Comments Add Comment

तीन भारतीयलाई कसरी भयो कोरोना ? अझै पत्ता लागेन जरा

संक्रमित पुगेको क्षेत्रमा भोलिदेखि र्‍यापिड टेष्ट

कोरोना संक्रमित भेटिएको वीरगञ्जको छपकैया क्षेत्र ।

३ वैशाख, वीरगञ्ज । वीरगञ्जमा रहेका तीन भारतीय नागरिकलाई कोरोना भाइरस (कोभिड–१९)को संक्रमण पुष्टि भएको चार दिन अर्थात ९६ घण्टा भयो । तर उनीहरुलाई कहाँबाट संक्रमण भयो भन्ने अझै पत्ता लागेको छैन ।

स्वास्थ्य सेवा विभागबाट खटिएका डा. नरेन्द्रकुमार खनालले भारतीय नागरिकमा कोरोना संक्रमण कसरी भयो भन्ने पत्ता लगाउन नसकिएको बताए । ‘उहाँहरुको सम्पर्कमा जोजो हुनुहुन्थ्यो, पहिचान गर्‍यौं, संक्रमण भए नभएको परीक्षणका लागि थ्रोट स्वाबको नमुना संकलन गरेर पठाएका छौं’ उनले भने ‘तर चार दिन बितिसक्दा पनि कहाँबाट संक्रमित भए भन्ने रुट (जरा) पत्ता लाग्न सकेको छैन ।’

भारतबाट आएर वीरगञ्जको छपकैयास्थित मक्की जामे मस्जिदमा बसेका उनीहरुमा संक्रमण भएको २९ गते राति नै पुष्टि भएको थियो, जसको औपचारिक घोषणा भोलिपल्ट विहान मात्र भयो । तीनै जनाको अहिले वीरगञ्जस्थित नारायणी अस्पतालको आइसोलेसन वार्डमा उपचार भइरहेको छ ।

उनीहरुको सम्पर्कमा आएका ४७ जनाको पहिचान गरी नमुना परीक्षणका लागि हेटौंडा पठाइएको खनालले जानकारी दिए ।

संक्रमितहरु बसेको वीरगञ्ज महानगरपालिका–२ छपकैयास्थित मक्की जामे मस्जिद क्षेत्रलाई सिल गरिएको छ ।

संक्रमित पुगेको क्षेत्रमा र्‍यापिड टेष्ट गरिने

तीन जना संक्रमित मुस्लिम जमाती पुगेका क्षेत्रमा बिहीबारदेखि र्‍यापिड टेष्ट शुरु गरिने भएको छ । संक्रमित पुगेको क्षेत्रहरुको पहिचान भइसकेको सरकारी अधिकारीको दावी छ ।

पहिलो चरणमा पछिल्ला दिनमा संक्रमित बसेको वीरगञ्ज महानगरपालिका वडा नं १, २ र ३ का मस्जिद क्षेत्र र वीरगञ्ज–२६ सुगौलीमा र्‍यापिड डाइग्नोस्टिक टेष्ट (आरडीटी) विधिबाट संक्रमण भए नभएको जाँच गरिनेछ ।

कन्ट्याक्ट ट्रेसिङ र ट्राभल हिष्ट्रीकै आधारमा उनीहरु बसेको क्षेत्र आसपासका मानिसहरुमा कोरोना संक्रमण जाँच गर्न लागिएको जनस्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत कामेश्वर चौरसियाले जानकारी दिए । ‘संक्रमित जहाँजहाँ बसेका छन्, त्यो क्षेत्रको समुदायमा संक्रमण भए नभएको जाँच गर्न र्‍यापिड टेष्ट गर्ने तयारी भइरहेको छ’ उनले भने, ‘भोलिबाट काम शुरु हुन्छ ।’

त्यसका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट आएको टोली, जिल्ला जनस्वास्थ्य कार्यालय पर्सा, वीरगञ्ज महानगरपालिका र नारायणी अस्पतालका स्वास्थ्यकर्मी टोली परिचालन हुनेछन् ।

नारायणी अस्पतालमा ७ सय र जनस्वास्थ्यमा ५ सय थान र्‍‍यापिड टेष्ट किट रहेकाले किटको अभाव नहुने दावी उनको छ ।

जिल्ला जनस्वास्थ्यले पर्साको ग्रामीण क्षेत्रमा क्वारेन्टाइनमा राखिएका व्यक्तिहरुको पनि र्‍यापिड टेष्ट गरिरहेको छ । बुधबारसम्म पर्साको पकाहामैनपुर, पर्सागढी, धोविनी, छिपहरमाईलगायत स्थानीय तहमा ४७ जनाको टेष्ट गरिएको र सबै रिपोर्ट नेगेटिभ आएको कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment