Comments Add Comment

सुदूरपश्चिमका कोरोना संक्रमितमा देखिएन लक्षण

सेतीको आइसोलेसनमा ५ जना, ४ जनामा देखिएन लक्षण

२ वैशाख कैलाली ।  सेती प्रादेशिक अस्पतालको आइसोलेसन कक्षमा अहिले ५ जना कोरोना संक्रमित बिरामीको उपचार भइरहेको छ । तर उनीहरुमध्ये चार जनामा कुनै लक्षण नदेखिएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।

कोरोना संक्रमण भएका मानिसमा सामान्यतया रुघाखोकी लाग्ने, ज्वरो आउने, शरीर दुख्ने, सास फेर्न गाह्रो हुने लगायतका लक्षण देखा पर्ने चिकित्सकहरुले बताउँदै आएका छन् ।

तर सेती प्रादेशिक अस्पतालको आइसुलेसनमा उपचार गरिरहेकाहरुमा १० दिन बितिसक्दा कोरोना संक्रमणको लक्षण नदेखिएको उपचारमा खटिएका चिकित्सकहरुले बताएका छन् ।

सोमबार बिहान अस्पतालमा भर्ना भएकी कैलालीको लम्कीचुहा नगरपालिका १ कि ६५ बर्षीया बृद्धामा पनि कुनै लक्षण नदेखिएको अस्पतालका प्रवक्ता तथा आकस्मिक विभागका प्रमुख डा. जगदिश जोशीले बताए ।

‘अस्पतालमा उपचाररत अधिकांशमा कोरोनाको लक्षण देखिएको छैन’ उनले भने, ‘हिजो भर्ना भएकी महिलामा पनि उच्च रक्तचाप (प्रेसर) छ अरु केही समस्या छैन ।’

वरिष्ठ फिजिसियन डा. शेरबहादुर कमरले अस्पताल भर्ना भएकी महिला विगत देखिनै प्रेसरको रोगी भएको बताए । ‘अन्यमा केही लक्षण छैन’ उनले भने ‘ती बृद्धा पनि पहिले देखिकै प्रेसरको रोगी भएको बुझिएको छ ।’

सुदूरपश्चिम प्रदेशमा पहिलो संक्रमण देखिएका धनगढी ५ का ३४ बर्षका युवकलाई भने अहिले पनि सामान्य खोकी लाग्ने गरेको डा.कमरले बताए ।

‘पहिलो संक्रमितलाई अहिले पनि सामान्य खोकी लाग्छ । बेलाबेलामा पखाला समेत लागिरहेको छ’ उनले भने ‘अरुलाई केही भएको छैन ।’

धनगढीका युवकलाई सामान्य लक्षण देखिए पनि उनीबाट संक्रमित भएकी उनको परिवारका सदस्य महिलामा भने त्यो लक्षण पनि छैन ।

कोरोना संक्रमित कैलाली लम्की चुहाका २१ बर्षका युवक र कञ्चनपुर बेटकोटका ४१ बर्षका पुरुषमा पनि अहिले कुनै समस्या र कोरोनाको लक्षण नरहेको डा. कमरले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment