Comments Add Comment

कोरोना रोकथाम प्रयासबारे जानकारी गराउन प्रदेश ५ मा सर्वदलीय बैठक

२९ चैत, बुटवल । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले सर्वदलीय बैठक बोलाएर कोरोना रोकथाम तथा नियन्त्रणमा भइरहेका कामबारे जानकारी गराएका छन् ।

उनले तीन तहका सरकारले अहिलेसम्म गरेका काम र योजनाबारे जानकारी गराउँदै सबैको सहकार्य र सहयोगबाट नै कोरोनाविरुद्धको लडाई जित्न सकिने बताए ।

उनले प्रदेश सरकारले बाँके, दाङ, बुटवल र भैरहवामा चार वटा आईसीयूसहितको कोरोना विशेष अस्पताल तयार गरी उपचार सुरु गरेको समेत जानकारी दिए ।

त्यसैगरी, भैरहवामा प्रदेश प्रयोगशालामा कोरोना भाइरसको परीक्षण भइरहेको र केही दिनमै नेपालगञ्जमा पनि परीक्षण हुने मुख्यमन्त्री पोखरेलले बताए । दाङमा पनि पीपीआर मेसिन ल्याउन प्रक्रिया अघि बढेको पनि उनको भनाइ छ ।

उनले स्थानीय तहहरुले भारत लगायत विदेशबाट आएका नागरिकको तथ्यांक संकलन र क्वारेन्टाइन निर्माण र दैनिक ज्यालादारी गरी खाने नागरिकको तथ्यांक संकलन गरी राहत वितरण गर्न थालेको समेत बताए ।

कोरोनाविरुद्धको अभियानलाई सफल बनाउन सबैको समन्वय र सहकार्यबाट सम्भव भएको बताउँदै एकताबद्ध भई कोरोनाविरुद्धको लडाइँमा लाग्न उनको आग्रह छ ।

सर्बदलीय बैठकमा प्रदेशसभा नेकपा संसदीय दलका प्रमुख सचेतक भूमिश्वर ढकाल, संसदीय समितिका सभापति दधिराम न्यौपाने, हरि रिजाल, कांग्रेस सचेतक निर्मला क्षेत्री, प्रदेश सभा सदस्य फकरुद्दीन खान, विजय जयसवाल, समाजवादी फोरमका प्रदेश सभा सदस्य सन्तोष पाण्डे र राजमो प्रदेशसभा सदस्य तारा जिसी सहभागी थिए ।

बैठकमा सहभागीहरुले कोरोनाविरुद्धको लडाइँ सरकारको मात्रै नभएर सबैको साझा भएकाले सबैले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको नेकपा संसदीय दलका प्रमुख सचेतक भूमिश्वर ढकालले जानकारी दिए ।

अहिले नेपाल भारत सीमा क्षेत्रमा कडाइ गरिएको र सशस्त्र प्रहरी बलको आवश्यक संख्या थप गरी परिचालन गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment