+
+

स्ट्रबेरी पाकेर राताम्य छन्, बजार छैन

रोयल आचार्य रोयल आचार्य
२०७७ वैशाख ६ गते ११:२६

६ वैशाख, काठमाडौं । गीता रिजालले बहिनी पार्वतीसँग मिलेर भक्तपुरको सिरुटारमा तरकारी खेती गरेको सात वर्ष भयो ।

रिजाल दिदीबहिनीलाई व्यवसायिक तरकारी खेती फापेको छ । १० रोपनी जग्गा भाडामा लिएर तरकारी फलाउँदै गीताले स्नातकोत्तर सकिन् भने पार्वती स्नातक अन्तिम वर्षमा छिन् । उनीहरूले भाइलाई समेत पढाइरहेका छन् । बस्नलाई उनीहरूले फार्मको बीचमा सानो छाप्रो बनाएका छन् ।

वार्षिक एकलाख ६० हजार रुपैयाँ भाडा तिर्नुपर्ने उनीहरूको फार्ममा अहिले स्ट्रबेरी पाकेको छ । तर, कोरोना भाइरस संक्रमण रोक्न देशभर लागु गरिएको बन्दाबन्दी (लकडाउन)का कारण रिजाल दिदीबहिनी फुर्सदिला बनेका छन् ।

‘लकडाउन अघि दिन बिराएर १०–१५ किलो टिप्दै बजार पठाउँदै गरेका थियौँ’, पार्वती भन्छिन्, ‘अहिले दिनदिनै टिप्दा पनि हुने भएको छ, तर टिपेर बेच्न नसकिने भयो ।’

अहिले कति जति पाकेको छ त ? उनले भनिन्, ‘एक सय केजी त सजिलै निस्किन्छ ।’

अनि टिप्नु पर्दैन ? उनको जवाफ छ, ‘टिपेर के गर्नु बिक्री पनि हुनपर्‍यो नि ।’

अनि हामी उनको पछि लागेर फार्मभित्र पस्यौँ । नभन्दै, लस्करै क्यारीमा लटरम्म स्ट्रबेरी पाकेर राताम्य बनेका रहेछन् । थोरै कोपिला, बाँकी सबै राताम्मे । भोलि छाडी पर्सिदेखि त यी स्वादिष्ट फलहरू कुहिन थाल्ने छन् । यहाँ यतिका फल पाकेका छन्, बन्दाबन्दीले व्यापारीहरूलाई किन्न आउन रोकेको छ । वरपरका गाउँहरूले प्रतिकिलो पाँच सयका दरले एकाध किलो किनेर सकिँदैन ।

गीताको व्यवसायिक उडान

रिजाल दिदीबहिनीको नजिकै अर्को फार्म पनि छ । सात रोपनीमा फैलिएको फार्म तरकारी लगाउन तयार अवस्थामा थियो । फार्मसँगैको घरमा बत्ती जडानको काम चलिरहेको थियो । त्यहाँ व्यस्त गीताले भनिन्, ‘यो हाम्रो दोस्रो फार्म हो, तर यहाँ तेस्रो साझेदार पनि हुनुहुन्छ ।’

गीता सुरुमा पढ्नका लागि काठमाडौं आएकी रहिछिन् । उनले भनिन्, ‘सुरुमा त जागिरको लागि भौतारिएँ । अरु नपाए भाँडा माझ्ने काम नै भए पनि गर्छु भन्ने सोचेर एउटा होटलमा पनि गएँ । तर, मलाई काम दिएनन् ।’

त्यसपछि उनले एउटा प्रोजेक्टमा काम पाएर तीन वर्ष बिताइन् । त्यसबाट नयाँ अनुभव भयो ।

त्यसपछि काकाको सल्लाह र सहयोगमा आफैँ व्यवसाय थालेको गीताले सुनाइन् । भक्तपुरमा जग्गा भाडामा लिएर तरकारी खेती सुरु गरिन् । राम्रो हुँदै गएपछि गाउँमा रहेकी बहिनीलाई पनि लिएर आइन् ।

उनले गोलभेडा लगायतका तरकारी खेती गर्दै आएकी थिइन् । वाग्मती प्रदेश सरकारको मातहतमा रहेको कृषि ज्ञान केन्द्रले निकालेको अनुदानको सूचना उनले थाहा पाइन् । गीता भन्छिन्, ‘अनुदान पाउँछु भन्ने आशा पनि थिएन, तै पनि मैले फारम भरेँ ।’

कृषि ज्ञान केन्द्रले उनको फार्मप्रति चासो देखायो र स्ट्रबेरी खेतीका लागि अनुदान दिने भयो । अझै उनलाई १८ लाख लगानी गरेको खेतीमा कति अनुदान आउला र भन्ने लाग्थ्यो । तर, प्रकृया पुरा गरेर पाँचलाख पाउँदा उनलाई राम्रै सहयोग पुग्यो ।

‘गोलभेडा जतिको ज्ञान–अनुभव स्ट्रबेरीमा थिएन’, गीताले भनिन्, ‘त्यो कारणले गर्दा एकै पटक ८० हजार बिरुवा किनेर सबै बचाउन सकिएन ।’ तर, बचेको जति बिरुवाले स्याहार राम्रो पायो । बन्दाबन्दी अघि प्रतिकिलो एक हजारदेखि १२ सय रुपैयाँमा धमाधम बिक्री भइरहेको थियो । ‘कालीमाटी पुर्‍याउन सके त अहिले पनि बिक्री हुन्थ्यो होला,’ गीता भन्छिन्, ‘मसँग साधन छ, तर पास छैन । ग्राहक–व्यापारी यहाँसम्म आउन पाउँदैनन् । लकडाउनले ‘ब्याडलक’ लगाइदियो ।

लेखकको बारेमा
रोयल आचार्य

आर्थिक पत्रकारितामा सक्रिय आचार्य मुलतः बैंक तथा वित्तीय संस्था, सेयर बजार र निजी क्षेत्रका विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?