Comments Add Comment

घरेलु विधि उच्च रक्तचाप नियन्त्रणका लागि

तीन मन्त्र : सन्तुलित दिनचर्या, स्वस्थ्यकर खानपान, सकारात्मक चिन्तन

सकेसम्म त उच्च रक्तचाप नभएकै राम्रो । यो दीर्घ रोगले जीवनभर सताइरहन्छ । तर, अस्तव्यस्त जीवनशैली, जथाभावी खानपान र अनावश्यक महत्वकांक्षको कारण धेरैजसोको रक्तचाप बढेको छ । चिकित्सकहरुका अनुसार विगतमा यस किसिमका नसर्ने रोगहरु न्युन मात्रामा हुने गथ्र्यो । बुढ्यौली उमेरमा पुगेकाहरुलाई मात्र यसले च्याप्ने गथ्र्यो ।

अहिले भने सर्ने रोगभन्दा बढी नसर्ने रोगबाट मान्छे ग्रसित हुँदैछ । त्यसमध्ये एक प्रमुख हो, उच्च रक्तचाप । उच्च रक्तचापको समस्या बुढ्यौलीमा मात्र होइन, युवा र किशोरमा समेत बढेको छ ।

उच्च रक्तचाप भइसकेको अवस्थामा चिकित्सकिय परामर्श लिनैपर्छ । यदि अनियन्त्रित अवस्थामा छ भने औषधि सेवन गर्नुपर्ने हुनसक्छ । तर, औषधि सेवन मात्र काफी हुँदैन । त्यससँगै जीवनशैली र खानपानमा परिवर्तन गर्नुपर्छ । उच्च रक्तचाप नियन्त्रणको सबैभन्दा राम्रो र भरपर्दो काइदा भनेकै सन्तुलित जीवनशैली, स्वस्थ्यकर खानपान र सकारात्मक चिन्तन हो ।

त्यसो त उच्च रक्तचाप हुन नदिन वा भइहालेको अवस्थामा कतिपय प्राकृतिक उपचार पनि खोज्न सकिन्छ ।

कसरी थाहा पाउने ?

उच्च रक्तचाप भएपछि टाउको दुख्छ, चक्कर लाग्छ, मुटुको धड्कन बढ्छ । हुन त सबै अवस्थामा यहि लक्षण देखापर्छ भन्ने छैन । यद्यपी कतिपय अवस्थामा यस्तो लक्षणले उच्च रक्तचापको संकेत गर्छ ।

यी कुरा अंगाल्ने 

उच्च रक्तचाप नियन्त्रणका लागि सबैभन्दा पहिला जीवनशैली परिवर्तन गर्नुपर्छ ।

–सुत्ने र उठ्ने तालिका निश्चित गर्नुपर्छ । खाने र काम गर्ने तालिका मिलाउनुपर्छ ।

–राती अबेरसम्म बस्ने र कम निद्रा लिने काम गर्नै हुँदैन ।

–उठेपछि मनतातो पानी पिउने, अझ अघिल्लो दिन भिजाएर राखेको मेथी पानी उपयोगी हुन्छ ।

–हल्का व्यायाम गर्ने, योग र प्राणायाम अनिवार्य गर्ने । प्राणायम उच्च रक्तचाप नियन्त्रणको प्रभावकारी विधी हो ।

–धेरै कामको बोझ नलिने । मनलाई हल्का राख्ने । सकारात्मक सोच र चिन्तन राख्ने ।

यी कुरा त्याग्ने

–खराब खानपान र जीवनशैली त्याग्ने ।

–मदिरा, चुरोट आदि नियन्त्रण गर्ने ।

–धेरै महत्वकांक्षा नराख्ने, कामको बोझ नलिने ।

–क्रोध, अहंकार जस्तो मनोविकार त्याग्ने ।

–जंकफूड, मसलेदार खानेकुरा त्याग्ने ।

के छ घरेलु विधी ?

– मेथीको दाना रातभर भिजाउने । बिहान खाली पेटमा त्यसको रस पिउनुपर्छ ।

–  विहान खाली पेटमा लसुनको केस्रा खानुपर्छ । यसले रगत पातलो बनाउँछ, जो रक्त प्रवाहमा सहज हुन्छ । साथै कोलोस्टोर पनि नियन्त्रण गर्छ ।

–  गोलभेडाको सेवनले शरीरमा आवश्यक भिटामिन मिल्छ । यसले रगतको धमनीमा फ्याटी एसिड जम्न दिदैन ।

–चुकन्दर एवं मुलाले शरीरमा नाइट्रेसको मात्रा बढाउँछ, जसले उच्च रक्तचाप कम गर्छ । त्यसैले यसलाई आफ्नो सलादमा सामेल गर्नुहोस् ।

–उच्च रक्तचापबाट बच्नका लागि पानीको सेवन पनि लाभदायक हुन्छ । यसले शरीरको अधिक नुन वाहिर निकाल्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment