Comments Add Comment

कोरोना संक्रमित भेटिएको वीरगञ्जको छपकैया क्षेत्र शिलबन्दी

३० चैत, वीरगञ्ज । तीन जना कोभिड–१९ का संक्रमित भेटिएको वीरगञ्ज महानगरपालिका २ को छपकैया र आसपासको क्षेत्रलाई शिलबन्दी गरिने भएको छ ।

प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समितिको बैठकले छपकैया र आसपासको क्षेत्रलाई शिलबन्दी गर्ने निर्णय गरेको हो ।

कोभिड–१९ को संक्रमण फैलनबाट रोक्न शिलबन्दी जरुरी देखिएकोले छपकैया क्षेत्रका पूर्वतर्फ वडा नम्बर १६ र २, दक्षिणतर्फ वडा नम्बर २, पश्चिमतर्फ वडा १ तथा उत्तरतर्फ वडा नम्बर ३ का भागहरु समेत समेटिने गरी शिलबन्दी गर्ने निर्णय गरिएको जिल्ला सुरक्षा समितिले जनाएको छ ।

त्यस्तै संक्रमितको प्रत्यक्ष सम्पर्कमा आएका व्यक्तिको पहिचान गरेर उनीहरुको र्‍यापिड टेष्ट किटमार्फत परीक्षण गर्ने निर्णय पनि बैठकले गरेको छ ।

बैठकले संक्रमितको संसर्गमा आएका व्यक्ति र गएका स्थानको पहिचान गरी कन्ट्याक्ट ट्रेसिङको कामलाई तीब्रता दिने निर्णय पनि गरेको सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए ।

‘पहिला कन्ट्याक्ट ट्रेसिङ मार्फत सम्पर्कमा ल्याउने हो । त्यसपछि उनीहरुको  र्‍यापिड टेष्ट किटबाट परीक्षण गर्ने भन्ने निर्णय भएको छ’ उनले भने ‘टेष्ट किटबाट आएको नतिजा नुसार के गर्ने भन्ने निर्णय हुन्छ ।’

वीरगञ्ज महानगरपालिका वडा नं. २, छपकैया स्थित मस्जिदहरुमा रहेका २६ जना भारतीय नागरिकको नारायणी अस्पतालबाट थ्रोट स्वाब संकलन गरी हेटौंडा स्थित प्रदेशस्तरीय प्रयोगशालाको ल्याबमा बिहिबार परीक्षणका लागि पठाइएको थियो ।

जसमध्ये ३ जनामा कोभिड – १९ पोजेटिभ देखिएपछि पुनः जाँचका लागि शनिबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएको थियो ।

त्यहाँबाट समेत पोजेटिभ देखिएपछि उनीहरु बसेको वीरगञ्ज– २ छपकैयामा रहेका मस्जिद तथा उक्त क्षेत्रमा रहेको उक्त समुदायको बाक्लो बसोबासलाई समेत केन्द्रित गरी उक्त वडा र यसको वरिपरी रहेको वडाका भागहरुलाई शिलबन्दी गर्ने निर्णय गरिएको हो ।

पर्सा जिल्लामा नारायणी अस्पतालमा ३ सय, नेशनल मेडिकल कलेजमा १ सय र जिल्ला जनस्वास्थ्य कार्यालयमा १ सय थान गरी ५ सय थान ¥यापिड टेष्ट किट उपलब्ध छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment