Comments Add Comment

कस्तो सरकार ! न खान दिन्छ, न घर जान दिन्छ’

२९ चैत, काठमाडौं । नागढुंगा नाकाको प्रहरी चेकपोस्टभन्दा केही तल दुईवटा मालवाहक ट्रक रोकिएका छन् । बाहिर मानिसको भिड मेला लागे सरह छ । अधिकाशंका काठमाडौंको कन्ट्रक्सन साइटमा काम गर्ने कामदारहरु हुन् ।

लगातारको लकडाउनका कारण खान नपाउने अवस्था आएपछि उनीहरु घर जान खोजिरहेका छन् । कोही नेपालगञ्ज पुग्नुपर्ने बताउँछन त कोही वीरगञ्ज । रौतहट र सर्लाहीतिर पुग्नेहरु पनि हातमा जेब्रा झोला बोकेर उभिइरहेका छन् ।

उनीहरु सबै मालवाहक ट्रकले लिफ्ट देला कि भन्ने आशामा अनुरोध गरिरहेका छन् ।

यो शुक्रबार रातिको दृश्य हो ।

तर, ट्रक चालकको आफ्नै दुःख छ ।

‘प्रहरीले रोकेर लाठी हान्छ, जहाँबाट चढाएको होस्, उही छाड्दे भनेर हप्काउँछ’ चालकले भन्दै थिए ।

‘काठमाडौंमा खाना नपाएपछि कहाँ जानु ? हामी प्रहरीलाई अनुरोध गर्छौं । तपाईंलाई समस्या पार्दैनौँ ?’ लिफ्ट मागिरहेका मजदुरहरु अनुनयविनय गर्छन् ।

उनीहरुको कुरा काट्दै ट्रक चालक फेरि बोल्छन्, ‘सम्झनुस् न यार, हामीलाई गाह्रो हुन्छ । सधैं यही बाटो हिड्ने हो, भोलि फेरि पुलिसले तङ गर्छ ।’

चालक बोल्दै गर्दा अर्का मजदुर बोले, ‘कस्तो सरकार यार, न काठमाडौंमा खान दिन्छ, न आफ्नो घर जान दिन्छ ।’

त्यही भिडमा रहेका बर्दियाका एक युवकले आफ्नो कथा यसरी सुनाए,

हामी चार जना काठमाडौं आएको १० दिन मात्रै भएको थियो भने काम सुरु गरेको पाँच दिन । कन्ट्रक्सन साइटमै बसेका थियौँ । तर लक डाउन सुरु भइगयो ।

ठेकदार इन्डियन थियो । लकडाउन सुरु नहुँदै ऊ घर गयो । हामी मारमा पर्‍यौँ । कमाउन आएको काठमाडौंमा घरबाट पैसा बोकेर आउने कुरा भएन ।

त्यसैले केहीदिन सरसापट गरेर चलायौँ । तर, कति दिन थेग्नु ? जति कुर्दा पनि लक डाउन खुलेन । भोकले मरिएला जस्तो भयो । त्यही भएर घर जान लोकन्थलीबाट हिँडेका हौँ ।

नागढुंगा आइपुग्दासम्म बाटोमा धेरै प्रहरीले सोधपुछ गरे । हामीले समस्या बतायौँ । कुनै ठाउँका प्रहरीले पानी दिएर पठाए भने कुनै ठाउँको प्रहरीले सरकारको नियम उल्लङ्घन गरेको भन्दै लाठीले हिर्काए । तर, हामीसँग अर्को विकल्प थिएन । जसोतसो गर्दै यहाँ आइपुग्यौँ ।

काठमाडौं यात्रा त हाम्रा लागि ‘चोक्टा खान गएकी बुढी झोलमा डुबेर मरी’ भनेझैँ भयो ।

नागढुंगा नाकामा भेटिएका अधिकांश मजदुरहरुको कथा–व्यथा उस्तै थियो । सबै काठमाडौं छाड्न चाहन्छन् । झोलामा दालमोठ चिउरा भरिएको छ । पैदल हिँडेरै भएपनि घर पुग्ने आँट भएका उनीहरुको खल्ती भने रित्तो छ ।

नागढुंगा नाकामा देखिएको यो दृश्य र उनीहरुको कुरा सुन्दा लाग्थ्यो, ‘मजदुरहरुका लागि काठमाडौं र यहाँको सरकार बिरानो छ, जसले आपत पर्दा लाठी बर्साउँछ ।’

उनीहरु र मालवाहक ट्रकको चालकको कुराकानी चलिरहेको थियो । त्यो बेला स्पिडमा एउटा ट्रक आएर रोकियो ।

केही क्षणको कुराकानीपछि आधा जसो मजदुरहरु त्यसमा चढे ।

आधा बाँकी रहे । बाँकी रहेका मजदुरलाई नारायणगढसम्म छाडिदिने भन्दै ती चालकले एउटा शर्त राखे, ‘बाटोमा पुलिसको जिम्मा तपाईंहरुले लिनुपर्छ ।’

केही क्षणको अन्तरालमा दुईवटा ट्रकमा गरेर सयभन्दा बढी मजदुर नागढुंगा कटे ।  नागढुंगाबाट फर्किँदै गर्दा बाटोमा थुप्रै मजदुरहरु नागढुंगातर्फ लम्किरहेका थिए । सबैको गन्तव्य तराईका जिल्ला थियो । उनीहरु भन्दै थिए, ‘जे पर्ला त्यस्तै टर्ला, पाए गाडी चढ्ने हो नत्र हिँडेरै जाउँला ।’

तस्वीरः चन्द्रबहादुर आले/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment