
४ वैशाख, वीरगञ्ज । कोरोना संक्रमित तीन जना भारतीय नागरिकको सम्पर्क भएको क्षेत्रका २ सय ९० जनाको र्यापिड टेस्ट गर्दा एन्टीबडी नेगेटिभ आएको छ ।
वीरगञ्ज महानगरपालिका–२ छपकैयास्थित मक्की जामे मस्जिदमा बस्दै आएका उनीहरुमा संक्रमणको स्रोत पत्ता लागेको छैन ।
यसले गर्दा समुदायमा नै संक्रमण फैलिएको हो कि भन्ने आशंका भइरहेको छ । संक्रमितको ट्राभल हिस्ट्रि खोज्ने र कन्ट्याक्ट ट्रेसिङको काम चलिरहेको छ ।
सँगसँगै बुधबारबाट संक्रमित व्यक्तिहरु बसेको क्षेत्रमा र्यापिड डाइग्नोस्टिक टेष्ट (आरडिटी) शुरु गरिएको छ । विश्व स्वास्थ्य संगठन, स्वास्थ्य मन्त्रालय, जिल्ला जनस्वास्थ्य कार्यालयको टोलीले वीरगञ्ज महानगरपालिका वडा नं २ घुसुकपुर क्षेत्रमा र्यापिड टेष्ट शुरु गरेका हुन् ।
बुधबार साँझसम्म दुई सय ९० जनाको र्यापिड टेष्ट गरिएको र सबैको रिपोर्ट नेगेटिभ आएको जिल्ला जनस्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत कामेश्वर चौरसियाले जानकारी दिए । विभिन्न निकायका स्वास्थ्यकर्मीको टोली ४ वटा समूहमा बाँडिएर र्यापिड टेष्ट गरिएको थियो ।
समुदायमा संक्रमण फैलिएको हुन सक्ने आशंकामा र्यापिड टेष्ट शुरु गरिएको जनस्वास्थ्य विभागबाट खटिएका डा नरेन्द्रकुमार खनाल बताउँछन् । ‘तीन जना संक्रमित बसेको क्षेत्रमा र्यापिड टेष्ट शुरु गरेका छौं’ उनले भने ‘र्यापिड टेष्ट गरिसकेपछि रिपोर्टको आधारमा रणनीति बनाउँछौं ।’
कोरोना संक्रमित तीन जना पछिल्ला दिनमा बसेको वीरगञ्ज–२ छपकैया, वीरगञ्ज– १ छपकैया, सिसौवारी, र वीरगञ्ज– २६ अठराह सुगौली स्थित मस्जिद आसपासका क्षेत्रमा र्यापिड टेष्ट गर्न लागिएको छ । यी सबै क्षेत्रमा गरेर झण्डै ३५ सय र्यापिड टेष्ट हुने अनुमान गरिएको छ ।
भारतीय नागरिकलाई राखिएको ठाकुरराम बहुमुखी क्याम्पसमा पनि र्यापिड टेष्ट गरिएको छ । क्याम्पसमा राखिएका सबै भारतीय नागरिकको र्यापिड टेष्ट गर्न लागिएको सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले जानकारी दिए ।
‘ठाकुरराममा १ सय ८९ जना भारतीय नागरिकलाई राखिएको छ । उनीहरु सबैको र्यापिड टेष्ट गर्न लागिएको हो’ बस्नेतले भने ‘१ सय ५८ जनाको परीक्षण भइसकेको छ, सबैको रिपोर्ट नेगेटिभ छ । बेलुकासम्म सबैको जाँच सकिन्छ ।’
लकडाउनको समयमा काठमाडौं, भरतपुर, पोखरालगायत विभिन्न सहरमा ज्याला मजदुरी गर्दै आएका भारतीय नागरिक वीरगञ्ज आइपुगेका थिए । भारततर्फ पनि लकडाउन रहेका कारण उनीहरुलाई खान र बस्नको व्यवस्था मिलाएर ठाकुरराम बहुमुखी क्याम्पसमा राखिएको थियो ।
यसअघि पर्सामा १ सय ३६ जनाको र्यापिड टेष्ट भइसकेको छ । बुधबार जनस्वास्थ्य कार्यालयको टोलीले जिराभवानी र कालिकामाई गाउँपालिका स्थित क्वारेन्टाइनमा बस्दै आएका व्यक्तिहरुको पनि र्यापिड टेष्ट गरेको छ ।
सिल गरिएको क्षेत्रमा राहत वितरण
वीरगञ्ज महानगरपालिकाले सिल गरिएको क्षेत्रमा बसोबास गर्ने विपन्न वर्गका लागि राहत सामाग्री पठाएको छ । सिल गरिएको क्षेत्रमा १५ सय विपन्न समुदायलाई राहत वितरण गरिने महानगरपालिकाले जनाएको छ ।
त्यसका लागि महानगरपालिकाले १५ टन चामल, १५ सय किलो दाल, १५/१५ सय प्याकेट तेल र नुन, साबुन ३ हजार थान सिल गरिएको क्षेत्रमा पुर्याइसकेको छ । राहत वितरणको जिम्मा वडा अध्यक्षलाई दिइएको छ ।
प्रतिक्रिया 4