Comments Add Comment

कोरोनालाई जितेर घर फर्किइन् बागलुङकी मनकुमारी

६ वैशाख, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित भएकी बागलुङकी ६५ वर्षीया मनकुमारी पौडेल निको भएर घर फर्किएकी छन् ।

शनिबार उनको रिपोर्ट नेगेटिभ आएपछि धवलागिरि अस्पतालले डिस्चार्ज गरेको हो । उनको तेस्रो र चौथो पटकको थ्रोट स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएको थियो ।

बागलुङ नगरपालिका–३ की उनलाई दुई साता होम क्वारेन्टाइनमा बस्न भनिएको छ । ‘उहाँ अझै केही समय होम क्वारेन्टाइनमै बस्नुहुन्छ’ धौलागिरि अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. शैलेन्द्र बि. पोखरेलले भने, ‘हामीले उहाँको स्वास्थ्य अवस्थाबारे घरमै रहेका बेलामा समेत बुझ्नेछौँ ।’

चैत ४ मा बेल्जियमबाट कतार एयरवेजको विमानबाट आएकी उनलाई कोरोना संक्रमण भएको २० चैतमा पुष्टि भएको थियो । त्यसयता उनको धवलागिरि अस्पतालमा उपचार भइरहेको थियो । तर, उनमा कोरोनाको लक्षण देखिएको थिएन ।

डिस्चार्ज भएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले आफ्नो आत्मविश्वासले कोरोनालाई जित्न सफल भएको बताइन् । ‘म यसलाई जितेरै छोड्छु, सञ्चो भएर छोड्छु भन्ने अठोट गरेँ’ उनले भनिन्, सबैभन्दा ठूलो हिम्मत र सकारात्मक सोच रहेछ ।’

उनले १५ वर्षदेखि दमको औषधि सेवन गर्दै आएकी थिइन् । त्यहीकारण कोरोना जित्न मुस्किल पर्छ कि भन्ने लागेको भन्दै उनले भनिन्, मैले हिम्मत हारिन । आत्मबल बढाउँदै लगे र अन्त्यमा कोरोनालाई जितेर घर फर्कने भएकी छु ।’

आफूले परिवारबाट अलग्गै बस्नाले अन्य सदस्यलाई सर्न नपाएको भन्दै उनले पूर्वसचेतना अपनाउनु पर्नेमा जोड दिइन् ।

घर फर्किने क्रममा उनले आफ्नो उपचारमा खटिने सबैलाई धन्यवाद समेत दिएकी छिन् ।

धवलागिरि अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. शैलेन्द्र बि. पोखरेलका अनुसार अस्पतालमा १९ वर्षीया युवती २० दिनदेखि कोरोना सङ्क्रमितका रुपमा उपचाररत छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment