Comments Add Comment

सनसिटीमा बस्ने बेनिशा भन्छिन्ः बरु नूनपानी खाएर बस्छु, बाहिर निस्किन्न

पेप्सीकोलामा रहेको सनसिटी अपार्टमेन्टमा बस्दै आएका दुई जनालाई कोरोना संक्रमण देखियो । यो समाचारले अपार्टमेन्टमा बस्ने १५ सयभन्दा बढि व्यक्तिलाई चिन्तित तुल्याएको छ, जसमध्ये एक हुन् नायिका बेनिशा हमाल ।

बेनिशा सनसिटी अपार्टमेन्टको ‘ब्लक जे’ मा आफ्नो परिवारसहित बस्छिन् । चलचित्र विषय पढ्न मुम्बईमा रहेकी उनी गत चैत ६ गते नेपाल फर्केकी थिइन् । त्यसयता उनी अपार्टमेन्टभित्रै १४ दिन सेल्फ क्वारेन्टाइनमा बसिन् ।

१४ दिनको आइसोलेसन अवधि गुजरोपछि उनको डर कम भएको थियो । तर, अपार्टमेन्टभित्रै संक्रमण देखिएपछि फेरि त्राश उत्पन्न भएको छ । संक्रमित परिवार र बेनिशा बस्ने ब्लग फरक हो । सो परिवार उनको चिनजान पनि थिएन ।

तर, नजिकै बस्ने भएकाले डर त लाग्ने नै भयो । अपार्टमेन्टभित्रका सबैले सामान किन्ने पसलहरु लगभग एउटै भएकाले पनि जोखिम छ नै । बेनिशा भन्छिन्, ‘अपार्टमेन्टको नजिक थोरै मात्र पसलहरु छन् । त्यसैले त्यहाँ चाहीँ डर लागेको छ ।’

उनले सोही अपार्टमेन्टमा बस्नेलाई कोरोना संक्रमण छ भन्ने कुरा समाचार पढेर थाहा पाइन् । अहिले अपार्टमेन्टलाई पूर्णरुपमा ‘सिल’ गरिएको छ । त्यहाँ बसोबास गर्ने हरेकको कोरोना टेस्ट गर्ने तयारी छ ।

बेनिशा भन्छिन्, ‘यहाँ त अहिले कोही बाहिर निस्किनु भएको छैन । तल प्रहरीहरु बस्नुभएको छ । अरु बाहिर कोही देखिएका छैनन् ।’

बेनिशा पहिला–पहिला छतमा उक्लेर व्यायाम गर्ने गर्थिन् । अहिले त त्यो बन्द गरिएको छ ।

पहिला भन्दा अब झनै सतर्क हुनुपर्ने समय आएको बेनिशा बताउँछिन् । अब कोठाबाट बाहिरै ननिस्किने उनको योजना छ । केही समयका लागि पुग्ने खाद्यान्न भएकाले बाहिर ननिस्की नहुने पनि केही छैन ।

उनी भन्छिन्, ‘हामीले हिजो नै खाद्यान्नका सामानहरु ल्याएका छौँ । केही समयको लागि हामीलाई समस्या छैन । तर, खाना सकियो नै भने पनि तातोपानीमा नुन हालेर खाएर बस्छु, बाहिर जान्न ।’

बेनिशालाई त्यहाँ रहेका अन्य परिवारको चिन्ता छ ।

‘मैले यहाँको व्यवस्थापनसँग उपभोग्य वस्तुको आपूर्तिबारे कुरा गरेको थिएँ,’ बेनिशा भन्छिन्, ‘सरकारले नै सिल गरेको हो, अब सरकारबाट नै केही गर्नुहुन्छ होला भन्नुभएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment