सक्ने खतरा बढेसँगै मानिसहरुले यसको मात्रामा कम गरेर भएको औषधिले धेरै समय पुर्‍याउन प्रयास गरिरहेको अनुभव पनि सुनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment