+
+
Shares

महसुल नउठ्दा प्राधिकरणलाई नियमित खर्च धान्न समस्या

फागुन र चैतको विद्युत महसुल वैशाखभित्र तिर्दा जरिवाना नलाग्ने

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख ६ गते १३:५५

६ वैशाख, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले गत फागुन र चैतको विद्युत महसुल यही वैशाखभित्र तिरेमा जरिवाना नलाग्ने व्यवस्था गरेको छ ।

निर्धारित समयभित्र भुक्तानी नगरेमा जरिवाना लाग्ने व्यवस्था भएकोमा नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयअनुसार, फागुन र चैत महिनाको महसुल वैशाखभित्र तिरेमा जरिवाना छुट दिने निर्णय भएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । कार्यकारी निर्देशक घिसिङले लकडाउन अवधि लम्बिएमा सोहीअनुसार समयावधि थप हुने प्रष्ट पारे ।

विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड-१९)का कारण अर्थतन्त्रमा समेत गम्भीर असर परेको वर्तमान परिप्रेक्ष्यमा मन्त्रिपरिषद्को १६ चैतको बैठकले उपभोक्ताहरुलाई विद्युत् महसुल तथा विलम्बबापत लाग्ने जरिवाना एवं अतिरिक्त शुल्क छुट दिने निर्णय गरेको थियो ।

सोही निर्णयलाई कार्यान्वयन गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनको अध्यक्षतामा बसेको प्राधिकरण सञ्चालक समितिको २५ चैतको ८३० औं बैठकले जरिवाना छुट दिने निर्णय गरेको थियो । मन्त्री पुनले अनलाइनबाट तिर्न सक्नेले महसुल तिरेर प्राधिकरणको वित्तीय जोखिम न्यूनीकरणमा सहयोग गरिदिन आग्रह गरेका छन् ।

‘लकडाउनको विषम परिस्थितिका कारण सिंगल फेज मिटर रहेका घरायसी ग्राहकको घरघरमा गएर मिटर रिडिङ गर्न सकिरहेका छैनौँ, ग्राहकहरुले अघिल्लो महिनामा तिरेको रकम बराबरको महसुल प्राधिकरणका आय संकलन गर्न स्वीकृति प्राप्त विभिन्न आठवटा अनलाइन सेवाप्रदायकमार्फत भुक्तानी गर्न सक्नुहुन्छ । लकडाउन खुल्ला भएर अवस्था सामान्य बनेपछि मिटर रिडिङ गरी ग्राहकले अहिले तिर्नु भएको रकममा समायोजन गरिने छ,’ घिसिङले भने ।

उनले लकडाउनको विषम परिस्थितिमा ग्राहकवर्गलाई नियमित र भरपर्दो विद्युत् सेवाउपलब्ध गराउन हाम्रो टिम अहोरात्र खटिरहेको बताए । दैनिक सञ्चालन खर्च, खरिद गरिएको विद्युतको भुक्तानी लगायतलाई रकम आवश्यक पर्ने र महसुल समयमा संकलन नहुँदा न्यूनतम सेवा प्रवाहका लागि खर्च नै नपुग्ने गरी नगद प्रवाह जोखिम आउन सक्ने भएकाले यस्तो सम्भावित अवस्था आउन नदिन अनलाइनमार्फत महसुल भुक्तानीका लागि अनुरोध गरिएको घिसिङले बताए ।

‘ग्राहकहरूले प्राधिकरणलाई गर्दै आउनु भएको भरोसा र सहयोग यस्तो विषम परिस्थितिमा पनि निरन्तर रहने छ भन्ने विश्वास गरेका छौँ,’ उनले भने ।

प्राधिकरणले चैत र वैशाखको महसुल आगामी ६ जेठभित्रमा भुक्तानी गरेमा २ प्रतिशत छुट पाउने बताएको छ । यसअघि यस्तो छुट सुविधा बिलिङ भएको एक हप्ताभित्रमा महसुल तिरेमा मात्रै पाउने व्यवस्था थियो ।

प्राधिकरणले वर्तमान अवस्थामा ग्राहकको घरघरमा गई मिटर रिडिङ गर्न सक्ने अवस्था नरहेकोले सिंगल फेज ग्राहकहरूको चैत्र र वैशाखको बिल फागुनको बिलअनुसार नै गर्नेछ भने थ्रि फेज मिटर जडान भएको ग्राहकको हकमा सम्भव भएसम्म मिटर रिडिङ गरेर वास्तविक बिल गर्नेछ । सिंगल फेज ग्राहकहरूको यी महिनाहरुको बिलपछि वास्तविक रिडिङ गर्दा फरक पर्न गएमा सोहीअनुसार बिलमा मिलान गरिने छ ।

मन्त्रिपरिषद्को निर्णयका आधारमा प्राधिकरणले ग्राहक (सामुदायिक समेत) वर्गका एक सय ५० युनिटसम्म विद्युत् खपत गर्ने ग्राहकको हकमा गत चैत्र र यही वैशाखको बिलको इनर्जी शुल्क (न्यूनतम शुल्कबाहेक) मा २५ प्रतिशत छुट दिने निर्णय गरेको छ । चैत्र महिनाको यस्तो छुट रकम बिल नतिरेको ग्राहकको हकमा बिलमा नै मिलाउने छ भने बिल तिरिसकेका ग्राहकको हकमा वैशाखको बिलमा मिलान गरिनेछ ।

वैशाखको महसुल तिर्न लकडाउनका कारण समस्या सिर्जना हुने अवस्था आएमा सरकारले जरिवाना नलाग्ने गरी थप निर्णय गर्ने सम्भावना पनि छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?