Comments Add Comment

एक महिनामा झण्डै ३५ करोडको स्वास्थ्य सामग्री आयात

४५ लाख थान मास्क किनियो

२८ चैत काठमाडौं । कोरोना भाइरस (कोभिड १९) को महामारी रोकथामका लागि सरकारले एक महिनामा ३४ करोड ९१ लाख रुपैयाँको स्वास्थ्य सामग्री आयात गरेको छ ।

मास्क, सेनिटाइजर, भाइरस संक्रमण परीक्षण गर्ने किट, स्वस्थ्यकर्मीले लगाउने व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) तथा भेन्टिलेटर आयात भएको भन्सार विभागका महानिर्देशक सुमन दाहालले जानकारी दिए ।

भन्सारको प्रणालीमा चैत एक गतेदेखि २६ गतेसम्म रहेको रेकर्डअनुसार कोभिड र्‍यापिड टेस्ट किट, फेस सेइल्ड, गगल्स, मास्क, पीसीआर टेस्ट किट, पीपीई, सेनिटाइजर, थर्मोमिटर, भेन्टिलेटर र भाइरल ट्रान्सपोर्ट मिडिया (भीटीएम) आयात भएका छन् ।

यी स्वास्थ्य सामग्री खरिदका लागि ३४ करोड ९१ लाख सात हजार दुई सय ६३ रुपैयाँ खर्च भएको विभागले जनाएको छ ।

यस अवधिमा एक लाख थान कोभिड र्‍यापिड टेस्ट किट नेपालमा आयात भएको छ । उक्त सामग्रीको भन्सार मूल्य नौ करोड ४४ लाख ४४ हजार तीन सय ८४ रुपैयाँ रहेको छ ।

तीन हजार ९९ थान फेस सिल्डको चार लाख ९१ हजार दुई सय ६० रुपैयाँ परेको छ भने १७ लाख २६ हजार छ सय दुई रुपैयाँ बराबरको नौ हजार चार सय ६६ थान गगल्स ल्याइएको छ।

विभागकाअनुसार यो अवधिमा ४५ लाख थान मास्क नेपाल भित्रिएको छ । आयात भएको मास्कको मूल्य पाँच करोड ५९ लाख ७ हजार १८० रूपैयाँ रहेको छ । पीसीआर टेष्ट किट ४१ हजार थान भित्रिएको छ यसका लागि १५ करोड २६ लाख ६६ हजार चार सय ४९ रुपैयाँ तिरिएको छ ।

एक हजार पाँच सय थान पीपीईका लागि १६ लाख ९३ हजार सात सय २८ रुपैयाँ खर्च भएको छ । चैत २६ सम्म ३९ हजार दुई सय २७ लिटर सेनिटाइजर नेपालले अयात गरेको छ ।

सेनिटाइजरका लागि मात्रै दुई करोड ५८ लाख ९८ हजार छ सय ३० रुपैयाँ खर्च भएको छ । एक करोड १३ लाख ७३ हजार छ सय ५९ रुपैयाँको ६२ हजार तीन सय ६८ थान थर्मोमिटर पनि यस अवधिमा आयात भएको छ ।

कोरोनासँग जुध्न अतिआवश्यक १२ थान भेन्टिलेटर नेपालमा आयात भएको छ । यसको लागत ३० लाख ५९ हजार एक सय सात रुपैयाँ मात्रै छ । भाइरल ट्रान्सपोर्ट मिडिया (भीटीएम) छ हजार एकसय थान भित्रिएको छ यसको लागत १७ लाख ८३ हजार दुई सय ६४ रुपैयाँ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment