Comments Add Comment

भरतपुर अस्पतालबाट दुई महिनामा सर्पदंशका ११ बिरामीले लिए उपचार

३० चैत, चितवन । चितवनको भरतपुर अस्पतालमा फागुन र चैत महिनामा गरी ११ जना सर्पदंशका बिरामीले उपचार गराएका छन् । अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार गर्मी महिना सुरु भएसँगै सर्पदंशका बिरामी अस्पताल आउन थालेका हुन् । अस्पतालमा नवलपरासीका तीन, चितवनका चार, धादिङका दुई, लमजुङका दुई जनाले उपचार गराएका छन् । उपचार गराउन आएका मध्ये ६ जना महिला र ५ जना पुरुष छन् ।  उनीहरु मध्ये एक जनालाई आइसीयूमा राखेर एन्टिस्नेक भेनम दिइएको सूचना अधिकारी पौडेलले बताए ।

अस्पतालमा गत वर्ष २०७५ मा ४४ महिला र ४६ पुरुष गरी ९० जना सर्पदंशका बिरामीले सेवा लिएका थिए । गत वर्ष सबैभन्दा बढि ४१ जना नवलपरासीका थिए भने बाँकी अन्य जिल्लाका थिए । अस्पतालले सर्पदंशका बिरामीको उपचारका लागि भनेर चार बेड छुट्याएको छ । गत वर्ष अस्पतालमा आएका बिरामी मध्ये कसैले पनि ज्यान नगुमाएको सूचना अधिकारी पौडलको भनाइ छ ।

चितवन मात्रै नभएर अन्य वरपरका जिल्लाबाट समेत सर्पले टोकेका बिरामीहरुलाई उपचारका लागि भरतपुर अस्पतालमा नै ल्याउने गरिएको छ । बारा, पर्सा, चितवन, मकवानपुर, धादिङ, लमजुङ, रुपन्देही, तनहुँ, गोरखा, कपिलवस्तु, र नवलपरासीबाट सर्पदंशका बिरामीहरु उपचारका लागि आउने गरेका छन् ।

जाडोयाम मंसिर, पुस, माघ र फागुनमा सर्पदंशका बिरामी आएको पाइँदैन । बाँकी ८ महिनामा उपचार लिन आउने गरेका छन् ।

गर्मी समयमा अस्पतालमा दैनिक १० जनासम्म सर्पले टोकेको बिरामी उपचारका लागि आउने गरेका छन् । अस्पतालले सर्पदशंका बिरामीलाई लक्षित गरी अब्जरभेसनमा १ वटा वेड, एचडीयूमा १ वटा वेड र अइसीयूमा २ वेड छुट्टाएको छ । बिरामीको शरीरका महत्वपूर्ण अंगहरु फेल नहुन भनेर आइसीयूमा राख्ने गरिएको सूचना अधिकारी पौडेलले बताए ।

उपचारका लागि आवश्यक पर्ने एन्टी स्नेक भेनम अस्पतालले बिरामीलाई निःशुल्क उपलब्ध गराउँदै आएको छ । अहिले अस्पतालमा भेनमको अभाव नरहेको सूचना अधिकारी पौडेलले जानकारी दिए । एउटा बिरामीमा सर्पले डसेको लक्षण देखिएपछि सामान्यतय १० देखि १२ भाइलसम्म एन्टिस्नेक भेनम दिनुपर्ने चिकित्सक बताउँछन् ।

चिकित्सका अनुसार कोब्रा सर्पले टोकेको लक्षण आधा घण्टाभित्र देखिन सक्छ भने, करेत लगायतका अन्य विषालु सर्पले टोकेको लक्षण एक/दुई घण्टामा देखिन्छ । बिरामीलाई २४ घण्टासम्म ‘अब्जरभेसन’मा राख्ने गरीएको छ ।

बढ्दो गर्मीका कारण सर्पदंशका बिरामीहरु बढ्दै गएका छन् । गर्मी लागेसँगैं सर्पहरु जमिनको सतहमा निस्कने र मानिसहरु पनि शिलताका लागि भन्दै खुल्ला ठाँउमा बस्ने र सुत्ने गर्दा सर्पदंशका बिरामी बढ्दै गएको चिकित्सकहरु बताउँछन् । खेतबारीमा काम गर्न जाँदा पनि सर्पले डसेको पाइन्छ । सर्पदंशको उपचार र अनुसन्धान भरतपुर अस्पतालमा हुँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment