+
+

लकडाउनमा पशुपन्छीका अन्नदाता

रोयल आचार्य रोयल आचार्य
२०७७ वैशाख ७ गते १५:१४

७ वैशाख, काठमाडौं । भारतमा कोरोना भाइरसबाट सबभन्दा प्रभावित मध्यप्रदेशको इन्दोरमा कुकुरले मान्छे टोकेको घटना बढेको भन्ने समाचार आफैँमा अचम्म लाग्दो थियो । लकडाउनका कारण खाना नपाएपछि सहरमा कुकुरले मान्छेलाई आक्रमण गर्न थालेको समाचारमा जनाइएको थियो ।

नेपालमा लकडाउन भएको एक महिना हुन लागेको थियो । पशुपति, स्वयम्भुलगायत ठाउँका बाँदर हुन् या सहरभरका कुकुर, काग, परेवाले आहारा पाउन छाडेका छन् । मान्छेको दैनिक गतिविधि ठप्प बन्दा पशुपन्छी भोकै पर्न थाले ।

के खाएर बाँचिरहेका छन् त मान्छेमा निर्भर तिनीहरू ? गत शुक्रबार पशुपतिनाथ मन्दिर पुग्दा पाँच–पाँच जनाको समूहले भिजाएको चना, पाकेको केरा, उसिनेको आलु लगायतका खानेकुरा बाँदरलाई बाँडिरहेको थियो । बाँदरहरूले यति आत्तिएर खाइरहेका थिए कि त्यसले तिनीहरू कति भोकाएका छन् भन्ने देखाउँथ्यो । आहारा बाँड्ने टोली अशक्त, सुत्केरी र साना बाँदरले पनि उत्तिकै आहारा पाउनेगरी बाँडिरहेका थिए ।

शनिबार मध्याह्न भृकुटीमण्डपमा पुग्दा कुकुरहरू यताउता गरिरहेका थिए । रुखमा काग कराउँदै उडिरहेका थिए । चालढाल हेर्दा तिनीहरू कसैको पर्खाइमा छन् भन्ने प्रष्टै देखिन्थ्यो । नभन्दै, हामी पुगेको केहीबेरमै एउटा गाडी आएर रोकियो । सारा कुकुर त्यही गाडीमा झुम्मिन पुगे ।

गाडीमा हामीले अघिल्लो दिन पशुपतिमा भेटेको समूह नै थियो । ‘स्नेहाज केयर’ लेखिएको कपडा लगाएका उनीहरू गाडीबाट फटाफट निस्केर कुकुरहरूलाई आहारा बाँड्न थाले । उनीहरूले कागलाई पनि अलग ढंगले चारा छरिदिए ।

उद्दारमा ‘स्नेहाज केयर’

पशुपन्छीको सुरक्षा र अधिकारका विषयमा काम गर्दै आएको संस्था स्नेहाज केयरले लकडाउन पछि भोका बनेका पशुपन्छी खोजीखोजी आहारा खुवाइरहेको रहेछ । आहारासँगै उद्वार र उपचारको व्यवस्था पनि गरेको छ ।

६ वर्षदेखि कृयाशील संस्थाकी प्रमुख स्नेहा श्रेष्ठका अनुसार, सडकबाट उद्वार गरिएका एक सय २६ वटा कुकुर र २६ वटा बाच्छाबाच्छीलाई भैँसेपाटीमा आश्रयस्थल बनाएर राखिएको छ । लकडाउनको बेला काठमाडौं, भक्तपुर र ललितपुरमा तीन वटा टोली बनाएर यसरी नै जाने गरिएको छ ।

यो काम सहज ढंगले गर्न भने नपाएको उनले बताइन् । ‘मान्छेको जस्तै पशुपन्छीको सुरक्षाबारे पनि सरकारले सोच्नुपर्ने हो’, श्रेष्ठ भन्छिन्, ‘तर यो काम हामी गर्छौँ भनेर अग्रसर बन्दा पनि सरकारले पास दिन आनाकानी गरेको छ ।’

तस्वीरहरुः चन्द्र आले/अनलाइनखबर

लेखकको बारेमा
रोयल आचार्य

आर्थिक पत्रकारितामा सक्रिय आचार्य मुलतः बैंक तथा वित्तीय संस्था, सेयर बजार र निजी क्षेत्रका विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?