+
+
Shares

‘कोरोनाबाट मुक्त भएपछि गाँजा खेती थालिहालौं’

शेरबहादुर तामाङ, सांसद शेरबहादुर तामाङ, सांसद
२०७६ चैत २९ गते ११:२८

कुनैपनि मुलुक संकटको बेला त्यो राष्ट्र कति स्वाभिमान पूर्वक उभिन सक्छन् भन्नका लागि त्यस राष्ट्रको कृषि उत्पादन कस्तो छ, त्यसमा भर पर्छ । यदि कुनै राष्ट्र कृषि उत्पादनमा आत्मनिर्भर छ भने जस्तोसुकै संकटापन्न अवस्थामा पनि त्यो राष्ट्र आफुलाई ठिंङ्ग उभिन सक्छ ।

नब्बेको दशकमा सोभियत रुसमा राजनीतिक परिवर्तको कारण विषम परिस्थितिको सिर्जना भयो । चरम आर्थिक मन्दीको स्थिति देखा पर्‍यो, राज्य नियन्त्रित समाजवादी प्रणालीमा रहेको मुलुक बजार अर्थतन्त्रात्मक पुँजीवादमा प्रवेश गर्दा धेरै क्षेत्र डाँवाडोल भएको थियो । तर, त्यो अवस्था धेरै रहेन, छिट्टै रुसले आफुलाई पुनःस्थापित गर्न सफल भयो । त्यसको मुख्य कारण भनेको नै उसको कृषि प्रणाली मजबुद थियो ।

अहिले अमेरिका विश्व शक्तिसम्पन्न मुलुकको रुपमा रहेको छ । औद्योगिक क्षेत्रमात्र नभई अमेरिकाको पनि कृषि प्रणाली अत्यन्त मजबुद छ । वरिपरि शत्रुराष्ट्रहरुले घेरिएर पनि आफूलाई निरन्तर अरबको एक शक्तिसम्पन्न राष्ट्रको रुपमा उभ्याउन सक्ने इजराइल पनि कृषिको सम्पन्नताको कारणले बनेको हो । चीन विश्वको शक्तिसम्पन्न राष्ट्रको रुपमा निरन्तर प्रगति गर्दै जानुमा पनि उसको कृषि उत्पादन धेरै राम्रो भएकाले हो ।

हामी नेपाल कुनैबेला कृषि उत्पादन निर्यात गर्ने मुलुक थियौं । वि.सं. २०६६ सालमा आइपुग्दा ४४ अरब ४३ करोडको खाद्यवस्तु आयात गर्न थाल्यौं । अहिले त्यसको १० वर्ष पछिको अवस्था हेर्दा स्थिती यति भयावह भएको छ कि हरेक वर्ष १० प्रतिशतले कृषि उत्पादनको आयात बढ्दै गएको देखिन्छ ।

आ.व. ०७४/०७५ मा कृषि उत्पादन तेश्रो मुलुकबाट २ खरब १५ अरब ५० करोड बराबरको आयात गरेर हामी नेपालीले खाएछौं । यो भनेको प्रतिव्यक्ति सरदर ८ हजार हुन जान्छ भने विदेशमा गएर नेपाली युवाहरुले कमाएको रेमिट्यान्सको झण्डै ५० प्रतिशत हो ।

विदेशको समृद्धिको लागि पसिना बगाएर जति कमाए पनि सो आम्दानी पुनः घुमेर केबल खाद्यान्नको लागि ५० प्रतिशत खर्च गरेपछि अरु दैनिक जीवनमा प्रयोग गरिने अन्य साधनको आयात र त्यसको उपयोग गरे बापत नेपालीले तेस्रो मुलुकमा पठाउने रकमको भोल्युम हेर्ने हो भने कहालीलाग्दो छ ।

दैनानुदिन व्यापार घाटा चुलिंदै गएको देखिन्छ । हरेक वर्ष बढ्दै गएको खाद्यान्नमा परनिर्भरता बढ्दै जानु निश्चय पनि कुनै राष्ट्रको लागि राम्रो विषय होइन ।

हामीले विगतमा कृषिमा अनेक कार्यक्रमहरु लागु गर्‍यौं । कृषि आधुनिकीकरणका नाममा धेरै पैसा पनि खर्च गर्‍यौं । तर, उपलब्धि नगण्या रह्यो । कृषिमा नेपाली युवाहरुलाई अकर्षण दिन सकेन । कृषि उत्पादनबाट आम्दानी हुन सकेन भनेर बरु युवाहरु खाडी लगायतका मुलुकहरुमा सस्तो ज्यालामा श्रम बेच्न तयार भए तर नेपालमै बसेर कृषिमा स्वरोजगार हुन सकिन्छ भनेर कसैले चासो नै दिएन ।

करिब ७० लाख सक्रिय श्रमशक्ति विदेशी भूमिमा विदेशको समृद्धिको लागि आफ्नो उर्वर श्रम बेच्न बाध्यछन् र त्यसबापत प्राप्त ज्याला पनि घमिफिरी पुनः विदेशमै गैरहेकाले राष्ट्रको समृद्धि हुन सकेन । कुनैपनि मुलुकको समृद्धिमा सोही मुलुकको श्रमशक्तिको मूल्यावान लगानी नै प्रमुख हुन्छ ।

जबसम्म नेपाली उर्वर श्रमशक्ति विदेशको समृद्धिका लागि सस्तो ज्यालामा बेचिन्छन्, तबसम्म हामीले मुलुकको समृद्धि कोरा कल्पनामात्र हुनेछ ।

तसर्थ, नेपाली श्रमशक्तिलाई नेपालमा नै टिकाउने उपाय के हुन सक्छ, त्यसबारे व्यापक अनुसन्धान जरुरी छ ।

हामीसँग प्रशस्त प्राकृतिक श्रोत साधन छन् । त्यसको सही सदुपयोग हुन सकेको छैन । विभिन्न अन्तराष्ट्रिय कानूनहरुको अनुबन्धका कारणले हामीले आफ्नो प्राकृतिक श्रोतलाई पनि राम्रोसँग उपयोग गर्न सकिरहेका छैनौं ।

फाइल तस्वीर

कतिपय अन्तर्राष्ट्रिय कानूनहरुलाई हामीले त्यसको भविष्यमा के प्रभाव पर्छ र दीर्घकालीन रुपमा राष्ट्रको अर्थतन्त्रमा के असर पर्छ भनेर कुनै मूल्यांकन नगरिकन नै हामी विभिन्न अन्तर्राष्ट्रिय कानूनहरुको पक्षराष्ट्र हुन पुग्दछौं । जबकि कुनै–कुनै अन्तर्राष्ट्रिय कानूनहरुको दायराको कारणले विभिन्न बहुराष्ट्रिय उत्पादनहरु हाम्रो देशको कुनाकुनामा पुगेको हुन्छ । तर, हाम्रै गाउँघरमा हाम्रै ज्ञानमा आधारित उत्पादनले कि त बजार पाउँदैन कि त हामी आफैं अवैधको विल्ला लगाएर नष्ट गर्न पुग्छौं । अब हामीले यसबारे सोचेर के गर्दा नेपालको स्वाधीन अर्थतन्त्र बन्न सक्छ, त्यसको खोजी गर्नुपर्ने आवश्यकता परिसकेको छ ।

कोरोनाका कारण अब कुनै पनि मुलुक आफ्नो उत्पादनमा भर परेनौं भने त्यो मुलुक बाँच्न गाह्रोे पर्ने देखिन्छ । अबको विश्वको उत्पादन र त्यसको उपयोगको ट्रेन बदलिने स्थिति पैदा भएको छ । अब हामीले चाहेर नचाहेर पनि हाम्रो युवा श्रमशक्तिलाई स्वदेशमा नै रोजगारी दिनुपर्ने स्थिति पैदा हुँदै गइरहेको छ । जसको लागि हामीसँग भएको जमीन नै हो । जुन जमिनमा उत्पादन गर्न सक्यौं भने वार्षिक २ खरबभन्दा बढीको खाद्यान्न हामीले नै उत्पादन गरेर मुलुकलाई आत्मनिर्भर बनाउन सक्छौं ।

अहिले नै के नेपाली युवाहरु गाउँमा गएर कृषि उत्पादनमा भाग लिन सक्छन् त ? भन्ने प्रश्न उठ्नु स्वाभाविक छ । यस प्रश्नको निराकरणका लागि गाँजा खेती एक महत्वपूर्ण प्रस्थान हुनेछ ।

गाँजाको उपयोगिता, त्यसको बजार र त्यसबाट हुने आम्दानीको बारेमा मैले यहाँ धेरै उल्लेख गरिरहनु नै परेन । यसका बारेमा धेरै अनुसन्धानबाट प्रष्ट भैसकेको छ कि यसबाट हरेक नेपाली किसानहरु केही वर्षभित्रै केही लाख कमाउन सक्ने हुनेछन् ।

तसर्थ हामीले प्रस्तावित गरेको कानूनमा जो किसानसँग जमिन छ, उसँग भएको जमिनको निश्चित प्रतिशत जमीनमा गाँजाखेतीको अनुमति दिएपछि उसले अनुमति प्राप्त जमिनको प्रतिशतमा आर्थिक आम्दानीका लागि गाँजाखेती शुरु गर्ने छ । सो गाँजाखेतीबाट आर्थिक उपार्जन राम्रो हुने भएपछि स्वाभाविक छ कि सो गाँजा रुङ्न किसान युवा आफ्नै खेतबारीमा हुनेछ ।

जब, किसान युवा गाँजा लगाएको जमीनको रक्षाका लागि गाउँमा नै बस्नेछ, तब उसले क्रमशः आफ्नो बाँकी रहेको जमीनमा आफूलाई खानाका लागि सागपात लगाउन थाल्नेछ, मकै छर्न थाल्नेछ, धान, गहुँ लगाउन थाल्नेछन् साथै आफूलाई चाहिने दूध र मलका लागि पुनः गाईभैंसी पाल्न थाल्नेछन् ।

आफूलाई खाएर बढी भएको खाद्यान्न बजारमा बेच्न थाल्नेछन् र सहकारीको माध्यमबाट बजारको व्यवस्थापन हुन थाल्नेछ । यहाँ कल्पना गरौं कि यदि सबै हाम्रा आवाद हुन सक्ने सबै जमिनमा कृषि उत्पादन हुन थाल्यो भने केही वर्षभित्रै हामी खाद्यान्न आयात गर्ने मुलुक हैन कि खाद्यान्न निर्यात गर्ने मुलुकमा परिणत हुन सक्नेछौं । गाँजाखेती नै यस्तो अचूक उपाय हो कि जसले आम नेपाली युवाहरुलाई खाडीको ४४ डिग्रीको तातोमा पसिना बगाउने भन्दा आफ्नै मातृभूमिमा अमूल्य पसिना सिँचित गर्दा यहीँ समृद्धि फल्नेछ भन्ने विश्वास दिलाउन सकिने छ ।

यसका लागि केवल एक–दुईजना लागेर हुँदैन, राष्ट्रिय संकल्प चाहिन्छ । सुक्दै र ओल्झ्याउँदै गएको नेपाली कृषिलाई पुनर्जागरण गर्ने हो भने गाँजा खेती नै एक अचूक उपाय हो ।

गाउँमा नै बसेर आफ्नो बाँझो जमीनलाई सिँचित गर्दा लाखौं कमाउन सकिन्छ भन्ने विश्वास र आम्दानी गाउँमै बसीबसी आउन थाल्यो भने कसैलाई मातृभूमि छोडेर विदेशमा पसिना बगाउन मन हुँदैन ।

नेपाल मुलुक कुनै मानेमा पनि गरिब मुलुक होइन, न त यहाँका हामी नेपालीहरु नै गरिब छौं । हामीसँग सायद जम्माजम्मी कुनै अरु मुलुकको नोट छैन होला । हामीसँग सबैथोक छ । तर, छैन त केवल हामीसँग ईच्छाशक्ति छैन । हामीसँग भएको श्रोतको उपयोग गर्ने कला र क्षमता छैन । हामीले हामीसँग भएको श्रोतको उपयोग राम्रोसँग गर्न जान्यौं भने कुनै पनि मुलुकको पैसा यहीँ आइपुग्नेछ । न कि हामी केही पैसाका लागि विदेशी भूमिमा नै गएर श्रम गर्नु परोस् ।

गाँजाको एक प्रशंगबाट मुलुकको कृषिको पुनर्जागरण हुन सक्छ भने हामी किन ढिला गर्ने ? गाँजाको एक प्रशंगबाट नेपाली युवाहरुले स्वदेशमा नै बसेर आर्थिक उपार्जन गर्न सक्छन् भने किन ढिला गर्ने ?

गाँजाको एक प्रशंगबाट नै मुलुकको समृद्धिका लागि प्रस्थान गर्ने खुटकिलो हुन सक्छ भने हामीले किन ढिला गर्ने ? अब कोरोनाको सन्त्रासबाट मुक्त भएपछि हामी एकछिन पनि ढिला नगरी यस अभियानमा लाग्नु पर्नेछ र मुलुकलाई स्वाधिन आत्मनिर्भर अर्थतन्त्रको जग निर्माणमा लाग्नु पर्नेछ । सबैलाई सचेतनताको लागि आह्वान गर्दछु ।

(पूर्वकानूनमन्त्री तामाङ प्रतिनिधिसभा सदस्य हुन् । यो उनको व्यक्तिगत विचार हो)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?