Comments Add Comment

मुटु नभएका नेताले भन्नेछन्, ‘फर्गेट एस्टर्डे’

भोलि चुनावका बेला ।

अबीर र मालाले अनुहार छोपेका नेताहरु आउनेछन् । तपाईं जहाँ हुनुहुनेछ, त्यहीँ आउनेछन् । घरभित्र, बारीमा, गोठमा, मेलापातमा, हाटबजारमा ।

धनुष्टंकार शैलीमा निहुरिनेछन् । नमस्कार टक्र्याउनेछन् । अनि भन्नेछन्, ‘हिजो जे भयो, भयो । फर्गेट एस्टर्डे ।’ उनी यत्तिमै रोकिने छैनन् । अरु विनयी मुद्रामा भन्नेछन्, ‘तपाईंको दुःख र अभाव बुझेको छु । अब तपाईंको भान्सामा सुख र समृद्धिको थुप्रो लाग्नेछ । मलाई जिताउनुहोस् ।’

त्यस क्षण तपाईं फ्ल्यास ब्याकमा फर्कनुहुनेछ ।

रोग र भोक खप्न नसकेर विचल्लीमा परेको । दुधे बच्चालाई काखी च्यापेर घण्टौं राहतको लाइनमा उभिएको । राहतमा कुहिएको चामल वा एक पोका नुन पाएको । भोक–भोकै रात कटाउन बाध्य भएपछि शहर छाडेको । थाप्लोमा कुम्लो बोकेर, रोगी लालाबाला डोहोर्‍याउँदै घण्टौं–घण्टौं हिँडेको ।

अनि ती नेताहरुको निर्दयी अनुहार देखेर तपाईंलाई झोंक चल्नेछ । सम्भवतः तपाईंले ‘लोपारिदिनुहुनेछ ।’ नाकको डाँडी भाँचिने गरी लोपार्नु नै हुनेछ । (त्यसो गर्नुभयो भने तपाईमाथि फौजदारी मुद्दा चल्न सक्छ)

****

शिव मुखिया

आफ्नो गाउँ सल्यान, कपुरकोट जान भनी काठमाडौंबाट पैदल हिँडेकी गर्भवती कमला घर्ती कहाँ पुगिन् होला ?

बिरामी छोरोलाई डोहोर्‍याउँदै काठमाडौंबाट सर्लाही हिँडेका गोविन्द उप्रेती कहाँ अलपत्र परिरहेका होलान् ?

मेलम्चीमा मजदुरी गरिरहेका विदेश यादवहरु खानेबस्ने उपाय नभएपछि घर हिँडे । मेलम्चीबाट पैदल हिँडेका उनीहरु के खाँदै, कहाँ बस्दै हिँडिरहेका होलान् ?

काठमाडौंबाट साइकलको पाइडल घुमाउँदै निस्किएका सेवालाल चौधरी सुनसरीको दुहबी पुगे/पुगेनन् होला ? गोरखामा ज्याला/मजदुरी गरिरहेका नेत्रराम चौधरीहरु सैयौं किलोमिटर दुरी छिचोलेर कहिले कैलालीस्थित घर पुग्छन् होला ?

चुनावका बेला हुँदो हो त नेताहरुले सर्वसधारणलाई ‘पाउकष्ट’ गर्नै दिने थिएनन् । यसरी हिँड्दा गोडा दुख्छ, पैतला फाट्छ, ओंठ–मुख सुक्छ, दुर्बलताले चक्कर लाग्नेछ भनी सहानुभूतिको ‘दुई शब्द’ पोख्ने थिए । अनि आफ्ना कार्यकता खटाएर गाडी उपलब्ध गराउने थिए । सर्बसाधारणले हिँड्नै पर्ने थिएनन्, गाडीमा आरमदायक सवारी गर्न पाउने थिए ।

यात्राका क्रममा ‘सञ्चो/बिसञ्चो’ सोधिने थियो । ठाउँ–ठाउँमा मासुभातको व्यवस्था हुने थियो । साँझ मदिरापान पनि उपलब्ध गराइने थियो । घरमा लालाबालाका लागि मिठाइ लगिदिनुपर्छ भनेर केही नगद पनि खल्तीमै टक्र्याइदिने थिए ।

दूर्भाग्य, चुनावको बेला परिदिएन ।

****

सरकार भन्छ, ‘घरभित्रै बस्नुहोस् ।’ सरकारलाई हेक्का हुन्न, लाखौं–लाख नेपालीको घरै छैन । घर भएकाहरु पनि रोजीरोटीका लागि मेलम्ची पुगेका छन्, मलेसिया पुगेका छन् । उनीहरु कहाँ बस्ने ?

बस्न त जसोतसो सडक पेटीमा, ट्रकको ट्रलीमा बसौंला । खाने के ?

पार्टी कार्यकर्ता चिनिएको छैन । घण्टौं पंक्तिबद्ध भएर पनि राहत पाइने हो/होइन । पाएको राहत पनि खान मिल्ने हो/होइन ? इमान र श्रमले खुम्चिएको पेटमा कुहिएको अन्न कसरी अटाउने ?

भोकको आयतन बढ्दै गएपछि उनीहरुले बुढी आमा सम्झिए । आफ्नो चुल्होमा पाकेको भात सम्झिए । घर सम्झिए, छिमेकी सम्झिए । गाउँ सम्झिए । ऐचोपैंचो गरेर भए पनि दुई छाक टार्न त सकिन्थ्यो ।

उनीहरुले आफुसँग भएको ओड्ने-ओछ्याउने, भाँडावर्तन पोको पारे । अनि कुम्लो बोकेर बाटो लागे । बाटोमा के खाने, कहाँसम्म पुग्ने, कहाँ बास बस्ने, कति दिन हिँड्ने ? कुनै टुंगो छैन ।

****

नेता–मन्त्रीलाई दशैं लागेको छ । छतमा अस्थायी चुल्हो बनाएर दाउरामा पकाएको भुटन पो खाने कि ? घरमै आएका पाहुनासँग तामासिक साँझ पो मनाउने कि ? औषधि–उपकरणबाट मिल्ने लाखौं–करोड रुपौयाँ पो थन्काउने कि ?

भ्याई/नभ्याई छ ।

हिजो जसले आफुलाई विश्वास गरे, जसले आफुमाथि भरोसा गरे, जसले दिनभर खटेर भोट हाले, जसले आफ्नो जीतमा उत्सव मनाए, उनीहरु कहाँ, कस्तो हालतमा होलान् ? नेता–मन्त्रीहरुले भुसुक्कै बिर्सिए ।

त्यसैले त उनीहरुले सर्वसाधरणसँग सोधेनन्, ‘तपाईंहरु कसरी बसिरहनुभएको छ ? के खाइरहनुभएको छ ? कसरी हिँडिरहनुभएको छ ?’

सत्ता र शक्तिको उन्मादमा रमाउनेहरुले आँखा देख्दैनन्, कान सुन्दैनन् । मुटु नै नभएपछि यी इन्द्रीयहरु निर्जीव हुन्छ । तर, सत्ताको घेरा बाहिर बसेर ‘इमोशनल ब्ल्याकमेलिङ’ गरिरहेका थापा, देउवा, भट्टराईहरुको पनि मुटु गायब छ । ‘सरकारले यो गरेन, त्यो गरेन’ भन्दै मौकामा चौका हानिरहेका उनीहरुको मुटुको स्पन्दन पक्कै चल्दैन । यदि चल्ने थियो भने, उनीहरुले अरुका लागि गुहार माग्ने थिएनन्, आफै सडकमा आउने थिए । सेवा र सहयोगमा खटिन्थे ।

चुनावका बेला धनाढ्यहरुसँग चन्दा उठाएर लाखौं–करोडौंको प्रचार सामग्री छाप्न सक्ने, जताततै गाडीको सुविधा दिनसक्ने, भोज–भत्तेर ख्वाउन सक्नेहरु अहिले किन अर्काको मुख ताकेर बसेका छन् ?

यी छेपारेहरुको चेपारे पारा अब सर्वसाधरणले बुझिसकेका छन् । भोलि चुनावका दिन उही बासी अनुहार लिएर जब यिनीहरु सर्वसाधारणको ढोकामा उभिनेछन्, सर्वधारणले लोपारिदिनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment