Comments Add Comment

बेलायतमा कोरोनाबाट अस्पतालभन्दा स्याहार केन्द्रमा धेरैको मृत्यु

७ वैशाख, काठमाडौं । बेलायतमा कोरोना भाइरस (कोभिड-१९) को कारण अस्पतालभन्दा स्याहार केन्द्रमा धेरैको मृत्यु भएको हुन सक्ने एक अध्ययनले देखाएको छ ।

बेलायतको नेसनल केयर फोरम (एनसीएफ) ले बेलायतको स्याहार केन्द्र वा नर्सिङ होममा चार हजारभन्दा धेरै अशक्त तथा वृद्ध मानिसहरूको मृत्यु भएको बताएको छ ।

अहिले बेलायतमा वास्तविक मृतकको तथ्यांक माग भइसकेको समयमा यस्तो प्रतिवेदन सार्वजनिक भएको हो । एनसीएफले सरकारले सार्वजनिक गरेको तथ्यांक संकलनमा धेरै कमजोरी पाइएको बताएको छ ।

एनसीएफ बेलायतका होम केयर सेवा प्रदान गर्नेहरूको साझा संस्था हो । यसले मुलुकभरका स्याहार केन्द्रहरूमा रहेका ३० हजारभन्दा धेरै मानिसको तथ्यांक संकलन गर्दै आएको छ। यो संख्या मुलुकभर स्याहार केन्द्रमा बस्ने समग्र संख्याको सात दशमलव ४ प्रतिशत हो ।

एनसीएफका अनुसार केही स्याहार केन्द्रमा अप्रिल ७ देखि १३ सम्मको अवधिमा दुई सय ९९ कोरोना भाइरससँग सम्बन्धित मृत्यु भएको पाइएको थियो। यो आधारमा बेलायतको स्याहार केन्द्रमा मृत्यु हुनेको संख्या अत्यधिक रहेको देखिएको एनसीएफको निष्कर्ष छ ।

अप्रिल १३ सम्ममा बेलायतको स्याहार केन्द्रहरूमा भएको चार हजार ४० जनाको मृत्यु आधिकारिक तथ्यांकमा समावेश नगरिएको एनसीएफको आकलन छ ।

अहिलेसम्म बेलायतले दैनिक हिसाबमा सार्वजनिक गर्ने तथ्यांकमा केवल अस्पतालमा मृत्यु भएका मानिसको मात्र गणना गरिन्छ। अप्रिल ३ सम्म इंगल्याण्ड र वेल्समा केवल दुई सय १७ जनाको मृत्यु भएको मात्र आधिकारिक पुष्टि गरिएको थियो ।

तर, दुई बेलायती केयर होम प्रोभाडरले नै आफूलाई अहिलेसम्म चार सय ४२ जनाको मृत्यु भइसकेको थाहा भएको बताएका छन्। यसरी सरकारी तथ्यांक गलत रहेको समाचार बाहिर आउन थालेपछि अस्पतालभन्दा बाहिर कोरोना भाइरसको कारण मृत्यु हुनेको तथ्यांक सार्वजनिक गरिएको छैन ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment