Comments Add Comment

लकडाउन खुकुलो पार्ने तयारीमा युरोपेली देश

विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) को महामारीबाट युरोप र अमेरिका सबैभन्दा धेरै प्रभावित छ । भाइरस नियन्त्रणको लागि लगाइएको लकडाउन तथा अन्य प्रतिबन्धको कारण पश्चिमा मुलुकहरुको अर्थतन्त्रमा अर्बौ डलरको घाटा देखिएको छ ।

यो असरबाट बच्न केही युरोपेली मुलुकहरुले बिस्तारै लकडाउनको प्रतिबन्ध कम गर्दै लैजाने निर्णय गरेका छन् । तर, यी मुलुकमा कोरोना भाइरस नियन्त्रणमा भने आइसकेको छैन । विश्व स्वास्थ्य संगठनले अहिलेको अवस्थामा लकडाउन टाउँदै लैजानुले आगामी दिनमा थप समस्या थपिन सक्ने चेतावनी दिइसकेको छ ।

यो भाइरसको खोप तथा औषधि पत्ता नलाग्दासम्म विश्वभर लकडाउन तथा यात्रामा प्रतिबन्धको अवस्थामा सुधार नआउने अध्ययनहरुले देखाएका छन् । यस्तो अवस्थामा विस्तारै प्रतिबन्ध खुकुलो बनाउँदै लैजाने पक्षमा केही मुलुक देखिएका छन् । यसरी लकडाउन खुकुलो बनाउने तयारीमा रहेका मुलुक यहाँ उल्लेख गरिएको छ –

१. डेनमार्क

डेनमार्कले अप्रिल १५ बाट कोरोना भाइरसको संक्रमण स्थिर रहेको अवस्थामा विद्यालय खोल्ने निर्णय गरेको छ । तर, सामान्य जनजीवनको लागि भने उनीहरुले अझै लामो समय प्रतीक्षा गर्नुपर्ने बताइएको छ ।

सरकारले लगाएको १० जनाभन्दा बढी मानिसको भेलामाथिको प्रतिबन्ध मे १० सम्म जारी राखिने बताइएको छ । साथै सबै चर्च, सिनेमा र शपिङ सेन्टर भने बन्द रहनेछन् । यो अवधिमा सबै सीमा नाका बन्द गर्ने र चाडपर्व मनाउन रोक लगाइनेछ । पछिल्लो एक महिनादेखि यो मुलुकमा विद्यालय, सीमानाका लगायतका सेवाहरु बन्द छन् ।

२. चेक गणतन्त्र

प्रतिबन्ध केही खुकुलो पार्ने पक्षमा रहेको अर्को देश चेक गणतन्त्र हो । उसले यस सातादेखि मुलुकमा लगाइएको कडा प्रतिबन्धलाई केही खुकुलो पार्ने तयारी गरेको छ । बिहीबारदेखि चेक गणतन्त्रले निर्माण र हार्डवेयर स्टोर, साइकल स्टोर र साइकल मर्मत सेन्टर पनि खोल्न दिने तयारी गरेको छ ।

व्यक्तिगत खेलकुदका गतिविधिको लागि अनुमति मिल्नेछ । तर, दुई जनाभन्दा धेरै मानिसको भेलामा भने रोक लगाइएको छ । चेक गणतन्त्रले अप्रिल १४ देखि आवश्यक भ्रमणको लागि मुलुकबाहिर जान पाइने व्यवस्था पनि गरिने बताएको छ ।

३. अष्ट्रिया

अष्ट्रियाले पनि फरक किसिमले मुलुकको प्रतिबन्ध खुकुलो पार्ने तयारी गरेको छ । अष्ट्रियाका चान्सलर सेबस्टाइन कुर्जले अप्रिल १४ पछि केही साना पसल, हार्डवेयर र गार्डेन स्टोर खुल्ला गरिने बताएका छन् ।

तर, सुपरमार्केट र सार्वजनिक यातायातको क्षेत्रमा काम गर्ने मानिसले भने मास्क प्रयोग गर्नुपर्ने बताइएको छ । कुर्जले मुलुकमा अझै पनि भाइरसको जोखिम कायम रहेकाले चरणबद्ध रुपमा यो रोगसँग लड्ने कुर्जले बताएका छन् ।

४. नर्वे

नर्वेले पनि अप्रिल २० देखि विद्यालय खोल्ने योजना अघि सारेको छ । गत मार्चको मध्यदेखि नर्वेका विद्यालयहरु बन्द छन् । सरकारले पछिल्लो तथ्यांकले मुलुक सामान्य अवस्थामा फर्किने केही आशा देखाएको उल्लेख गरेको छ । तर, अझै पनि उल्लेख्य सतर्कता अपनाउनुपर्ने नर्वेले बताएको छ ।

५. जर्मनी

अहिलेसम्म जर्मनीले मुलुकमा कहिलेदेखि लकडाउन खोल्नका लागि आवश्यक कदम चालिने भन्ने विषयमा कुनै मिति घोषणा गरेको छैन । तर, उसले विस्तारै लकडाउनका नियमहरु खुकुलो बनाउँदै अघि बढ्ने बताइसकेको छ ।

बिहीबार जर्मन चान्सलर एन्जेला मर्केलले पछिल्लो तथ्यांकले केही आशा देखाएको तर अझै पनि यो महामारीप्रति सचेत बन्नुपर्ने अवस्थामा रहेको बताएकी छिन् ।

६. स्वीट्जरल्याण्ड

स्वीट्जरल्याण्डले पनि सामाजिक नियन्त्रणको लागि लगाइएको कडाइ केही खुकुलो पार्दै जाने निर्णय गरेको छ । यद्यपि अप्रिल २६ सम्म सामाजिक दूरी कायम राख्न ल्याइएका केही नियम भने कायम रहनेछ ।

सीएनएनको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment