Comments Add Comment

सेवाभन्दा ठूलो पुण्य के छ ?

‘सेवा नै धर्म हो’ हाम्रा पुर्खाहरुले यस्तै भन्दै आए । आफ्नो बलबुताले भ्याएसम्म सेवा-भावले काम गरे। टाढा-टाढाबाट हिँडेर आउने बटुवाहरुलाई थकाइ लाग्छ भनेर चौतारी बनाइदिने चलन पितापुर्खाहरुको थियो । तिर्खा लाग्छ भनेर धारो बनाइदिन्थे, राति बास बस्नुपर्छ भनेर पाटी-पौवा बनाइदिने गरे । ठाउँ-ठाउँमा बर-पिपल रोपिदिए, जहाँ सितल छहारी मिलोस् ।

त्यसबेला हाम्रा पिता–पूर्खाहरुले कतिपनि स्वार्थ नराखी यस्ता काम गरे, जसले अरुको हित हुन्छ । न राज्यको बजेट खान लागि, न त कालो धन ढाकछोप गर्न नै यावत काम गरे । उनीहरुले आफ्नो छाक कटाएर, घरायसी कामधन्दा थाती राखेर, श्रम र पसिना चुहाएर अरुको खातिर चौतारोदेखि धारासम्म बनाइदिए । पछि यसलाई संस्कारको रुपमा व्यवस्थित गरे, त्यो पनि एकदमै भावनात्मक र व्यवहारिक ढंगले ।

आफ्ना पूर्खाको नाममा चौतारो, धारा, पार्टी–पौवा बनाइदिने गरे । अहिलेपनि ग्रामिण भेगमा यस्तो संस्कार जारी छ ।

बाटो हिँड्ने बटुवालाई पानी दिनुपर्छ, राती आउने पाहुनालाई बास दिनुपर्छ, भोकालाई एक छाक भएपनि खाना दिनुपर्छ, रोगीलाई सहयोग गर्नुपर्छ भनी यसरी सामाजिक भावनाको विकास गराइदिए ।

खासमा मानविय भावनाले सबैलाई प्रेम गर्नु, साह्रो–गाह्रोमा हार्दिकतापूर्वक सहयोग गर्नु हाम्रो संस्कार हो ।

जो बिचल्लीमा छन्

अहिले गरिब, निमुखा, मजदुरहरु विचल्लीमा छन् । खासगरी मजदुरी गरेर शहरको ओत लाग्न आएकाहरुको बिजोग छ । शहरमै ओत लागौं, खाने मेलो छैन । गाउँ फर्कौं, जाने स्थिती छैन ।

सरकारले उनीहरुकै लागि भनेर वितरण गरेको नुन, तेल, चामल जस्ता अत्यावश्यक खाद्यन्न कुहिएको एवं खान नमिल्ने पाइएको छ । अर्कोतिर लक्षित बर्गले राहत पाएकै छैनन् । स्थानिय पार्टी कार्यकर्ताको मनोमानीमा राहतमाथि पनि राजनीति भइरहेको पाइन्छ । सरकारप्रति सर्वसाधरणको विश्वास र भरोसा छैन । त्यसैले उनीहरु ज्यानलाई बाजी लगाएर शहर छाड्दैछन्, सैयौं किलोमिटर दुरी पैदल हिँड्दैछन् ।

यतिबेला चर्को गर्मीमा भोक र तिर्खा खेपेर गाउँ फर्कनेहरुको लस्कर छ । थुप्रै मजदुर बेखर्ची छन् । त्यही हालतमा उनीहरु सैयौं किलोमिटर दुरीको यात्रामा निस्किएका छन् । हिँड्न नसक्नेहरु झुपडीमा कोचिएका छन् । बिहान काम गरेर साँझको छाक टार्नेहरुको चुल्हो निभेको छ ।

उनीहरु कति असहज स्थितीमा होलान्, जसको घरमा रोगी बुवाआमा र साना बालबच्चा छन् । पेट धान्नै गाह्रो भएको यो क्षणमा औषधि–उपचार परको कुरा । न घरम जगेडा खानेकुरा छ, न आयआर्जन गर्ने मेलो । कति कष्टकर होला उनीहरुको जीवन ।

केही त गर्न सकिन्छ

संकटको यो घडीमा हामीले व्यक्तिगत रुपमा, सामुदायिक रुपमा पनि केही न केही सहयोग गर्नुपर्ने अवस्था छ । आफ्ना टोल–छिमेकमा कोही त्यस्ता छन् भने आफुले सक्ने सहयोग गरौं । सहयोगका लागि आह्वान गरौं । स्थानिय समाजको अग्रसरतामा उनीहरुलाई खाने र बस्ने व्यवस्था गरौं । अस्पताल जानुपर्ने अवस्थाका, औषधि–उपचारको अभाव खेपिरहेकाहरुलाई के–कसरी सहयोग गर्न सकिन्छ, जुटौं ।

हुन त कतिपय बटुवालाई अहिले बाटो–बाटोमा खानपिनको व्यवस्था गरिएको पाइन्छ । उनीहरु कहाँबाट आएका हुन्, कहाँसम्म पुग्ने हुन्, कस्तो अवस्थामा छन् ? बुझौं । स्थानिय प्रशासनसँग समन्वय गरेर आवश्यक परेको सहयोग गरौं ।

सामाजिक दुरी घटाऔं

सरकारले आह्वान गरेको छ, ‘घरबाट बाहिर नजाऔं ।’ जान्नेबुझ्नेहरु उपदेश दिइरहेका छन्, ‘घरभित्र बसौं, सुरक्षित रहौं ।’

तर, यस्ता थुप्रै व्यक्तिले पनि शहरमा आश्रय लिइरहेका छन् जसको राती ओत लाग्ने छानो छैन । शहरका गल्ली, खोला किनारका झुपडीहरुमा रात कटाइरहेका छन् । उनीहरुको अवस्था के छ, कसरी गुजारा गरिरहेका छन् ? चासो राखौं । आफु सुरक्षित रहेर पनि समाजका गतिविधि नियाल्न सकिन्छ । समाजको अवस्था बुझ्न सकिन्छ ।

असहज स्थिती झेलिरहेकाहरु छन् भने केही न केही सहयोग गरौं । सामाजिक सम्बन्धलाई अरु बलियो बनाऔं ।

भौतिक सहयोग गर्ने सामर्थ्य भएका धनीमानीहरु खल्तीमा हात घुसारेर निदाएका छन् । भावनात्मक सहयोग गर्ने खुबी भएका कवि–कलाकारहरु काखीमा हात घुसारेर आरम गरिरहेका छन् । राजनीतिक दल र उनका नेता आफ्नो दुनो सोझ्याउने धन्दामा छन् । यस्तो बेला तपाईं–हामी नै एकअर्काको सहयोगमा हातेमालो गर्नका लागि अग्रसर हुनु जरुरी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment