Comments Add Comment

कोभिड विशेष अस्पताल, जहाँ आइसोलेसन वार्डसमेत छैन

कलैया अस्पतालको तयारी सुस्त

३ बैशाख, वीरगञ्ज । प्रदेश-२ सरकारले कोभिड विशेष अस्पताल बनाउने घोषणा गरेको बाराको कलैया अस्पतालमा हालसम्म अस्पताल निर्माणको कुनै तयारी छैन ।

यहाँ अहिलेसम्म  बिरामी राखेर उपचार गर्ने आइसोलेसन वार्ड समेत छैन । ज्वरो जाँच गर्ने क्लिनिक र आकस्मिक सेवा सञ्चालन गरिएको छ भने १३ जनालाई क्वारेन्टाइनमा राखिएको छ ।

५० शय्याको अस्पतालमा आईसीयू पनि छैन । मेडिकल सुपरिटेन्डेन्ट डा. वीरेन्द्र मण्डल कोभिड अस्पतालका लागि तयारी भइरहेको बताउँछन् । ‘हामीले तयारी गरिरहेका छौँ, अहिले मैले भन्न सक्ने यत्ति हो । बाँकी कुरा मन्त्रालयसँग नै सोध्नूस्’ उनले भने ।

कोभिड अस्पताल स्थापनाका लागि प्रदेश सरकारले रकम पठाएको छ त ? भन्ने अनलाइनखबरको प्रश्नमा उनले जवाफ दिन चाहेनन् । डा. मण्डलले भने ‘त्यो कुरा प्रदेश सरकारलाई नै सोध्नूस् ।’

कलैया अस्पतालमा मेडिकल सुपरिटेण्डेन्ट मात्रै स्थायी छन् । अन्य चिकित्सक करारका हुन् । आठ जना मेडिकल अफिसर कार्यरत अस्पतालमा ८० जना कर्मचारी छन् । गाइनो, डेन्टल, बाल रोग, जनरल फिजिसियन १/१ जना छन् । स्टाफ नर्स र अनमी गरी १४ जना सहयोगी स्वास्थ्यकर्मी छन् ।

कलैया अस्पतालमा कार्यरत चिकित्सक राहुल किरण कोरोना उपचारका लागि अस्पतालमा जनशक्ति पर्याप्त नभएको बताउँछन्। ‘अहिलेसम्म ठाउँ नै फिक्स भएको छैन, समानहरु पनि आएको थाहा छैन । ३० वटा पीपीई आएको पनि सक्किसकेको छ’ उनले भने ‘कोभिड अस्पतालका लागि जनशक्ति पनि कम छ ।’

अरु २/३ जना थप चिकित्सक भएकोभए सिफ्ट बनाएर काम गर्न सकिने सम्भावना भए पनि अहिले कठिन रहेको उनको भनाइ छ ।

स्रोतका अनुसार अस्पताललाई आवश्यक काम सुरु गर्न प्रदेश सरकारले अनुमति दिइसकेको छ, तर काम भएको छैन । कलैयामा कोभिड अस्पताल सञ्चालन गर्ने ठाउँ खोजिएको छ, तर अहिलेसम्म पत्ता लागेको छैन । त्यसैले कलैया अस्पतालमा संरचना निर्माण गरिएको छैन भने सामग्री खरिद पनि भएको छैन ।

बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले कोभिड अस्पतालका लागि प्रदेश सरकारको अन्तिम निर्देशनको प्रतिक्षा भइरहेको बताए ।

‘कोभिड अस्पतालका बारेमा चार दिनअघि कुरा भएको हो । कोभिड र अन्य सेवा एकैठाउँबाट दिँदा संक्रमण फैलने खतरा हुन्छ। नियमित आकस्मिक सेवा अस्पतालबाट दिएर कोभिडका लागि अन्यत्रै व्यवस्थापन गर्ने भन्ने निर्णय भएको हो’ प्रजिअ पण्डितले भने ‘त्यसका लागि शैक्षिक तालिम केन्द्र सिफारिस गरेर पठाएका छौँ। प्रदेश सरकारले अन्तिम निर्णय नगरी सकेको अवस्था छ ।’

तर, मुख्यमन्त्री लालबाबु राउत बारा, पर्सा र रौतहटका लागि कलैयालाई कोभिड विशेष अस्पताल बनाउने निर्णय भएअनुसार तयारी पनि भइरहेको दाबी गर्छन् ।

‘त्यहाँ साढे पाँच करोड रुपैयाँ पैसा गइसकेको छ, कर्मचारी भर्ना गर्ने, भेन्टिलेटर राख्ने, आइसोलेसन वार्ड बनिसकेको छ’ उनले भने ‘कलैयाका मेसुसँग कुरा हुँदा आइसोलेसन वार्ड तयार छ वीरगञ्जले भ्याउँदैन भने हामी राख्न तयार छौँ भनेका छन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment