Comments Add Comment

राष्ट्रियसभा उपाध्यक्ष र प्रदेशका उपसभामुखबीच भिडियो कुराकानी

४ वैशाख, काठमाडौं । राष्ट्रियसभाकी उपाध्यक्ष शशीकला दाहालले कोरोना रोकथामबारे सातवटै प्रदेश सभाका उपसभामुखहरुसँग भिडियो कन्फरेन्समा कुराकानी गरेकी छन् ।

सिंहदरवारस्थित संसद सचिवालयबाट उनले कोरोना भाइरस (कोभिड–१९) रोकथाम, नियन्त्रण र उपचारका लागि सम्बन्धित प्रदेश सरकारले गरिरहेका कार्य, प्रदेशसभाको समन्वय लगायतका बिवषयमा प्रदेशसभाका उपसभामुखहरुसँग भर्चुअल संवाद गरेकी हुन् ।

राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनाले सभामुखहरुसँग भिडियो संवाद गरेको भोलिपल्ट उपाध्यक्षले पनि उपसभामुखसँग कुराकानी गरेकी हुन् ।

कसले के भने ?

राष्ट्रिय सभाका उपाध्यक्ष दाहालले प्रदेश र स्थानीय तहसँग समन्वय गरेर कोरोना भाइरसको रोकथाम, नियन्त्रण र उपचारका लागि योगदान गर्न उपसभामुखहरुलाई आग्रह गरिन् ।

‘प्रदेश सरकार, प्रदेश माननीय र स्थानीय तहका जनप्रतिनिधिसँग नजिकमा रहेर काम गर्नुहोस्’ उनले भनेकी छन् । उपाध्यक्ष दाहालले विपदका बेला महिला हिंसाका घटना बढ्ने र महिलाहरु पीडित हुन सक्ने भन्दै सचेत रहन उपसभामुखहरुलाई आग्रह गरिन् ।

प्रदेश १ कि उपसभामुख सरस्वती पोखरेलले लकडाउनलाई प्रभावकारी बनाउनुपर्ने र लकडाउनमा समस्या परेकाहरुको विषयमा पनि सोच्नुपर्ने बताइन् ।

प्रदेश २ कि उपसभामुख उपमाकुमारी देवले कोरोना संक्रमणविरुद्ध लड्न सबैको साथ बराबर हुनुपर्ने बताइन् । ‘तर, समन्वयको अभाव देखिएको छ’ उनले भनिन् ।

वाग्मती प्रदेशका उपसभामुख राधिका तामाङले कोरोना संक्रमण परीक्षणलाई तीब्रता दिनुपर्ने बताइन् । ‘अहिलेको अवस्थामा परीक्षण गर्दा लामो समय लाग्न सक्दछ । सम्भावित व्यक्तिको परीक्षण सकिएपछि मात्रै ढुक्क हुने अवस्था आउन सक्छ’ उनले भनिन् ।

गण्डकी प्रदेशका उपसभामुख सिर्जना शर्माले लकडाउन पालना गर्नु र गराउनु सबैको दायित्व भएको उल्लेख गरिन् ।
प्रदेश ५ का उपसभामुख कृष्णी थारुले आफूहरुले दिएका सुझाव संघीय सरकारले सुन्नुपर्ने बताइन् ।

कर्णाली प्रदेशका उपसभामुख पुष्पा घर्ती विष्टले कोरोना परीक्षणलाई तीब्र दिएर संक्रमित अब छैनन् भनेर आम सर्वसाधारणलाई ढुक्क बनाउनुपर्ने बताइन् ।

सुदूरपश्चिम प्रदेशका उपसभामुख निर्मला बडाल जोशीले सुदूरपश्चिमका पहाडी जिल्लामा चिकित्सकको अभाव रहेको उल्लेख गर्दै तत्कालै चिकित्सक पठाउन जरुरी रहेको बताइन् । मेडिकल सामग्रीको अभाव तत्कालै अन्त्य गर्नुपर्ने उनको सुझाव छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment