Comments Add Comment

वीरगञ्जको सिलबन्दी क्षेत्रबाट सुत्केरी पनि अस्पताल जान पाएनन्

२ वैशाख, वीरगञ्ज । वीरगञ्ज–२ छपकैयाका इरफान अन्सारी आफ्ना बुवाका लागि उच्च रक्तचाप र मधुमेहको औषधी लिन निस्किएका थिए ।

अस्पतालमा जँचाएको पूर्जीसहित निस्केका उनलाई प्रहरीले जान दिएन । उनी घर फर्किए । गाउँका अर्का एक साथीलाई पनि प्रहरीले त्यसैगरी फर्काएको उनी बताउँछन् ।
‘बवालाई ब्लड प्रेसर र सुगरको औषधी नियमित खुवाउनुपर्छ’ अन्सारी भन्छन् ‘औषधी लिन नपाएपछि कसरी हुन्छ ?’

टोलकै मक्की जामे मस्जिदमा बस्दै आएका तीन जना भारतीय जमातीमा संक्रमण देखिएपछि त्यस क्षेत्रलाई सिल गरिएको छ । बाक्लो सुरक्षाकर्मी परिचालन गरेर उनीहरुलाई घरभित्रै बस्न आग्रह गरिएको छ । कोरोना भाइरसको संक्रमण फैलन नदिन स्थानीय प्रशासनले त्यो क्षेत्रलाई सिल गरेको हो ।

छपकैया क्षेत्रका पूर्वतर्फ वडा नम्बर १६ र २, दक्षिणतर्फ वडा नम्बर २, पश्चिमतर्फ वडा १ तथा उत्तरतर्फ वडा नम्बर ३ का भागहरु समेत समेटिने गरी सिल गरिएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।

तर क्षेत्रमा प्रसव पीडाले छटपटाइरहेकी गर्भवती महिलालाई समेत अस्पताल लैजान नदिइएको गुनासो आएको छ । प्रहरीले अस्पताल जान नदिएपछि छपकैयाकी एक महिलाले घरमै बच्चा जन्माएको स्थानीयले बताएका छन् ।

वीरगञ्ज महानगरपालिका–३ की २२ वर्षीय आइसा खातुनले घरमै बच्चा जन्माएकी हुन् । आइसाको माइतीघर नारायणी अस्पताल पछाडिकै क्षेत्रमा पर्छ । उनलाई सोमबार बिहानैबाट प्रश्रव पीडा शुरु भएको थियो । अस्पताल लैजाने तयारी पनि भएको हो । सुरक्षाकर्मीले ‘जे गर्नु छ घरभित्रै गर्नु बाहिर निस्कन पाइदैन’ भनेपछि घरमै सुत्केरी गराईएको बुवा एमाम अलीले जानकारी दिए ।

आइसाको मकवानपुरको हेटौँडामा विवाह भएको भएको थियो । तर लकडाउनअघि माइती आएकी उनी घर फर्कन पाएकी थिइनन् । ‘नजिकैको नारायणी अस्पतालसमेत जान सकिएन, व्यथा लाग्दा त अब नबाँचिने भइयो भन्ने लागेको थियो’ आइसाले भनिन् ‘धन्न अल्लाहले बचाए ।’

जिल्ला प्रहरी कार्यालय पर्साको प्रमुख प्रहरी उपरीक्षक गंगा पन्तले भने सुत्केरी गराउन अस्पताल लैजान नरोकेको बताइन् । ‘सुत्केरी गराउन लैजान नपाएको भन्ने सूचना हामीले पाएकै छैनौं । अत्यावश्यक सेवाका लागि प्रहरीले कतै रोक्दैन’ उनले भनिन् ‘घर भित्र भए थाहा हुँदैन, नजिकको पुलिसमा खबर गर्दा बरु उल्टै सहयोग गर्छ ।’

आकस्मिक सेवाका लागि प्रहरीले सञ्चालन गरेको हेल्प डेस्कको नम्बर ९८४४९८२७९० र प्रहरीको १०० मा समेत फोन गर्न सक्ने उनले बताइन् । सोमबार साँझबाट सिल गरिएको क्षेत्रमा त्यहाँ रहेको औषधी पसल र खाद्यान्न पसल सञ्चालन गर्न दिइएको एसपी पन्तले बताइन् ।

‘सिल गरिएको क्षेत्रमा आपूर्ति व्यवस्था मिलाउन वडा कार्यालयलाई जिम्मा दिइएको छ । कसरी व्यवस्थापन गरिएको छ बुझ्न पाएको छैन’ उनले भनिन्, ‘भिडभाड नहुने गरी भित्रै रहेको खाद्यान्न पसल खोल्न दिने भनिएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment