
७ वैशाख, हेटौंडा । वागमती प्रदेशको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना महामारीको त्रास र लकडाउनको समयमा सरकार नै नभएको जस्तो अनुभूति भएको बताएको छ ।
संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले लकडाउनको समयमा जनताले सडकमा भोगिरहेको समस्या र दुःख सरकारले नदेखेको आरोप लगाएका छन् । आइतबार हेटौंडामा आयोजित पत्रकार सम्मेलनमा बानियाँले कोरोना भाइरसको संक्रमण रोक्न सरकारले चालेको कदम उपयुक्त भए पनि जनताले सडक र चुल्होमा भोगेको दुःखमा साथ दिन नसकेको आरोप लगाए ।
संघीय, प्रदेश र स्थानीय सरकार विपद्को समयमा जनअपेक्षा अनुसार काम गर्न नसकेको उनको भनाइ थियो । सरकारले पटक÷पटक थप्दै गरेको लकडाउका कारण समस्यामा परेका जनता हप्तौं लगाएर घर हिँडे पनि सरकारले उनीहरुको व्यवस्थापनमा काम गर्न नसकेको बानियाँले बताए ।
उनले भने ‘सरकार हिँडेर जानेलाई पनि रोक्नु भन्छ तर व्यवस्थापन गर्दैन, आम्दानी नहुनेहरुले दैनिकी कसरी गुजार्छन् ?’
नेता बनियाँले सरकार जतनाको समस्याका विषयमा जानकारी नभएको जसरी प्रस्तुत भइरहेको जिकिर गरे । प्रदेश र स्थानीय सरकारलाई संघले निन्द्राबाट ब्युँझाउन आवश्यक भएको उनले बताए ।
नेता बानियाँले राहत वितरणमा राजनीति नगर्न र सबै दलसँग सहकार्य गर्न सरकारलाई आग्रह गरेका छन् । उनले र्यापिड टेष्ट बढाउन र तत्काल पीसीआर मेसिन खरिद प्रक्रिया अगाडि बढाएर बढीभन्दा बढी मानिसको स्वास्थ्य परीक्षण गर्न पनि आग्रह गरे ।
अब वर्षाको मौसम सुरु भएको भन्दै प्राकृतिक प्रकोपसँग लड्नका लागि उपयुक्त तयारी थाल्नुपर्ने उनको भनाइ छ । ‘कोरोना भाइरस र प्राकृतिक प्रकोपसँग एकैपटक लड्नुपर्ने अवस्था आएको छ यो अवस्थामा दलबीच सहकार्य आवश्यक छ’ बानियाँले भने ।
प्रतिक्रिया 4