Comments Add Comment

काठमाडौं वरपरका किसानको तरकारी बिक्री सहज

२ वैशाख, काठमाडौं । लकडाउनका कारण रोकिएको काठमाडौं उपत्यका वरपरका किसानको तरकारी बिक्री हुन थालेको छ ।

स्थानीय तह र जिल्ला प्रशासन कार्यालयको समन्वयमा ढुवानीको व्यवस्था गरी तरकारी बिक्रीको व्यवस्था गरिएको हो ।

तरकारी बेच्न सजिलो हुन थालेको धादिङको थाक्रे गाउँपालिकाका अध्यक्ष रामकुमार आचार्यले अनलाइनखबरलाई बताए । ‘एक साता अघिसम्म मैले मेरै तरकारी खेत जोतेको हुँ तर अहिले यस्तो छैन, तरकारीहरु बजारसम्म जान थालेका छन्’ अध्यक्ष आचार्यले भने ।

लकडाउनको सुरुवाती चरणमा तरकारी ढुवानी गर्ने सवारी साधनको पासको अन्यौलले तरकारी नउठेको र अहिले अवस्था सामान्य रहेको उनको भनाइ छ ।
‘किसानहरु आफैं बजारसम्म झरेका छन्, एक सातायता मैले तरकारीले राम्रो बजार भाउ नपाएको गुनासो सुनेको छु तर खेतमा सडेको जानकारीमा छैन’, अध्यक्ष आचार्यले भने ।

काभ्रेको पनौती क्षेत्रका किसानको तरकारी पनि बिक्री हुन थालेको पनौती नगरपालिकाले जनाएको छ । ‘सुरुवाती दिन लकडाउनमा केही समस्या थियो तर अहिले त्यस्तो छैन’, नगर प्रमुख भीम न्यौपानेले भने ।

किसानसँग नियमित सम्पर्कमा रहेको भन्दै मेयर न्यौपानेले उत्पादन खेर गएको कुनै पनि किसानले गुनासो नगरेको बताए । पनौती क्षेत्रमा अहिले मौसमी हरियो तरकारी उत्पादन भएको छ भने केही दिनमा आलुको सिजन सुरु हुने मेयर न्यौपानेको भनाइ छ ।

काठमाडौंलाई तरकारी आपूर्ति गर्ने अर्को क्षेत्र नुवाकोटमा पनि बिक्री नहुने समस्या नरहेको बेलकोटगढी नगरपालिकाले जनाएको छ । ‘ढुवानी साधनमा हामीले समन्वय गरेका छौं, तरकारीले राम्रो भाउ नपाएका हुन सक्छन् तर कुहाएर फाल्नु परेको छैन’ उपमेयर कविता ढुंगानाले भनिन् । सुरुआती समयमा एक्कासी लकडाउनका कारण समस्या देखिए पनि अहिले सबै व्यवस्थापन भएको उनले बताइन् ।

चैत ११ गते सकारले लकडाउन घोषणा गरे पछि करिब दुई सातासम्म देशका विभिन्न स्थानमा किसानको उत्पादन बजारसम्म पुग्न सकेको थिएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment