Comments Add Comment

राहतमा बाँडिएको दाल गुणस्तरहीन प्रमाणित

५ वैशाख, वीरगञ्ज । बाराको कलैया उपमहानगरपालिका २० मा वितरण गर्न लागिएको रहरको दाल गुणस्तरहीन रहेको पाइएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौंडामा परीक्षणको क्रममा दाल गुणस्तरहीन पाइएको हो ।

रहरको दालको प्राप्त नमुना नेपाल सरकारले तोकेको अनिवार्य गुणस्तर अनुरुप नपाइएको वरिष्ठ खाद्य अनुसन्धान अधिकृत एवं कार्यालय प्रमुख सोमकान्त रिजालले बताएका छन् । दालको नमुनामा जैविक पदार्थको मात्रा अत्यन्तै कम, किराले दानामा क्षति पुर्‍याएको र क्षतिग्रस्त दानाको मात्रा बढी देखिएको रिपोर्टमा उल्लेख छ ।

कलैया वडा नं. २० बसतपुरमा वितरण गर्न लागिएको रहरको दाल गुणस्तरहीन भएको गुनासो आएपछि एकसाता अघि प्रहरीले २५ बोरा दाल नियन्त्रणमा लिएको थियो ।

अनुसन्धानका क्रममा प्रहरीले दाल बिक्रीकर्ता यादव आइस एण्ड कोल्ड स्टोर्सको ठेगाना पत्ता लगाएको थियो । गत शनिबार तीन सय ८० बोरा दाल राखिएको कोल्ड स्टोर्समा सिल गरेर परीक्षणका लागि नमुना लिएर हेटौंडामा पठाइएको थियो ।

दाल गुणस्तहीन भएको रिपोर्ट आइसकेको र त्यसबारे थप अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी गौतम मिश्रले जानकारी दिए ।

‘हामीले नमुना संकलन गरेर पठाएको दाल चामलको रिपोर्ट आइसकेको छ । चामल ठिकै रहेको तर दाल गुणस्तरहीन खान अयोग्य पाइएको छ’ डिएसपी मिश्रले भने ‘यादव कोल्ड स्टोर्समा कसले राखेको हो, कसले खरिद गरेको हो ? कम गुणस्तरको सामग्री राहतमा वितरण गर्ने कार्यमा को को संलग्न छन ? अनुसन्धान शुरु गरेका छौं ।’

उपमहानगर र उद्योगको जुहारी

दाल बिक्री गर्ने पसल कलैया उपमहानगरपालिकाका नगरप्रमुख राजेश राय यादवकै भएको समाचारहरु पनि आएका थिए । तर नगर प्रमुख राजेश राय यादवले कोल्ड स्टोर्स आफ्नो नभएको स्पष्टिकरण दिइसकेका छन् ।

उनले २७ वटै वडा अध्यक्षहरुले आ–आफ्नो वडाको बजेटबाट राहत सामाग्री खरिद गरेर वितरण गरिरहेको र आफ्नो कुनै संलग्नता नरहेको बताउँदै आएका छन् ।

धनलक्ष्मी दाल मिल वीरगञ्जका सञ्चालक तेजकरण शर्माले आफ्नो मुन्सी गोल्डेन सिंहलाई पठाएर कोल्ड स्टोरमा दाल भन्डारण गरेको दावी नगर प्रमुख यादवको छ ।

धनलक्ष्मी दाल मिलले पनि विज्ञप्ति निकालेर २०७३ फागुन ४ गते यादव कोल्ड स्टोरमा ४३ हजार ७ सय ४० किलो रहरको गेडा र ५८ हजार किलो दाल पशु आहार बनाउन राखेको बताएको छ । कोल्ड स्टोर्समा राखेदेखि कतै पनि बिक्री नगरेको दावी उद्योग विज्ञप्ती मार्फत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

पूजाको आक्रोश

Advertisment