+
+
Shares

विराटनगरवासीलाई भारतीय तरकारी, कटहरीको तरकारी बारीमै कुहिदै

२० दिनमा ५३३ मेट्रिकटन तरकारी आयात

ध्रुव भट्टराई ध्रुव भट्टराई
२०७७ वैशाख ३ गते ७:१५

३ वैशाख, विराटनगर । मोरङ, कटहरी गाउँपालिका- ४ का कोपिन्द्र सिंहको चार बिघा जग्गामा टमाटर, भन्टा, बन्दा, सिमी, खुसार्नी र काउली बेच्न नमिल्ने गरी छिप्पिसक्यो । २२ दिन लामो बन्दाबन्दीका कारण उनले नजिकैको बजार विराटनगर पुर्‍याउन सकेका छैनन् ।

‘तीन बिघामा लगाएको टमाटर त बारीमै कुहिन थालिसक्यो,’ सिंह भन्छन्, ‘गाउँलेलाई जति चाहिन्छ लैजाऊ भन्दा पनि कोही लैजान आउँदैनन् ।’

वडानम्बर ४ का सदस्यसमेत रहेका अर्का किसान रमेशप्रसाद सिंहको पनि तीन बिघा जमिनमा पाकेको टमाटर बोटमै कुहिन लागेको छ । अहिले पाकेर कुहिन थालेको आफ्नो फसल हेरेर मन रुवाउनुबाहेक किसानहरुसँग अर्को विकल्प नरहेको उनले बताए ।

प्रधानमन्त्री कृषि परियोजना अन्तर्गत तरकारी खेती गरिरहेका कटहरीका १९० किसानका प्रतिनिधि हुन्, सिंहद्वय । यो धमाधम तरकारी बजार पुर्‍याउने सिजन हो, तर कटहरीका किसान थाप्लामा हात राखेर बस्न बाध्य भएका छन् ।

कोरोना भाइरसको संक्रमण रोक्न सरकारले लागू गरेको बन्दाबन्दीका कारण किसानहरु आफ्नो घर-आँगनदेखि टाढा खेतबारीसम्ममा सीमित हुन परेको छ । सरकारले अत्यावश्यक उपभोग्य वस्तुमा पर्ने तरकारी ढुवानी नरोकेको भएपनि बन्दाबन्दीमा मजदुर नपाइने रमेशप्रसाद सिंहले बताए ।

बिक्री नभएपछि बारीमा झर्न थालेको गोलभेँडा ।

कटहरीमा उत्पादितमध्ये ७० प्रतिशतभन्दा बढी तरकारी खपत हुने विराटनगरमा अहिले सब्जी मन्डी नै बन्द छ । विराटनगरको आवश्यकता रानी नाकाबाट भित्रिने तरकारीले पूरा गरेको प्रधानमन्त्री कृषि परियोजना तरकारी ब्लकका अध्यक्ष रामउदय सिंह बताउँछन् ।

‘तरकारी बोकेका भारतीय ट्रकहरु रातारात रानीबाट भित्रिने गरेका छन्,’ उनले भने, ‘स्थानीय प्रशासनले भारतीय तरकारी रोकेर स्थानीय उत्पादन बजारसम्म पुर्‍याउन मद्दत गरे नेपाली किसानहरुलाई ठूलो राहत मिल्ने थियो ।’

रानी भन्सारका सूचना अधिकारी गोपी उप्रेती तरकारी रोक्ने कुनै आदेश नभएकाले भारतबाट निकासी नरोकिएको बताउँछन् । उनका अनुसार बन्दाबन्दी लागू भएको चैत १० गते यताको २० दिनमा रानी नाकाबाट ५३३ मेट्रिक टन आलु, प्याज, हरियो केराउ, टमाटर लगायत तरकारी भित्रिएको तथ्याङ्क छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?