Comments Add Comment

काठमाडौंका मस्जिदहरूको अनुगमन, भेटिएनन् जमाती  

९ वैशाख, काठमाडौं ।  जमातीहरू रहेको हुन सक्ने भन्ने आशंकामा काठमाडौंका चार ओटा मस्जिदहरूमा अनुगमन भएको छ। काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य, मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारी, मानवअधिकार आयोगकी मोहना अन्सारी, प्रहरी नायब महानिरीक्षक (डीआइजी) विश्वराज पोखरेल लगायतको टोलीले रत्नपार्कस्थित नेपाली जामे मस्जिद, कास्मिरी मस्जिद र सुनधारा र स्वयम्भुस्थित भुइँखेलका मस्जिदहरूको अनुगमन गरेको हो ।

वीरगञ्ज-२ छपकैयास्थित जामे मस्जिदमा बस्दै आएका केहीमा कोरोना पोजेटिभ देखिएको थियो । त्यसको केही दिनपछि उदयपुरको भुल्केमा रहेको एउटै मस्जिदमा बस्दै आएका १६ जनामध्ये १२ जनालाई कोरोना संक्रमण पोजेटिभ देखिएको थियो ।

दुवै ठाउँका मस्जिदमै बसेकाहरूमा कोरोना पोजेटिभ देखिएपछि अन्य मस्जिदहरूमा पनि जमातीहरू बस्न सक्ने र उनीहरू कोरोना संक्रमित हुन सक्नेभन्दै विभिन्न सञ्चारमाध्ययममा समाचार आइरहेका बेला मुस्लिम समुदायको सबैभन्दा बढी भिडभाड हुने यी चार स्थानको अनुगमन गरिएको हो ।

काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले राजधानीका चार स्थानको अनुगमन गरेको र ती स्थानहरूको अवस्था सामान्य रहेको जानकारी दिए ।

‘वीरगञ्ज र उदयपुरका मस्जिदमा बसेका केहीमा कोरोना संक्रमण पुष्टि भएसँगै राजधानीका पनि विभिन्न मस्जिदमा जमातीहरू विनासूचना बसेका हुन सक्ने आशंकापछि आज रत्नपार्कस्थित नेपाली जामे मस्जिद, कास्मिरी मस्जिद र सुनधारा र स्वयम्भुस्थित भुइँखेलका मस्जिदको अनुगमन गरिएको छ,’ प्रमुख शाक्यले भने, ‘कतिपय सञ्चारमाध्यम र सामाजिक सञ्जालमा अहिले पनि ती मस्जिदहरूमा नवाज पढ्ने काम निरन्तर भइरहेको भन्ने आशंकालाई मध्यनजर गर्दै हामीले अनुगमन गरेका हौँ ।’

प्रमुख शाक्यले काठमाडौँ महानगरपालिकाले विभिन्न समयमा मनाइने घोडेजात्रा, सेतो मछिन्द्रनाथको रथयात्रा लगायतका जात्रा पर्वहरूलाई मौलिक परम्परा, संस्कृति र सम्पदाको जगेर्ना गर्दै भिडभाडमा ती जात्रापर्व नमनाउन यसअघि नै अपिल गरेको जानकारी दिँदै मस्जिदहरूमा पनि यो विषम परिस्थितिमा नवाज पढ्ने लगायतलाई स्थगन गर्न पहिल्यै आग्रह गरेको जानकारी दिए ।

‘हामीले पहिल्यै सम्बन्धित निकायसँग आग्रह गरेका थियौँ,’ उनले भने, ‘आज हामीले अनुगमन गर्दा पनि त्यस्तो भिडभाड गर्ने, नवाज पढ्ने गरेको अवस्था देखिएन । दुई ओटा मस्जिदमा धर्मगुरु, नियमित सरसफाइ गर्ने, खाना बनाउने लगायतका काम गर्ने आठ/आठ जना मात्रै रहेको पाइयो । सुन्धारा र स्वयम्भुमा त अझ त्योभन्दा कम संख्यामा रहेको पाइयो ।’

उनले बाहिरबाट कोही नयाँ व्यक्ति मस्जिदमा आएको जानकारी पाउनेबित्तिकै वडाका जनप्रतिनिधि वा प्रहरीलाई खबर गर्न आग्रह गरेको पनि जानकारी दिए ।

‘मुस्लिम आयोगका अध्यक्ष लगायतले पनि नियमित बस्नेबाहेक कसैलाई प्रवेश नदिएको र नियमित शुक्रबार नवाज पढ्ने कुरालाई पनि सूचना टाँसेर नै स्थगन गरेको जानकारी दिनुभयो,’ प्रमुख शाक्यले भने,’अनुगमनका क्रममा त्यहाँ देखिएको सुनसान अवस्थाले पनि महानगरवासीलाई ढुक्क हुने वातावरण निर्माण भएको छ ।’

मस्जिदमा टाँसिएको सूचना

मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले पनि उपत्यकामा सबैभन्दा बढी मुस्लिम समुदायको भिडभाड हुने चार मस्जिदको अनुगमन गरेको जानकारी दिए।

‘आज हामीले नेपालको सबैभन्दा ठूलो र पुरानो जामे मस्जिदसँगै अन्य तीन मस्जिदको अनुगमन गरेका छौँ,’ अध्यक्ष अन्सारीले भने, ‘विभिन्न सञ्चारमाध्ययममा समाचार आएपछि मुस्लिम आयोगले मेरो अध्यक्षतामा पूर्वमन्त्री, मानव अधिकार आयोगका सदस्य, धर्मगुरु लगायत रहेको सात सदस्यीय केन्द्रीय अनुगमन समिति बनाएको छ । त्यो समितिले निरन्तर अनुगमन गरिरहेको छ ।’

उनले अनुगमनकै लागि उपत्यकामा समेत समिति बनाएको र त्यसले पनि निरन्तर अनुगमन गरिरहेको जानकारी दिए । ‘जामे मस्जिदमा मात्रै नियमित शुक्रबार करिब छदेखि आठ हजार नवाजीहरू आउने गर्नुहुन्थ्यो । स्वयम्भुको मस्जिदमा पनि २/३ हजार नवाजी आउने गर्नुहुन्थ्यो । सुन्धारामा पनि चार-पाँच सय आउने गर्नुहुन्थ्यो । अहिले ती चार वटै मस्जिद सुनसान छन् । दैनिक काम गर्ने र धर्मगुरु बाहेक कोही पनि छैनन् । बाहिरबाट आउने कसैलाई पनि त्यहाँ प्रवेश दिइएको छैन,’ उनले भने ।

अनुगमनका क्रममा लकडाउन अवधिभर कसैलाई पनि प्रवेश नदिन, पाहुनालाई पनि बास नदिनु, नवाज पढ्न आउनेलाई पनि गेट नखोल्नु भनी पुनः निर्देशन दिएको भन्दै लकडाउनको पूर्ण पालना भएको उहाँले जानकारी दिए ।

‘अनुगमनपछि म मुस्लिम आयोगको अध्यक्षको नाताले पनि सबैलाई ढुक्कका साथ भन्नसक्छु, अहिलेको अवस्थामा उपत्यकाका कुनै पनि मस्जिदमा जानकारी नदिई कोही पनि बसेको छैन,’ उनले भने, ‘भारत र पाकिस्तानबाट आएर उपत्यकामा रहनुभएका जमाती पनि अहिले लकडाउनको पूर्ण पालना गर्दै जिल्ला प्रशासन र वडा कार्यालयको निगरानीमा क्वारेन्टाइनमा बस्नुभएको छ । कुनै पनि जमाती विनाजानकारी बस्नुभएको छैन । सबैले लकडाउनको पालना गर्नुपर्छ । अहिलेको महामारीमा देशलाई जोगाउनु सबैभन्दा ठूलो कुरा हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment