Comments Add Comment

होम क्वारेन्टाइनमा एक्ला प्रमोद अग्रहरी स्क्रिप्ट लेख्न व्यस्त

काठमाडौंको बसुन्धारामा अभिनेता प्रमोद अग्रहरीको डेरा छ । उनी त्यहाँ एक्लै बस्छन् । लकडाउनको कारण प्रमोद कोठामा थुनिएका छन् । नितान्त एक्ला ।

झण्डै ३ सातादेखि कोठामा थुनिएर बसे पनि दिक्क भने भएका छैनन् उनी । दिनभर लेख्नमा भुलिएको बताउँछन् ।

लकडाउनको समयलाई सदुपयोग गर्न प्रमोदले चलचित्रको स्कृप्ट लेखन सुरु गरेका हुन् । बिहान खाना खाएपछि उनी लेख्न सुरु गर्छन् । निद्रा लागेन भने रातीको दुई बजेसम्म लेखिरहन्छन् ।

प्रमोदले भने, ‘मैले केही समय अगाडिदेखि नै एउटा चलचित्रको स्कृप्ट लेख्न सुरु गरेको थिएँ । तर, समय अभावले सिध्याउन पाएको थिइनँ । अहिले मिलेको फुर्सदको समयलाई यसमा सदुपयोग गरिरहेको छु ।’ कस्तो विषयको स्क्रिप्ट हो भन्ने चाहिँ उनले खुलाएनन् ।

लेख्दा अल्छि लाग्यो भने उनी सामाजिक संजाल हेर्न थाल्छन् । कोरोनाको विषयमा अपडेट लिन्छन् । अपवाह फैलाउने समाचार देखे भने त्यसलाई बेवास्ता गरिदिन्छन् ।

‘धेरै समय सामाजिक सञ्जालमा भुल्दिनँ । एकैछिन आराम गर्दा हेर्ने हो । नत्र त इग्नोर नै गर्छु,’ प्रमोदले भने ।

एक्लै भएकाले खाना आफैँ पकाउन पर्ने बाध्यता छ उनलाई । खाना बनाउन उनलाई अल्छी लाग्दैन । उनले भने, ‘म भेज हो । त्यसैले धेरै परिकारहरु बनाउनु पर्दैन । अहिलेको समय त किचेनमा जे छ त्यहीँ पकाएर खाइरहेको छु ।’

खानामा उनलाई ‘सेवई’ धेरै मन पर्छ । त्यो उनको भान्सामा कहिल्यै टुट्दैन ।

प्रमोद आफूलाई स्वस्थ राख्नको लागि व्यायाम पनि गर्ने गर्छन् । ‘केही नगरी यत्तिकै बसियो भने त शरीर बिग्रिन्छ । त्यसैले व्यायामहरु पनि गरिरहेको छु,’ उनले सुनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment