Comments Add Comment

ऋण तिर्ने समय ६ महिना दिनुपर्छ

‘कोरोनाका कारण लघुवित्त क्षेत्र पनि समस्यामा पर्दैछ’

३ वैशाख, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को कारण यतिबेला मुलुकको अर्थतन्त्रलाई ठूलो असर परेको छ । आर्थिक क्रियाकलाप ठप्प हुँदा बैंकिङ क्षेत्रको मुनाफा घट्ने र निस्कृय कर्जा बढ्ने देखिएको छ । गाउँगाउँ पुगेर विपन्न वर्गका लागि लगानी गर्दै आएका लघुवित्तहरु क्षेत्रमा पनि कोरोनको असर देखिएको छ ।

लघुवित्त क्षेत्र सर्वसाधारणलाई चर्को ब्याज लिएर धेरै नाफा कमाएको भनेर बेलाबखतमा बिवादमा आउने गरेको छ । अहिलेको अवस्थामा लघुवित्तका ग्राहकहरुको अवस्था के छ ? कोरोनको कत्तिको असर परेको छ ? यिनै विषयमा केन्द्रित रहेर लघुवित्तका सीईओहरुको छाता संस्था माइक्रोफाइनान्स बैंकर्स संघका अध्यक्ष वसन्त लम्सालसँग कुराकानी गरेका छौं–

कोरोनाले लघुवित्त क्षेत्रमा यसको असर कस्तो परेको छ ?

सबै क्षेत्रमा यसको असर परेको छ । यहाँ यत्ति नै परिमाणमा असर परेको छ भने ठ्याक्कै डाटा त छैन । जेहोस् चैत महिनामा कारोबार लगभग शून्यकै हाराहारीमा पुगेको अवस्था छ । अब उत्पादनमा कस्तो असर पर्छ ? ग्राहकहरुको अवस्था कस्तो हुन्छ भनेर हेर्नै बाँकी छ । विस्तारै तथ्यांकहरु आउलान् ।

राष्ट्र बैंकले ल्याएको प्याकेजलाई एक हिसाबले सकारात्मक नै मान्नुपर्छ । तर त्यहाँ लघुवित्तका धेरै कुराहरू समेटिएका छैनन्

यो तत्कालै समाधान भइहाल्ने अवस्था छैन । आजको दिनसम्म लघुवित्त वित्तीय संस्थाका अधिकांश शाखा कार्यालयहरु बन्द अवस्थामा छन् । केही खुला भए पनि कारोबार हुन सकेको छैन । नेपाल राष्ट्र बैंकले ब्याजमा १० प्रतिशत छुट दिने भनेकाले एकदमै कमले चैतमा ऋण तिर्नुभएको छ । अधिकांश कारोबार भने भएको छैन । सबै क्रियाकलापहरु नै ठप्प भएपछि लघुवित्तको मात्रै सेवा सुचारु भइरहने अवस्था पनि रहेन ।

क, ख र ग वर्गका बैंक वित्तीय संस्थाहरुले त शाखा खोलेर अहिले पनि सेवा दिइरहेका छन्, लघुवित्त संस्थाहरुले चाहिँ किन दिन सकेनन् ?

राष्ट्र बैंकले चैतमा तिर्ने कर्जा असार मसान्तसम्म तिरे हुने र चैतमै तिरेको अवस्थामा १० प्रतिशत ब्याज छुट दिनु पर्ने भन्यो । त्यसपछि हामीले लघुवित्त बैंकर्स संघमा छलफल गर्यौं । हामीले शाखा कार्यालयहरु मिलेसम्म खुला नै राख्ने निर्णय गरेका हौं । तर, त्यो पनि सहज भएन । कर्मचारी टाढा बसेको छ भनेर गएर शाखा खोल्न सकिँदैन । कोही मान्छे आएर रकम बुझाउन चाहन्छ भने शाखा खोलि दिने । सामुहिक भेटघाट नगर्ने भन्ने निर्णय भएको हो ।

यदि कसैले म रकम निकाल्न चाहान्छु वा रकम जम्मा गर्न चाहान्छु भनेको अवस्थामा भने शाखा खोल्ने निर्णय गरेका हौं । चैतमा तिर्दा छुट पाउने भएकाले ऋण तिर्न आउनुहुन्छ कि भनेर शाखा खुला राखेका नै हौं । बन्द भए पनि कसैले सम्पर्क गरेर म तिर्न आउँछु भनेको अवस्थामा भने हामीले खोल्छौं । मेरै विजय लघुवित्तको कुरा गर्ने हो भने आधा शाखा कार्यालयहरु खोलेका छौं । तर, कारोबार ठप्पै जस्तो छ ।

ग्राहकहरुले तिर्नै नसक्ने अवस्था त आइसकेको छैन नि ?

हामीले ग्राहकहरुसँग सम्पर्क गर्दा तिर्न गाह्रो परेको कुरा राख्नुभएको छ । तर, वास्तविकरुपमा कस्तो अप्ठेरो परेको छ ? तिर्न सक्ने अवस्था छ कि छैन भन्ने कुरा भने बुझ्न बाँकी छ । लघुवित्तहरु पहिले पनि रिक्समै थियो । एउटै व्यक्तिले धेरै वटा संस्थाबाट ऋण लिएको कारण समस्यामा परेको अवस्था पहिलेदेखि नै थियो । यसले गर्दा निस्कृय कर्जा (एनपीएल) बढेको अवस्था थियो । अहिले तिर्न सक्नेहरुलाई पनि गाह्रो बनाएको छ । तिर्न नसक्नेहरु समस्यामा पर्ने नै भए ।

हुन त, गाउँमा बस्नेहरुको उतपादकत्वमा खासै असर परेको छैन कि जस्तो छ । तर, असर त ठूलै परेको छ । धेरैको आम्दानीको स्रोत रेमिट्यान्स छ । अहिले रेमिट्यान्समा भर पर्ने घरपरिवारलाई अप्ठेरो परेको अवस्था छ । रेमिट्यान्स धेरै घटेको छ । सबैभन्दा धेरै रेमिट्यान्स भित्रने भारतबाटै पनि ठूलो संख्यामा नेपाल आइसकेका छन् ।

सुदुरपश्चिम प्रदेशमा मात्रै डेढ लाख मान्छे भारतबाट स्वदेश फर्किसकेका छन् । कतिपय मान्छेहरुले विदेशबाट ऋण पठाएर उसको परिवारले ऋणको किस्ता तिर्ने गरेको अवस्था थियो । धेरैले रेमिट्यान्स आएको रकमलाई बचत समेत गर्ने गरेका थिए । खाडी मुलुकहरु अवस्था पनि गाह्रै छ । कतिपय जानै लागेका पनि रोकिएका छन् । नयाँ जाने त बन्द नै भइहाल्यो, त्यहाँ भएकाहरुले पनि पठाउन पाएक छैनन् । भोलि वैदेशिक रोजगारीमा गएकाहरुलाई पनि कम्पनीले फर्कायो भने त्यसको झन ठूलो असर पर्नेछ ।

उत्पादनकै कुरामा पनि असर परेको छ । सानासाना किसान पनि समसस्यामा छन् । कुखुरा मरेका छन कसैको गाई पाल्नेहरुको दूध बिक्री भएको छैन । कृषकहरु समस्यामा नै छन् । व्यापार गर्नेहरुलाई एकदुई महिना रोकिए पनि फेरि जाग्न सजिलो हुन्छ होला । कृषि क्षेत्रलाई त ठूलो असर परिहाल्छ । अहिले तरकारी खेति गर्नेहरुलाई बिउँ पाउनै समस्या होला, मल किन्न नपाउलान् । उत्पादन भइसकेपछि पनि बजार नपाउला । यो समस्यामा छ ।

कोरोका कारण अहिले कुनै एक क्षेत्रमा मात्रै होइन सबै क्षेत्रमा परेको छ । फरक थोरै र धेरै भन्ने कुराको मात्रै हो । पर्यटन क्षेत्रमै पनि सानो सानो लगानीमा सेवा दिइरहेका पनि थिए । पर्यटन ठप्पै भए पछि उनीहरु ठूलो समस्यामा परेका छन् । लघुवित्त भनेको ४५ लाख सर्वसाधारण जोडिएको क्षेत्र हो । अब कहिकतै पर्यटनसँग जोडिएको छ भने कतै कृषिसँग त कतै रेमिट्यान्ससँग जोडिएको छ । कतै व्यापारमा जोडिएको छ त कतै सेवा क्षेत्रमा पनि जोडिएको छ । भोलि यसका कारण ठूलो असर पर्ने सम्भावना छ । जसले ऋण लगेका छन् उसको तिर्न सक्ने क्षमता छ घटेको छ ।

भनेपछि यही अवस्था रह्यो भने लघुवित्त क्षेत्र धराशायी हुने देखियो ?

मलाई लाग्छ लघुवित्त क्षेत्रमात्रै होइन, धेरै क्षेत्र यही कोरोनाको कारण समस्यामा पर्दैछन् । अन्य बैंकिङ बैंकिङ क्षेत्रका साथै सबै क्षेत्रमा असर परिहाल्छ । एउटामात्रै क्षेत्र यहाँ जोडिएको छैन । यसले समग्र वित्तीय क्षेत्रलाई नै असर गर्छ । यसले व्यापारीहरुलाई असर नपर्ने भन्ने कुरा हुँदैन । अण्डा फालेको, दूध फालेको, कृषिजन्य उत्पादनहरु फाल्नु परेको हामीले सुनिरहेका छौं । यसले ठूला बैंकहरुलाई पनि असर गर्छ नै । यसले सबै क्षेत्रलाई असर गर्छ । तर, यो नेपालकोमात्रै समस्या भने होइन । विश्वव्यापीरुपमै असर पर्छ । विश्व अर्थतन्त्रमा असर परेपछि नेपालमा पनि पर्ने नै भयो ।

नाफा घट्ने र निस्कृय कर्जा (एनपीएल) बढ्ने त लगभग पक्का जस्तै भइसक्यो, एनपीएल कति पुग्ला ?

चैत महिनामा नाफा घट्छ नै । यो पक्का भइसक्यो । फागुनसम्म त राम्रै भइरहेको थियो । चैतमा कारोबार रोकिए पछि त्यसको असर मूनाफामा पर्ने नै भयो । हाम्रो मूख्य आम्दानी भनेको ब्याज नै हो । ब्याज नै नआएपछि असर परिहाल्यो । हाम्रो आम्दानी घट्छ, तर खर्च भने घट्दैन ।

कोरोनाको असर परे पनि कर्मचारीहरुलाई तलब दिनुपरिहाल्यो, घरभाडा तिर्नु परिहाल्यो । अन्य खर्चहरु पनि छँदैछन् । आम्दानी घट्ने र खर्च नबढ्ने भएपछि त मुनाफा घट्ने भइहाल्यो । असारमा पनि सबै आयो भने त राम्रै हुन्छ । तर, त्यो पनि आएन भने गाह्रो हुन्छ । ऋणीहरु अप्ठेरोमा परेपछि कर्जा तिर्न नसक्ने अवस्था आउँछ । यसकारण एनपीएल पनि बढ्ला । तर, अहिले नै यति नै बढ्छ भनेर भनिहाल्न सकिने अवस्था भने भएको छैन ।

राष्ट्र बैंकले ल्याएको सहुलियत प्याकेजलाई चाहिँ कसरी लिनुभएको छ ?

राष्ट्र बैंकले ल्याएको प्याकेजलाई एक हिसाबले सकारात्मक नै मान्नुपर्छ । तर, त्यहाँ लघुवित्तका धेरै कुराहरु समेटिएका छैनन् । वास्तवमा तत्कालै समेट्नैपर्ने कुराहरु पनि छैनन । हामीले यो यो गर्नुपर्छ भनेर त्यसरी भनेका छैनौं । हामीले अहिले बच्ने र बचाउने कुरामात्रै गरेका छौं ।

चैतमा तिर्नुपर्ने ऋण असार मसान्तस्म्म तिरे हुन्छ भनेर समय पर सारिएको छ । समय पर सारिनु एकदमै राम्रै कुरा हो । तर, त्यसबेला पनि तिर्न सक्ला कि नसक्ला भन्ने कुरा हुन्छ । किनकि असारमा अब चैतको समेत गरेर दुई महिनाको साँवा ब्याज तिर्नुपर्ने हुन्छ । यसको विषयमा अहिले सोचिएको छैन, पछि सोचिएला । रिसेड्युल गर्नुपर्ने हुन्छ ।

असारमा चाहिँ के आम्दानीले तिर्ला भन्ने हुन्छ । हाम्रो फेरि त्रैमासिक किस्ता होइन, मासिक किस्ता हुन्छ । चैतको पनि तिर्नुपर्‍यो, वैशाख, जेठ र असारको पनि । जब आम्दानी नै भएन भने असारमा तिर्न पनि गाह्रो पर्ला । यो सहज छैन । हामीले ग्राहकहरुलाई समय दिन सकिन्छ । केही महिना पर सार्न सकिन्छ ।

उसोभए, असारमा तिर्नुपर्ने कर्जाका लागि तपाईहरुले समय दिनुहुन्छ ?

हामीले अहिले समय दिने भनेका छैनौं । हाम्रो माग के हुन्छ भने राष्ट्र बैंकले पुर्नतालिकीकरण गरेर समय दिनुपर्छ । यस विषयमा राष्ट्र बैंक पनि सकारात्मक हुन्छ भन्ने मलाई लाग्छ । अनौपचारिक कुराकानीका क्रममा सकारात्मक नै पाएका छौं । समय त दिनैपर्छ , तुरुन्तै पैसो आउँदैन । लकडाउन खुलेको भोलिपल्टै आम्दानी हुँदैन । बिजनेश गरेर उसले कमाउनुपर्ने हुन्छ ।

कमसेकम ५/६ महिना ऋण तिर्ने समय दिनुपर्छ । अहिले नयाँ गभर्नर आउनुभएको छ । वहाँले पनि केही सोच्नु भएको होला । पक्कै पनि केही न केही नयाँ आउँछ । हामी पुनः एशोसिएसनमा छलफल गरेर राष्ट्र बैंकलाई सुझाव दिनेछौं ।

थप नयाँ प्याकेज आउने संकेत त राष्ट्र बैंकले पनि गरिसकेको छ, अब आउने प्याकेज कस्तो चाहनुहुन्छ ?

हामीले पहिलेदेखि पनि उठाउँदै आएको विषय भनेको कृषि कर्जाको छ । कृषिमा अनुदानको कुरा छ । तर लघुवित्तबाट ऋण लैजाने किसानले ब्याजमा अनुदान पाउन नसकेको अवस्था छैन । यस विषयमा समेटिनुपर्छ । प्रदेश २ को सरकारले सहुलियत दिने भनेर एक किसिमको निर्णय गरेको छ । त्यो सकारात्मक हो ।

संघीय सरकारले पनि यस विषयमा सोच्नुपर्छ । यसो भयो भने साना किसानहरुलाई राहत हुन्छ । संस्थाहरुलाई कर सहुलियतको कुरा हुनसक्छ । अब तत्कालै आउने प्याकेज भनेको त समय थप्ने नै हो ।

सन् १९३१ मा आएको संकटभन्दा पनि ठूलो यो हुन्छ भन्ने कुरा आइरहेको छ । मैले नेपालको लघुवित्तको कुरा गर्दा केही सकारात्मक कुरा ल्याउछ भन्ने मलाई लाग्छ । वैदेशिक रोजगारीमा जान चाहेर पनि यतिबेला कति युवा जान पाएका छैनन् । गएका पनि फर्कनुपर्ने अवस्था आउन लागेको छ । यसकारण साँच्चिकै एउटा प्याकेज ल्याएर उनीहरुलाई उत्पादन क्षेत्रमा लगाउने हो भने राज्यलाई धेरै फाइदा हुन्छ ।

कषि क्षेत्र होस् वा अन्य कुनै क्षेत्रमा बाहिर जाने श्रम शक्तिको सदुपयोग गर्ने यो राम्रो अवसर पनि हो । अर्को अवसर भनेको पेमेन्टको सिस्टम हो । हामी प्रविधिमा पछाडि छौं । धेरै आउनुपर्ने रकम लकडाउनले आउन सकेको छैन । अहिले भएको टेक्नोलोजी पनि सहर केन्द्रित छ । यो गाउँगाउँसम्म पुर्‍याउने एउटा अवसर पनि हो । टेक्नोलोजीको प्रयोग हुने हो भने घरमा पैसा भएर पनि तिर्न नपाउने स्थिति आउने छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment