+
+

प्रतिष्ठानसँगको विवादपछि दाङको साझा स्वास्थ्य पसल बन्द

विनोद घिमिरे विनोद घिमिरे
२०७७ वैशाख ७ गते १२:५२

७ वैशाख, काठमाडौं । औषधि पसलहरू अत्यावश्यक सेवामा पर्दछन् । त्यसैले कोरोना संक्रमण रोकथामका लागि गरिएको लकडाउनको समयमा पनि औषधि पसलहरू खुल्लै राख्न सरकारले आग्रह गरेको छ । तर, सरकारकै ६५ प्रतिशत स्वामित्व रहेको साझा स्वास्थ्य सेवाको औषधि पसल भने दाङको घोराहीमा एक सातादेखि बन्द छ । केन्द्र सरकार मातहतको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानसँगको विवादपछि सेवा बन्द भएको हो ।

लकडाउनको बेला साझा औषधि पसल बन्द भएपछि सस्तो दरमा अत्यावश्यक औषधि किन्नबाट बिरामी र तिनका आफन्त बन्चित भएका छन् ।

साझा स्वास्थ्य सेवाका निमित्त महाप्रवन्धक भरत प्रसाद ढकाल घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान परिसरमा रहेको औषधि बिक्री कक्ष बन्द हुँदा औषधि उपभोक्तालाई परेको असरबारे आफूहरू जानकार रहेको र समस्या समाधानका लागि पहल गरिरहेको बताउँछन् ।

वर्षौंदेखिको सेवा रोकियो

दाङ सदरमुकाम घोराहीमा पहिले ‘महेन्द्र अस्पताल’ थियो । अस्पतालसँग ०५५ मंसिर ७ गते भएको सम्झौता अनुसार साझाले अस्पताल कै भवनमा बिक्री कक्ष खोलेर सेवा सुरु गर्‍यो ।

अदालतमा मुद्दा विचाराधीन भएको बेला औषधि पसल बन्द हुनु दुःखद् भएको साझा स्वास्थ्य सेवाका निमित्त महाप्रवन्धक भरतप्रसाद ढकाल बताउँछन्

सो अस्पताल राप्ती उपक्षेत्रीय अस्पतालमा स्तरोन्नती भएपछि ०७३ देखि साझाले अस्पताल परिसरभित्र मूल गेटनजिकै आफ्नै लगानीमा भवन बनायो र त्यही भवनबाट औषधि उपकरण बिक्री गर्न थाल्यो ।

२०७४ साल असोजमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान बनेपछि राप्ती उपक्षेत्रीय अस्पतालको स्वामित्व प्रतिष्ठानमा हस्तान्तरण भयो । त्यसपछि प्रतिष्ठानले आफ्नो जग्गामा भवन बनाएको भन्दै साझाको औषधि बिक्री कक्ष खाली गराउन भन्यो ।

जग्गा प्रतिष्ठानको भए पनि एक कोठे भवन साझाले आफ्नै लगानीमा बनाएको छ । देशभर अस्पतालले उपलब्ध गराउने जग्गामा साझाले आफ्नै खर्चमा औषधि बिक्री कक्ष बनाउने गरेको छ ।

घोराहीमा जग्गा प्रयोग गरेबापत करसहित एक लाख २० हजार रुपैयाँ भाडा साझाले प्रतिष्ठानलाई तिर्दै आएको थियो । त्यसैले साझाले सो बिक्री कक्ष छोड्न मानेन । यही विवादबीच गत असार महिनादेखि प्रतिष्ठान र साझाबीचको सम्झौताको अवधि सकियो ।

पछिल्लो पटकको दुई वर्षे सम्झौता अवधि सकिएपछि पनि साझाले बिक्री कक्ष खाली नगरेको भन्दै प्रतिष्ठान जिल्ला अदालत पुग्यो । दाङ देउखुरी जिल्ला अदालतका न्यायाधीश हिमलाल बेल्बासेले दुवै पक्षलाई मिलापत्र गर्न भने । तर, प्रतिष्ठानकी उपकुलपति डा. संगीता भण्डारीले मानिनन् ।

अहिले साझा र प्रतिष्ठानबीचको मुद्दा जिल्ला अदालतमा विचाराधीन छ । अदालतमा मुद्दा विचाराधीन भएको बेला औषधि पसल बन्द हुनु दुःखद् भएको साझा स्वास्थ्य सेवाका निमित्त महाप्रवन्धक भरत प्रसाद ढकाल बताउँछन् ।

जब स्यानिटाइजिङ टनेल बन्यो

नेपालमा पनि कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले अस्पतालभित्र प्रवेश गर्नेहरूको शरीरमा अटोमेटिक औषधि छर्किने प्रविधियुक्त स्यानिटाइजिङ मेसिन जडान प्रक्रिया सुरु गर्‍यो ।

स्यानिटाइजिङ मेसिन जडानका लागि सहयोग गरिदिन आग्रह गर्दै प्रतिष्ठानले साझालाई २०७६ चैत २८ गते पत्र लेख्यो । साझा स्वास्थ्य सेवाले घोराही बिक्री कक्षको उत्तरतर्फको दुईवटै झ्याल अवरोध नहुने गरी स्यानिटाइजिङ मेसिन जडान गर्न सकिने व्यहोरासहित प्रतिष्ठानलाई जवाफ पठायो । तर, प्रतिष्ठानले साझाको औषधि बिक्री कक्षका दुवै झ्याल अवरोध हुने गरी स्यानिटाइजिङ मेसिन राखिदियो । यसैलाई कारण देखाउँदै साझा स्वास्थ्य सेवाले घोराहीको औषधि बिक्री कक्ष बन्द गर्‍यो ।

साझा स्वास्थ्य सेवा शाखा कार्यालय दाङका प्रमुख बेलबहादुर पौडेलले अनलाइनखबरसँग भने, ‘औषधि किन्नेहरूका लागि बनाइएका झ्यालहरू नै बन्द हुने गरी स्यानिटाइजिङ मेसिन राखिदिएकाले हाम्रो सेवा रोकियो । स्यानिटाइजिङ मेसिन राख्नका लागि प्रशस्त ठाउँ थियो, हाम्रा झ्याल नै बन्द गर्नुपर्ने थिएन ।’

साझा स्वास्थ्य सेवाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई पत्र लेखेर पूर्ववत रुपमा सेवा प्रवाहको व्यवस्था गरिदिन अनुरोध गरेको छ । साथै स्वास्थ्य सेवा विभाग टेकुलाई पनि पत्र लेखेर समस्या समाधानका लागि सहजीकरण गरिदिन साझा स्वास्थ्यको घोराही शाखाले आग्रह गरेको छ ।

साझाको संरचना

सहकारी नियमावली २०७५ को दफा ७७ अनुसार साझा स्वास्थ्य सेवामा नौ सदस्यीय सञ्चालक समिति हुन्छ । यसमध्ये अध्यक्षसहित चार जना साधारण सेयर सदस्यका प्रतिनिधि चुनिन्छन् भने विभिन्न मन्त्रालयबाट चार जना सहसचिवस्तरका कर्मचारीहरु हुन्छन् । अर्का एक जना नेपाल सरकारबाट मनोनित सञ्चालक हुन्छन् । यसरी हेर्दा सरकारको ६५ प्रतिशत लगानी हुने साझा अहिले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानविरुद्ध सरकारसँगै हारगुहार गरिरहेको छ ।

हाल साझा स्वास्थ्य सेवाको अध्यक्ष नेकपाकै नेता गिरधारिलाल न्यौपाने छन् । अध्यक्ष न्यौपाने भन्छन्, ‘प्रतिष्ठानसँग सम्झौता नवीकरण गराउन सुरुमा हामी आफैँले पहल गर्दै आएका थियौँ। भेटघाट, भनसुन सबै गर्‍यौँ, तर गलत नियत नै राखेपछि के लाग्दो रहेछ र ।’

साझाले सिंहदरबारलाई गुहारेपछि सरकारको प्रतिनिधिको रुपमा प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाल प्रतिष्ठानमै पुगेर स्थलगत निरीक्षण गरेका थिए । साझालाई अवरोध नगर्न प्रजिअ रिजालले आग्रह गर्दा प्रतिष्ठानबारे स्वास्थ्य मन्त्रालयमा गलत रिपोर्टिङ गरेको बात लागेको जिल्ला प्रशासन कार्यालयका अधिकारीहरु बताउँछन् ।

प्रतिष्ठान के भन्छ ?

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान भने अस्पताल परिसरभित्र आफूलाई औषधि बिक्री कक्ष आवश्यक रहेकाले साझासँगको भाडा सम्झौता नवीकरण नगरेको बताउँछ ।

प्रतिष्ठानका कैलाश देवले अनलाइनखबरसँग भने, ‘हाम्रै कम्पाउन्डमा सम्झौता गरेर बसेपछि त सम्झौता सकिएपछि त आफैँ जानुपर्यो नि । नगएपछि के गर्ने त ?’

उनले प्रतिष्ठानलाई असहयोग गर्ने श्रृंखलाअन्तर्गत नै अहिले साझाको विषय उछालिएको दाबी गरे । ‘साझालाई औषधि बेच्न अहिलेकै ठाउँ किन चाहियो, अस्पताल बाहिर अर्को कुनै सटर लिएर बसे भइहाल्छ नि,’ उनले भने ।

साझा स्वास्थ्य सेवा घोराही शाखा प्रमुख बेलबहादुर पौडेलले भने पहिले पनि सम्झौता अवधि सकिइसकेपछि पनि नवीकरण हुने गरेको तर अहिले नवीकरण गर्न प्रतिष्ठानले नमानेको बताए ।

पौडेलले भने, ‘जेठसम्मको भाडा बुझाइसकेका थियौँ । असार, साउन र भदौ तीन महिनाको एकैचोटी बुझाउन म असोज महिनामा चेक लगेर प्रतिष्ठानमा गएँ, उहाँहरुले असारसम्मको मात्रै बुझ्छौँ भन्नुभयो । तर मैले चेक काटिसकेकाले लक्ष्मी बैङ्कको उहाँहरुको खातामा भदौसम्मकै भाडा जम्मा गरिदिएँ । पहिले पनि ढिलो नवीकरण हुँदै आएकाले यसपटक पनि होला भन्ने लाग्यो ।’

उनले थपे, ‘अहिले मैले असोजदेखि अहिलेसम्मको थप भाडाका लागि प्रतिष्ठानसँग लिखित चिठ्ठी मागेको छु । सम्झौता अवधि सकिइसकेपछि पनि भाडा किन तिरेको भनेर मैले संस्थामा जवाफ दिनुपर्छ, त्यसैले लिखित चिठी दिनुस्, बाँकी भाडा पनि तिर्छु भनेको हुँ ।’

प्रवृत्ति गलत

प्रतिष्ठानले आफूलाई भवन र जग्गा अपुग भएको बताउँदै आएको छ । तर, प्रतिष्ठान कार्यालय नजिकको जग्गा भने भाडामा लगाउन टेन्डर आह्वान गरिएको छ । त्यतिमात्रै होइन, प्रतिष्ठानको मुख्य गेटसँगैको आफ्नै स्वामित्वको भवनको सटर निजी मेडिकललाई भाडामा लगाइएको छ । प्रतिष्ठानले भने सो निजी मेडिकललाई सटर खाली गर्न निर्देशन दिइसकेको बताएको छ ।

साझा स्वास्थ्य सेवाका निमित्त महाप्रवन्धक भरत प्रसाद ढकाल दाङका जस्ता घटनालाई रोक्नुपर्ने बताउँछन् । उनले गलत प्रवृत्तिविरुद्ध सरकार निर्मम बन्नुपर्ने र जनताको सेयर रहेको साझा स्वास्थ्य सेवालाई प्रवर्द्धन गर्नुपर्ने बताए ।

‘कुन व्यक्ति वा प्रतिष्ठानले के गर्‍यो भन्ने ठूलो कुरा होइन, ठूलो कुरा त साझालाई असफल बनाउन खोज्ने प्रवृत्तिको हो,’ ढकालले भने, ‘साझा त समुदायलाई अरुभन्दा सस्तोमा औषधि बेच्ने संस्था हो । जनतालाई राहत दिने संस्थाको सरकारले संरक्षण गर्नुपर्छ ।’

उनले आशावादी हुँदै भने, ‘कोरोनाको संकटको बेला सरकारले बरामद गरेका मास्क बेच्न पनि हामीलाई नै भन्छ, अहिले थर्मल गन पनि हामीले नै बेचिरहेका छौँ। सरकारलाई अप्ठ्यारो परेको बेला साझाले सहयोग गरिरहेको छ भने साझालाई पनि सरकारले सहयोग गर्नुपर्छ र गर्छ भन्ने विश्वास छ ।’

दाङ जिल्लामा साझा स्वास्थ्य सेवाका घोराही, तुलसीपुर र लमहीमा गरी तीनवटा बिक्री कक्ष छन् । यी तीन शाखामा २२ जना कर्मचारीहरू कार्यरत छन् । घोराहीको बिक्री कक्ष बन्द भए पनि तुलसीपुर र लमहीबाट बिक्री जारी छ ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान परिसरमा रहेको घोराहीको बिक्री कक्षमा लाइफ सेभिङ ड्रगहरू सहित करिब ७० लाखको औषधि तथा उपकरणहरू रहेको शाखा प्रमुख पौडेल बताउँछन् ।

लेखकको बारेमा
विनोद घिमिरे

घिमिरे अनलाइनखबर डटकमका डेस्क सम्पादक हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?