Comments Add Comment

घर-घरमा तरकारी पुर्‍याउँदै पैँचो पसल

४ वैशाख, बुटवल । बुटवलको पैँचो पसलले उपभोक्ताको घर‍‍-घरमा तरकारी पुर्‍याउन थालेको छ । टाढाका उपभोक्ताहरू सवारी साधन चलाएर पसलसम्म आउन नसकेपछि घर–घरमै तरकारी पुर्‍याउन थालिएको हो ।

बुटवलपूर्वका औद्योगिक क्षेत्र, पश्चिमका बेलबास, उत्तरका चिडियाखोला र दक्षिणका मंगापुरसम्मका उपभोक्तालाई निःशुल्क होम डेलिभरी सेवा सुरु गरिएको पैँचो पसल सञ्चालकले जनाएका छन् ।

पहाडी जिल्लामा उत्पादित तरकारी पैँचोले बुटवल ल्याएर सोझै र प्रशोधन गरेर बिक्री-वितरण गर्दै आएको छ । तरकारी तथा फलफूल थोक र फुटकर बिक्रीका लागि बुटवलमा वातानुकूलित तरकारी मार्ट र अन्य प्रशोधित उत्पादन बिक्रीका लागि डिपार्टमेन्टल स्टोर सञ्चालनमा छ ।

‘लकडाउनमा बाहिर निस्कन नपाएका उपभोक्ताको मागअनुसार तरकारी र अन्य खाद्यान्न घर–घरमा पुर्‍याइदिन थालेका हौँ,’ पैँचो पसलका व्यवस्थापक विष्णु भण्डारीले भने, ‘उपभोक्ताले कम्तीमा एक हजार रूपैयाँको सामान अर्डर गर्नुपर्छ, हामी निःशुल्क डेलिभरी दिन्छौँ ।’

उपभोक्ताले तरकारी र अन्य खाद्यान्नको माग टेलिफोनमार्फत गर्नसक्ने र अर्डर गरेको एक घण्टाभित्रै कर्मचारीमार्फत घरघरमा पुर्‍याउन सकिने व्यवस्थापक भण्डारीले बताए । सामानको मूल्य बुझ्न र अर्डर गर्न पैँचो पसलको फेसबुक पेजमा राखिएका मोबाइल नम्बरमा सम्पर्क गर्न सकिने उनले बताए ।

पसलले आफ्नै मोबाइल एप पनि बनाउन थालेको र दुई-तीन दिनभित्र एप बनेपछि हरेक दिन उपलब्ध तरकारी, खाद्यान्न र तिनको मूल्य सूची राखेर उपभोक्तालाई सहज बनाइने पैँचो पसलका सञ्चालक शरण कर्माचार्यले बताए । नजिकका उपभोक्ताका लागि भने सुख्खानगरको पसलबाटै सामाजिक दुरी कायम गरेर तरकारी र खाद्यान्न बिक्री गरिरहेको उनले बताए ।

पैँचो पसलले गुल्मी, अर्घाखाँची, पाल्पा, रुकुम, रोल्पा, जुम्लासम्मका करिब ६० हजार किसानले उत्पादन गर्ने तरकारी, फलफूल र अन्य कृषि उपज ५० वटा संकलन केन्द्रमार्फत बुटवलमा ल्याएर बिक्री गर्ने गरेको छ ।

पसलले लकडाउनको अवधिमा पनि दैनिक छदेखि आठ टन तरकारी बिक्री गर्ने गरेको सञ्चालक कर्माचार्यले बताए ।

४० जना साझेदार र २३ करोड लगानी पुगेको पसलले वार्षिक ३० करोड रुपैयाँको कारोबार गर्छ भने चार सय जनालाई प्रत्यक्ष रोजगारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment