Comments Add Comment

घरेलु पेय मोही : खान पचाउनदेखि शरीरलाई सितल राख्नसम्म

चर्को गर्मीमा घटघट मोही पिउन पाउँदा कस्तो हुन्छ ? गर्मीमा आँत तृप्त गर्नका लागि सर्बोत्तम पेय हो यो ।

त्यसो त भातसँग पनि यसको स्वाद गजब हुन्छ ।

मोही स्वादिलो त हुने नै भयो, स्वस्थ्यकर पनि । मोहीका अनेक गुण छन्, जसबाट हाम्रो स्वास्थ्य लाभान्वित हुन्छ ।

तर, एउटा कुरा भने ख्याल राख्नुपर्छ । अक्सर शहरी क्षेत्रमा दहीमा पानी घोलेर त्यसलाई पातलो बनाइन्छ । त्यसैलाई मोही भनिन्छ । असली मोही भने अलि भिन्न हुन्छ, जुन गाउँघरमा पाइन्छ ।

हुन त त्यही दहीको घोलबाटै मोही बनाइने हो । तर, गाउँघरमा दही जमाउने, मथ्ने र मोही बनाउने प्रक्रिया भिन्न छ ।

कसरी बनाइन्छ मोही ?

गाउँघरतिर काठको ठेकीमा प्राकृतिक ढंगले दही जमाइन्छ । यसरी ठेकीका लागि प्रयोग गरिने काठ पनि विशेष हुन्छ, देवदारु भन्ने बनस्पतिको काठबाट बनाइन्छ । त्यसैले परम्परागत ढंगले जमाइने दही स्वस्थ्यवद्र्धक मानिएको हो ।

त्यही दही काठकै ठेकीमा मथेर नौनी घिउ निकालिन्छ । दहीमा पानी घोलेर मथेपछि त्यसबाट घिउ निस्कन्छ । बाँकी रहेको तरल अर्थात पेय नै मोही हो ।

यसरी परम्परागत ढंगले तयार गरिने मोही सर्वोत्तम पेय हो, स्वास्थ्यका लागि ।

मोहीको गुण

आयुर्वेदमा समेत मोहीलाई महत्व दिइएको छ । यसको नियमित सेवनले विभिन्न किसिमको लाभ मिल्ने बताइन्छ । आयुर्वेदमा भोजन खाइसकेपछि दही मथेर बनाइएको मोही पिएमा शरीर निरोगी र तन्दुरुस्त हुने बताएको छ । मोहीको नियमित सेवनले रोग प्रतिरोधात्मक क्षमता पनि बढ्छ ।

मोहीले खासगरी पाचन यन्त्रलाई राम्रो बनाउँछ । खानेकुरा पचाउनमा यसले सहयोग गर्छ । यसमा पोटासियम, क्याल्सियम, प्रोटिन जस्ता तत्व पनि समावेश हुन्छ ।

मोहीले शरीरलाई सितलता प्रदान गर्छ । पानीको अभाव हुन दिदैन । विभिन्न किसिमका दीर्घ रोगमा समेत मोहीको सेवन लाभदायक मानिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment