Comments Add Comment

कोरोनासँग लड्ने केराबारीको मोडल

सर्वदलीय संयन्त्र बनाउँदा काम गर्न सजिलो

२९ चैत, विराटनगर । मोरङको केराबारी गाउँपालिकाका अध्यक्ष रोहितबहादुर कार्कीले अघिल्लो साता तरुण दलको अगुवाइमा राहत बाँडेको तस्वीर फेसबुकमा आयो । पालिका अध्यक्षको यो कार्यप्रति गाउँमा समर्थन र विरोध दुबैखाले प्रतिक्रिया आए ।

महामारीका बेला अध्यक्ष कार्कीले कांग्रेसको भातृ संगठनलाई अगाडि सारेर राहत वितरण गर्नुलाई नेकपा समर्थक स्थानीय कार्यकर्ताले ‘राजनीतिकरण गर्न खोजेको’ आरोप लगाए ।

उता, कांग्रेस समर्थकहरु चाहिँ ‘कम्युनिस्टहरु आफू पनि केही गर्दैनन्, अरुले गरेको राम्रो कामको पनि विरोध गर्छन्’ भन्दै अध्यक्ष कार्कीको दह्रो समर्थनमा उभिए ।

तरुण दलको राहत वितरण अभियानपछि देशभित्र र बाहिर रहेका केराबारीबासीबीच फेसबुकमा विवाद र भनाभन चर्कियो ।

यसवीचमा तरुण दल केराबारीले मास्क वितरण गर्ने, सरसफाइ अभियान चलाउने, राहत वितरण गर्ने लगायतका सामाजिक कामहरु गर्दै आएको थियो । वडाध्यक्ष मनोज खड्काको अगुवाईमा विपन्न समुदायमा जिन्सी राहत सामग्री वितरण भइरहेको थियो । कतिपय व्यक्तिले पनि निजीतर्फबाट गाउँमा गरीबहरुलाई दाल, चामल, नुन बाँड्न थालेका थिए ।

उत्तरी मोरङमा, पहाड र तराईको फेदमा अवस्थित केराबारी गाउँपालिकाको नेतृत्व नेपाली कांग्रेसका हातमा छ । तर, उपाध्यक्षसहित बहुमत जनप्रतिनिधिहरु नेकपाबाट जितेका छन् ।

गत स्थानीय चुनावमा जनताले कांग्रेस र कम्युनिस्टलाई मिलेर काम गर्नका लागि छासमिस रुपमा जिताएर पालिकामा पठाएका छन् ।

अन्ततः तरुण दलको अगुवाइमा सुरु भएको राहत वितरण र सामाजिक गतिविधिले गाउँपालिकामा राम्रै परिणाम ल्यायो ।

सामाजिक सञ्जालमा चर्किएको बहसपछि कांग्रेस र कम्युनिस्ट दुबै दलका स्थानीय नेताहरु आपसी छलफलमा जुटे र समझदारीमा आए । पालिकाभित्र वडा तहसम्म सर्वदलीय संयन्त्रहरु बने । अनि, कांग्रेस–कम्युनिस्ट सबै मिलेर महामारीविरुद्ध जुट्न थाले ।

सम्पूर्ण राहत रकम र सामग्री गाउँपालिकाको कोषमा जम्मा गर्ने सहमति भयो । वडाअध्यक्ष र सदस्यहरुले राहत दिनुपर्ने घरधुरीको लगत संकलन गर्ने र पालिकामा पठाउने काम सुरु गरे ।

यसरी एकद्वारा प्रणालीबाट राहत वितरण गर्ने सहमति भएपछि अहिले विवादहित ढंगबाट काम हुन थालेको स्थानीय नेता बताउँछन् । कोरोनाका आशंकितहरुको ट्रेसिङ लगायतका कामहरु पनि व्यवस्थित ढंगबाट भइरहेको उनीहरुको अनुभव छ ।

अव्यवस्थित हुन खोजेको थियो, व्यवस्थित भयो : नेकपा

नेकपा केराबारी गाउँ कमिटीका अध्यक्ष राम कार्कीले अनलाइनखबरसँग भने, ‘हामीले गाउँपालिकामा एकद्वार प्रणाली लागू गरेका छौं । अहिले गाउँपालिकाको काम व्यवस्थित रुपमा अघि बढेको छ, अस्ति केही अव्यवस्थित हुन खोजेको थियो, त्यसलाई हामीले व्यवस्थित बनायौं ।’

सुरुमा राहत वितरण एकद्वार प्रणालीबाट हुन नसक्दा केही समस्या आएको भए पनि अहिले समाधान भइसकेको कार्कीले बताए । ‘केही साथीहरुले एकद्वार प्रणालीमा जानुहुँदैन भन्ने मान्यता राख्नुभएको थियो । तर, हामीले एकद्वार प्रणालीमा लैजान जोड गर्‍यौं’ नेकपा अध्यक्ष कार्कीले भने, ‘एकद्वार प्रणालीमा नजाँदा कसैले दोहोरो तेहोरो राहत पाउने, कसैले एकचोटि पनि नपाउने अवस्था देखियो ।’

उनले थपे, ‘एकद्वार प्रणालीमा गाउँपालिकामार्फत जाँदा कसैलाई पक्षपात गरेको पनि ठहरिएन र कुनै एउटा पार्टीले मात्र गरेको भन्ने पनि भएन ।’

अब कसैले कोरोना प्रभावितका लागि सहयोग गर्न चाह्यो भने गाउँपालिकाको खाता/कोषमा गर्नुपर्ने नेकपा नेता कार्कीले बताए । गाउँपालिकाको कोषमा नेकपा केराबारीले पार्टीका तर्फबाट १ लाख १ हजार रुपैयाँ जम्मा गरेको उनले बताए ।

स्थानीय सामुदायिक वन समिति, सहकारी संस्था साथै ईच्छुक व्यक्तिहरुले पनि कोषमा रकम जम्मा गरिरहेको र कहाँबाट कति रकम आयो भनेर पालिकाले दैनिक सूचना सार्वजनिक गरिरहेको नेकपा नेता कार्कीले बताए ।

राहत संकलनका लागि वडा तहमा सर्वपक्षीय समिति बनाइएको बताउँदै उनले भने, ‘राहतका लागि यही समितिले नाम सिफारिस गर्छ र वडाले सिफारिस गरेका व्यक्तिहरुलाई गाउँपालिकाले राहत पठाउँछ ।’

वडा तहले डाटा संकलन गरेर पहिलो चरणको नामावली सार्वजनिक गरेको र छुटेका नामहरु पनि फेरि संकलन भइरहेको उनले बताए ।

गाउँपालिका अध्यक्ष भन्छन्– बैशाख १५ सम्म धान्छौं, त्यसपछि माथि माग्नुपर्ला

केराबारी गाउँपालिकाका अध्यक्ष रोहितबहादुर कार्कीले अहिले पालिकाभित्र राम्रोसँग काम भइरहेको जानकारी दिए । उनले भने, ‘गाउँपालिकामा अहिले राम्रोसँग काम भइहरेको छ । पहिलो चरणको राहत वितरण सकियो, दोस्रो चरणका नामहरु आउँदैछन् । ’

दक्षिणी क्षेत्रका पालिकाहरुमा राहतका लागि मारामार हुने र विवाद गर्ने चलन भए पनि केराबारीमा त्यस्तो विवाद नरहेको अध्यक्ष कार्कीले बताए ।

‘हाम्रोमा वडाध्यक्ष, सदस्यज्यूहरुलाई सहभागी गराइएको छ । बस्ने घर भएका तर बनिबुतो गरीखाने परिवारहरु हामीकहाँ अलि बढी छन्’ कार्कीले भने, ‘पहिलो चरणमा लगभग १५२० जनालाई राहत बाँडियो । लकडाउन थपिँदा थप त्यति नै संख्या थप आउनेजस्तो देखिएको छ ।’

सामुदायिक वन, सहकारी संस्थाहरु र स्थानीय उद्योगहरुबाट समेत गरी २० लाख रुपैयाँजति संकलन हुने पालिका अध्यक्ष कार्कीले जानकारी दिए ।

‘हामीले स्थानीय स्वास्थ्यकर्मीहरुबाट राहत कोषमा रकम लिएनौं । शिक्षकहरुको एक दिनको तलब लियौं । जनप्रतिनिधिहरुको पनि १५ दिनको रकम कोषमा हाल्यौं’ उनले भने, यो सबै मिलाउँदाखेरि २५ लाखजति संकलन हुने देखिन्छ, बाँकीचाहिँ हाम्रो विपद व्यवस्थापन कोषबाट गर्नुपर्ला ।

अध्यक्ष कार्कीले अगाडि भने, ‘अर्कोचोटि पनि लकडाउन थपियो भने हामीले बैशाख १५ सम्म स्थानीय स्तरबाटै राहत व्यवस्थापन गर्न सक्छौं होला, त्यसपछि माथि ( प्रदेश र केन्द्रमा) आग्रह गर्नुपर्ला ।’

केराबारी गाउँपालिकाले २० सीट क्षमताको क्वारेन्टाइनस्थल पनि बनाएको छ, जहाँ स्वास्थ्यकर्मीहरु २४ सै घण्टा तैनाथ छन् ।

विदेशबाट आएका मानिसहरुको हरेक वडा–वडामा ट्रेसिङ गरेर तथ्यांक व्यवस्थित गरिएको छ । गाउँमा कोही पनि नयाँ मानिसलाई प्रवेशमा कडाइ गरिएको छ ।

‘गाउँपालिकामा बाहिरबाट आउने मानिसहरुको हकमा सूचना पाउनेवित्तिकै जाने, स्वास्थ्यकर्मीले चेकजाँच गर्ने, सामान्य लक्षणहरु सोध्ने, ठीक छ भने घरैमा बस्न दिने गरेका छौं’ अध्यक्ष कार्कीले अनलाइनखबरसँग भने, ‘दुई/तीनजनालाई वीपी प्रतिष्ठान धरानमा चेक गरियो, नेगेटिभ रिपोर्ट आयो । एक जनालाई चाहिँ टाँडीमा रहेको क्वारेन्टाइनमा पठाइयो ।’

त्यसैगरी, १०/१२ जना भारतमा काम गर्नेहरु पनि गाउँमा आएका र अहिलेसम्म २०/२१ दिन कटिसक्दा उनीहरुको स्वास्थ्यमा कुनै समस्या नदेखिएको गाउँपालिका अध्यक्ष कार्कीले अनलाइनखबरलाई जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment