
६ वैशाख, विराटनगर । तेह्रथुम र सुनसरीमा र्यापिड डाइग्नोष्टिक टेष्ट (आरडीटी) विधिबाट कोरोना परीक्षण गर्दा दुई जनामा एन्टीबडी पोजेटिभ देखिएको छ ।
शनिबार तेह्रथुमको मेन्छयेम गाउँपालिकाका पुरुष र सुनसरीको हरिनगर गाउँपालिकाका पुरुषमा कोरोना एन्टीबडी पोजेटिभ देखिएको प्रदेश १ का सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा. सुरेश मेहताले जानकारी दिए ।
सुनसरीका पुरुषलाई धरानको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ भने तेह्रथुमका व्यक्ति तेह्रथुम जिल्ला अस्पतालको आइसोलेसनमा छन् । ‘तेह्रथुम र सुनसरीमा आरटीडी गर्दा पोजेटिभ देखिएको टेलिफोनमा जानकारी आएको छ’ मेहताले उनले भने ।
उनका अनुसार सुनसरीका एक जनामा दुई पटक टेष्ट गर्दा पहिलो पटक गर्दा पोजेटिभ देखिए पनि दोस्रो पटक परीक्षण गर्दा नेगेटिभ देखिएको थियो । तर थप परीक्षणका लागि धरान पठाइएको हो ।
जिल्ला जनस्वास्थ्य कार्यालय तेह्रथुमका प्रमुख योगराज घिमिरेका अनुसार शनिबार एकजनाको एण्टीबडी पोजेटिभ देखिएको थियो । शंकास्पद भएपछि आडिटी पोजेटिभ देखिएका व्यक्ति र उनको परिवारलाई नै आइसोलेशनमा भर्ना गरिने उनले बताए ।
ती व्यक्तिका आफन्तलाई लिन जिल्ला अस्पताल ल्याउन एम्बुलेन्स पठाइएको छ । जिल्लामा ८ बेडको आइसोलेसन वार्ड छ । आइतबार चार जनाको थ्रोट स्वाब संकलन गरेर परीक्षणका लागि विराटनगर पठाइने घिमिरेले बताए ।
प्रतिक्रिया 4