Comments Add Comment

पदक विजेता खेलाडीले बल्ल पाए सरकारले घोषणा गरेको पुरस्कार

३ वैशाख, काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) सकिएको झण्डै साढे चार महिनापछि बल्ल पदक विजेता खेलाडीले पुरस्कार रकम पाउन थालेका छन् ।

मंसिर १५ देखि २४ गतेसम्म काठमाडौं, पोखरा र जनकपुरमा भएको सागमा नेपालले ५१ स्वर्ण सहित कुल दुई सय सात पदक जितेको थियो । साग सकिएको भोलिपल्ट प्रधानमन्त्री केपी शर्मा ओलीले खेलाडीलाई बालुवाटारमै बोलाएर पुरस्कार घोषणा गरेका थिए ।

२०७६ साल चैत अन्तिममै खेलाडीले पुरस्कार पाइसक्ने युवा तथा खेलकुद मन्त्रालय र राखेपले जनाएको थियो । तर, खेलाडीले बल्ल रकम पाउन थालेका हुन् ।

बुधबार कोष तथा लेखा नियन्त्रकको कार्यालय (कोलेनिका)बाट सागमा पदक विजेता खेलाडीको नाममा पुरस्कार रकम पठाइएको राष्ट्रिय खेलकुद परिषद् (राखेप)को राष्ट्रिय टिम तयारी शाखा प्रमुख महेन्द्रकुमार राईले अनलाइनखबरलाई जानकारी दिए । ‘पाउनुपर्ने खेलाडीको लागि १९ करोड ५३ लाख रुपैयाँ पठाएको हिसाब आएको छ । एक दुई जनाले पाएको खबर गरिसके ।’

मंगलबार खेलाडीको खातामा रकम जाने बताए पनि कोष तथा लेखा नियन्त्रक कार्यालयको सर्भर डाउन भएकोले खेलाडीको खातामा पैसा गएन ।

तर, बुधबार भने खेलाडीको खातामा रकम पठाएको बताइएको छ । १३ औं सागमा स्वर्ण जितेका तेक्वान्दो खेलाडी सञ्जीवकुमार ओझाले बुधबार आफ्नो बैङ्क खातामा रकम जम्मा भएको बताए । नेपाली सेनाका कार्यरत ओझा हाल पोखरामा छन् ।

‘बिहान परेड खेलेर आएपछि मोबाइलमा मेसेज आएको रहेछ । मैले खासै वास्ता गरेको थिइनँ, पछि हेर्दा बैङ्कमा छ लाख रकम जम्मा भएछ’ पोखराबाट ओझाले अनलाइनखबरसँग भने ‘सुरुमा त विश्वास लागेको थिएन । तर, ढिलै भए पनि पाएँ । खुसी लागेको छ ।’

आफूले पुरस्कार रकम पाएको कुरा उनले हेटौंडा स्थित घरमा पनि फोन गरेर सुनाए । ओझाले पुरस्कार रकम पाउने सायद आफू नै पहिलो भएको बताए ।

सञ्जीवले तेक्वान्दोमा आयशा शाक्यसँगको टिम इभेन्टमा स्वर्ण जितेका थिए । टिम इभेन्टको भएर उनले छ लाख पाएका हुन् । १३ औं सागमा नेपालले ५१ स्वर्णसहित कुल दुई सय सात पदक जितेको थियो ।

व्यक्तिगत तर्फ स्वर्ण जित्नेले नौ लाख रजत जित्नेलाई छ लाख र कास्य जित्नेले तीन लाख रुपैयाँ पाउनेछन् । यस्तै, टिमतर्फ स्वर्ण जित्नेले छ लाख रजत जित्नेले चार लाख र कास्य जित्नेले दुई लाख रुपैयाँ पाउनेछन् ।

खेलाडीको पुरस्कारबारे खेलकुद मन्त्रालयको विज्ञप्ति हेर्नुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment