Comments Add Comment

सहज छैन यो बर्ष नेपाली फिल्मको यात्रा

आजबाट नयाँ बर्ष २०७७ ले नेपालीहरुको घर आगमनमा प्रवेश गरिसकेको छ । तर, यो बर्षको नयाँ बर्ष नेपालीहरुले एक आपसमा भेटघाट गरेर मनाउन पाएनन् ।

अंगेजी नयाँ बर्षबाट सुरु भएको कोरोना भाइरसको त्रास विश्वभर छ । यसैले पनि लक डाउनमा रहेका नेपालीहरुले सामाजिक संजाल तथा फोनबाटै नयाँ बर्षको शुभकामना आदन प्रदान गरिरहेका छन् ।

यो बर्षको आगमनसँगै यहाँ हामी नेपाली चलचित्रका लागि यो बर्ष कस्तो रहला भनेर समिक्षा गर्दैछौँ ।

आज वैशाख १, नेपाली सिनेमा घरहरुमा दर्शकको मारामार भिड लाग्ने दिन । दर्शकको भीडको बीचमा सेल्फी खिच्दै कलाकार रमाउँदा निर्माता लगानी सुरक्षित हुने आशामा मुस्कुराइरहेका हुन्थे । तर, समयले यसपटक यो अवसर दिएन ।

यसैले, यो बर्षको सुरुवात नै नेपाली चलचित्रका लागि सुखद बन्न सकेन । करिब डेढ दर्जन चलचित्र रिलिजका लागि तयार छन् । केही चलचित्र छायांकन बीचमै रोकेर बस्न वाध्य छन । कतिपय निर्माता चलचित्र निर्माण गर्ने तयारी गर्दा गर्दै रोकिएका छन् । यी र यस्तै बिषय परिस्थितीका विचमा यो बर्षको सुरुवात भएको छ ।

कोरोना भाइरस संक्रमणका कारण नेपाली चलचित्र क्षेत्रको चहलपहल कहिलेबाट हुन्छ अहिले नै भन्न सकिने अवस्था छैन । नेपालमा पनि कोरोना भाइरसका संक्रमित बढिरहेको अवस्थामा नेपालीहरु सामान्य जीवनमा फर्किन केही समय लाग्नेछ ।

आफ्ना आधारभुत आवश्यकताहरु पूरा गरेपछि बल्ल मानिसले मनोरञ्जन खोज्छ । यहीकारणले पनि पुरानै अवस्थामा मनोरञ्जन दुनियाँ फर्किनका लागि अझै समय लाग्ने निश्चित छ ।

रिलिजका लागि तयार भएका चलचित्रमध्ये कुन चलचित्र पहिला हलमा रिलिज गर्ने भन्ने दुविधा उत्पन्न हुन सक्छ ।

यसबर्ष गतबर्ष नै घोषणा भएर निर्माण सुरु नभएका केही चलचित्र रिलिज नहुने संभावना बढी छ । यसैले, यो बर्ष पनि नेपाली चलचित्रका लागि व्यापारिक अभाव हुनसक्छ ।

गतबर्ष ५५ वटा चलचित्र मात्र रिलिज भएको अवस्थामा, यो बर्ष यो भन्दा पनि कम चलचित्र रिलिज हुने अनुमान सहजै लगाउन सकिन्छ ।

नेपाली निर्माताका लागि नेपाली बजार मात्र चलायमान भएर हुँदैन । ओभरसिज बजार पनि चलायमान नभएसम्म चलचित्र रिलिज गर्नुको अर्थ खासै नहोला । यसैले, निर्माताले विदेशी बजारको चलायमान अवस्थालाई पनि पर्खिनु पर्ने हुन्छ ।

यो बर्ष नेपाली चलचित्रको बाटो सहज छैन । उत्कृष्ट तर कम चलचित्र दर्शकमाझ आएको खण्डमा यसले चलचित्र क्षेत्रलाई सुखद बाटोमा हिडाउन सक्छ ।

यो बर्ष कलाकारको पारिश्रमिक डिमाण्ड गतबर्षको तुलानामा कम हुने अपेक्षा गर्न सकिन्छ । किनकी, एक त थलिएको चलचित्र क्षेत्रलाई माथि उकास्न सबैको हातेमालो आवश्यक छ भने अर्कोतिर, कलाकारलाई पनि पहिलेको जस्तो अफरको ताती नलाग्ने पक्का छ ।

यो बर्ष नेपाली चलचित्रका लागि सबैले मिलेर उकास्ने बाटो खोज्नु नै उत्तम हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment