Comments Add Comment

युएईका नेपालीको गुनासो – कम्पनी जाऊ भन्छ, दूतावासले वास्ता गर्दैन

युएईस्थित नेपाली दूतावास ।

५ वैशाख, युएई । युएईको नेशनल सेक्युरिटी गार्डमा कार्यरत ३५ जना नेपाली अप्रिल १ तारिखदेखि बेरोजगार बनेका छन् । लाइफगार्डमा कार्यरत उनीहरु कोरोना संक्रमणको महामारीले काम रोकिएपछि कोठामै बस्न बाध्य भएका छन् ।

रोजगारीको भन्दा पनि उनीहरुमा अहिले कम्पनीले स्वदेश फर्कन दिइरहेको दवाबले चिन्ता थपिएको छ । नेपाल र युएई दुवैतर्फको हवाई उडान ठप्प छ । कम्पनीले सबैजनालाई २ महिनाको बिदा दिएको र यो विदामा नेपाल फर्कन भनेको ५ वर्षदेखि उक्त कम्पनीमा कार्यरत धादिङको युवकले बताए ।

‘सुपरभाइजरले अब घर जाने भए दूतावाससंग समन्वय गरेर घर जाने वातावरण बनाऊ भनेको छ, योे अवस्थामा हामी कसरी जाने ?’ उनले भने ।

कम्पनीले यहाँ रहेको आफ्नो दूतावाससँग समन्वय गरेर नेपाल जान भने पनि उनीहरु फर्कन नसक्ने बताउँछन् । अप्रिल महिनादेखि काममा नगएकाले तलब नआउने र आफूहरुसँग बाँकी पैसा पनि नभएको उनी बताउँछन् ।

उनीहरु हवाइ उडान खुल्नेवित्तिकै नेपाल फर्कने तयारीमा छन् । त्यसका लागि दूतावासले केही पहल गरोस् भन्ने अपेक्षा छ । कम्पनीले तत्कालका लागि दुई महिनाको विदा दिएको र यहाँको अवस्था हेरेर पछि पुन ःकाममा बोलाउने जनाएको छ । यही विषयको जानकारी गराउन उनीहरुले दूतावासले सामाजिक सञ्जाल र वेवसाइटमा राखेको टेलिफोन नम्बरमा सम्पर्क गरे । तर त्यो नम्बरको फोन उठेन । दूतावासका कर्मचारीको निजी फोन पनि नउठेको उनीहरुको गुनासो छ ।

एउटै क्याम्पमा बसेकामा उच्च जोखिम

आबुधाबीको मुसफास्थित ग्लोबल सेक्युरेटीमा कार्यरत ७ जना नेपाली कम्पनीले व्यवस्थापन गरेको क्वारेन्टाइनमा बसिरहेका छन् । उनीहरुले चैत २९ (अप्रिल) ११ मा कोरोना संक्रमण परीक्षण गराएका छन् । १० दिनपछि मात्र रिपोर्ट आउने अस्पतालले जनाएको छ ।

सोही क्याम्पमा रहेका अन्य ७ जनामा कोरोना संक्रमणको पोजेटिभ रिपोर्ट देखिएको त्यहीँ बस्दै आएका नाम उल्लेख गर्न नचाहने अर्का नेपालीले बताए । उनले भने, ‘अप्रिल १ तारिखमा ४ जनामा संक्रमण देखिएको थियो, पछि थप तीनजनामा संक्रमण देखिएको हो । संक्रमित भएकाहरु पनि यहीँ छन् । वासरुम, खाना खाने मेस एउटै हो । यस्तो अवस्थामा हामी सुरक्षित छैनौँ ।’

सेक्युरिटी गार्ड, क्लिनर, सुपरमार्केट, ट्याक्सी चालकहरु कम्पनीको क्याम्पमा बस्दै आएका छन् । कार्यस्थल र कोठामा धेरै व्यक्तिसँग बस्नुपर्ने हुँदा उनीहरुमा उच्च जोखिम छ ।

समस्या आउन दिदैनौं : दूतावास 

दुतावासको तथ्यांक अनुसार अहिलेसम्म युएईमा ११ जना नेपाली संक्रमित छन् । त्यसमध्ये दुईजना निको भएका दूतावासको भनाइ छ ।

दूतावासको तंथ्याकमा ११ जना मात्र भएता पनि संक्रमित नेपालीको संख्या निकै छ । कतिपयलाई कम्पनीले क्वारेन्टाइमा राखेको छ भने कतिपय सेल्फ क्वारेन्टाइनमा बसिरहेका छन् । हातमा कोरोना संक्रमण नभएको प्रमाणपत्र लिएर बसेकाहरु दूतावास गुहारिरहेका छन् । राजदुत कृष्णप्रसाद ढकालले समस्या परेमा दूतावासमा सम्पर्क गर्न आग्रह गरेका छन् ।

समस्यामा परेकाहरुको उद्धार गर्नुपरेमा यहाँको सरकारसँगको समन्वयमा पहल गरिने दूतावासले बताउँदै आएको छ । धेरै जनाले घर फर्कन चाहे पनि नेपाल सरकारले कुनै निर्णय नगरेका कारण नेपालीहरु द्विविधामा छन् ।

दुतावास पनि समस्यामा परेका कामदार फर्काउने सन्दर्भमा सरकारको निर्णय कुरेर बसेको छ ।

नेपालीका संघ संस्था मौन

यएईमा विभिन्न जिल्लाका नाममा ८० भन्दा बढी सामाजिक संस्था रहेका छन् । अन्य समयमा हप्तैपिच्छे सामाजिक काम र सांस्कृतिक कार्यक्रम गर्न अग्रसर हुने ती संस्था यो समयमा मौन देखिएका छन् । समस्यामा परेकाहरुको उद्धारमा जिल्लागतसंस्थाहरुले मात्र पहल गरे पनि केही राहत मिल्ने सरोकारवालाले मत राखेका छन् ।

तर जिल्लागत संस्थाहरुले दूतावाससँग समन्वय गर्नसमेत भुमिका नखेलेको समस्यामा परेकाहरुको गुनासो छ ।

एनआरएन र केही व्यक्तित पहलमा राहत वितरण

समस्यामा पर्ने नेपालीको संख्या अन्य राज्यको तुलनामा दुवईमा बढी छ । त्यहाँ गैरआवासीय नेपाली संघ (नेपाल एसोसिएसन) नेपाली समाज लगायतका संस्थाले राहत वितरण गरिरहेका छन् । यस्तै घर फर्कन चाहनेहरुको तथ्यांक संकलनसमेत भइरहेको छ । एनआरएनले अनलाइनमार्फत आह्वान गरेको आवेदनमा बिहीबारसम्ममा ५ हजार ५ सय जनाले घर फर्कने इच्छा जनाएर फारम भरेका छन् ।

यस्तै आबुधाबीमा गायक प्रकाश पौडेल, सामाजिक अभियन्ता महेश श्रेष्ठ , कृष्ण गौतमलगायतको पहलमा समस्यमा परेकाहरुको उद्धारका लागि राहत संकलन भइरहेको छ ।

समस्यामा परेका नेपालीको उद्धारमा सबै सामाजिक संस्था लाग्नुपर्र्ने गायक पौडेलले बताए । उनले भने, ‘यो समय सबै जुटेर लाग्ने हो । आपतकालीन कोष खडा गरौँ, कोही पनि नेपालीलाई समस्या आउन नदिऔं । नेपाल फर्कन चाहनेहरु र संक्रमितहरुको उचित उपचारमा दूतावासले तल्काल कदम चालोस् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment