
कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणको लागि विश्वभर लगाइएको लकडाउनको कारण नेटफ्लिक्समा उल्लेख्य संख्यामा प्रयोगकर्ता बढेका छन् ।
नेटफ्लिक्सका अनुसार सन् २०२० को पहिलो त्रैमासमा एक लाख ६० हजार मानिसले आफ्नो खाता खोलेका छन् ।
सन् २०१९ को अन्तिम तीन महिनाको तुलनामा यो संख्या करिब दोब्बर हो । यद्यपि कम्पनीले विश्वभर सबैजसो फिल्म निर्माणको कार्य रोकिएको बताएको छ ।
विश्वभर अमेरिकी डलरको तुलनामा अन्य मुलुकको मुद्रा कमजोर बनेकाले कम्पनीको कम्पनीको अन्तर्राष्ट्रिय आम्दानीको वृद्धि भने प्रभावित बन्न पुगेको छ । यद्यपि, यस वर्ष मात्र नेटफ्लिक्सको सेयरको भाउ भने ३० प्रतिशतभन्दा धेरैले बढिसकेको छ ।
विश्लेषकले नेटफ्लिक्सको सेवा घरभित्र रहेका मानिसहरूलाई उपयुक्त हुने किसिमको रहेकाले प्रयोगकर्ताको संख्या बढेको बताएका छन् । पछिल्लो समय नेटफ्लिक्सको माग पनि बढेको छ ।
कम्पनीले बढ्दो माग व्यवस्थापनको लागि गत महिना दुई हजार कस्टुमर सपोर्टको लागि कर्मचारी भित्र्याएको थियो । साथै इन्टरनेट सेवा प्रदायकमाथि परेको दबाब कम गर्न भन्दै उसले भिडियोको क्वालिटी पनि घटाएको थियो ।
नेटफ्लिक्सका अनुसार अबको तीन महिनामा थप ७५ लाख ग्राहक थपिने कम्पनीको विश्वास छ । यद्यपि, लकडाउन खुलेसँगै ग्राहकको संख्यामा पनि कमी आउन सक्ने चेतावनी दिइएको छ ।
नेटफ्लिक्सले अहिले फिल्म निर्माणमा कमी आए पनि आगामी दिनमा अन्य धेरै फिल्म किन्ने योजनामा रहेको बताएको छ ।
स्रोत : बीबीसी
प्रतिक्रिया 4