Comments Add Comment

दैनिक १० हजार बोतल स्यानिटाइजर उत्पादन गर्दै औषधि लिमिटेड

१० वैशाख,काठमाडौं । नेपाल औषधि लिमिटेडले दैनिक १० हजार बोतल ‘ह्याण्ड स्यानिटाइजर’ उत्पादन गरिरहेको जनाएको छ । नेपालमा लकडाउनको अवस्थामा चरम अभाव रहेको स्यानिटाइजरको सहजताका लागि लिमिटेडले गत चैत २ गतेदेखि उत्पादन थालेको हो ।

औषधि लिमिटेडका निमित्त महाप्रवन्धक विजय श्री रत्न बज्राचार्यले कोभिड-१९ का लागि चाहिने अत्यावश्यक ह्याण्ड स्यानिटाइजर उत्पादन गरिरहेको जानकारी दिए । उनका अनुसार अहिले विभागले दैनिक आठदेखि १० हजार ह्याण्ड स्यानिटाइजर उत्पादन गरिरहेको छ भने पाँचदेखि छ हजार बिक्री वितरण भइरहेको छ । विभागले एक सय एमएल बोलतको स्यानिटाइजर उत्पादन गरिरहेको हो ।

लिमिटेडसँग दैनिक २० हजार उत्पादन गर्ने क्षमता छ । तथापि कच्चा पदार्थ र जनशक्तिको अभावले आवश्यक मात्रामा उत्पादन गर्न सकेको छैन । सिटामोल र जीवनजल उत्पादन गर्दै आएको लिमिटेडले लकडाउनको अवस्थामा बजारको अभावलाई पूर्ति गर्न स्यानिटाइजर उत्पादन थालेको हो । उत्पादित स्यानिटाइजर बजारमा राम्रोसँग बिक्री वितरण भइरहेको छ ।

विशेषगरी सरकारी कार्यालय, विभिन्न निकाय विभागले उत्पादन गरेको स्यानिटाइजर उपभोग गरिरहेका छन्। धेरै कार्यालय तथा निकाय विभागकै बिक्री वितरण कक्षमा आएर आवश्यक स्यानिटाइजर लैजाने गरेका छन् भने कतिपय औषधि खरिदकर्ताले विभागबाट खरिद गरेर बिक्री वितरण गरिरहेको विभागले उल्लेख गरेको छ ।

‘हामीले कति स्यानिटाइजर कति उत्पादन गर्ने भन्ने बजारले निर्धारण गर्छ । हामीसँग अहिले एक सय एमएलका २० हजार बोतल उत्पादन गर्ने क्षमता छ। करिब छ हजार बोतल बिक्री वितरणका लागि आठदेखि १० हजार बोतल फिलिङ गरिरहेका छौँ’, निमित्त महाप्रवन्धक बज्राचार्यले भने ।

लकडाउनका कारण स्यानिटाइजर उत्पादन तथा उपभोगमा समस्या छ। कच्चा पदार्थको अभाव छ। वीरगञ्जबाट ल्याइने अल्कोहल ढुवानी गर्न समस्या छ। बोतल उत्पादन गर्ने उद्योग सबै बन्द छन् । लेवलका लागि प्रेस बन्द छन् । विभागको विशेष आग्रहमा अलिअलि सञ्चालन गरेर सहयोग गरिरहेका छन् ।

औषधि लिमिटेडले पहिला थोक बिक्रेतालाई मात्रै बिक्री गर्दै आए पनि अहिले विषम परिस्थिति भएकाले कार्यालय आउने जो-कोहीलाई आवश्यक स्यानिटाइजर होलसेल मूल्य प्रतिबोतल १५० रुपैयाँमा उपलब्ध गराइने गरेको जनाएको छ। लिमिटेडले अहिले स्टकको स्यानिटाइजर बिक्री गरिरहेको र अर्को चरणको उत्पादनमा मूल्य घटाइने जनाएको छ ।

लिमिटेडबाट उत्पादन भएका स्यानिटाइजर बजारमा पाइने अन्यभन्दा गुणस्तर युक्त रहेको दाबी गरिँदैआएको छ । विश्व स्वास्थ्य सङ्गठनको मापदण्ड अनुरुप उत्पादन गरिएको स्यानिटाइजरमा ८० प्रतिशत अल्कोहल हुन्छ । बजारमा ६० देखि ७० प्रतिशत मात्रै अल्कोहल भएको स्यानिटाइजर पाइने विभागको दाबी छ। कोभिड-१९ को भाइरस मात्र ७० देखि प्रतिशत अल्कोहल चाहिने बताइन्छ ।

लिमिटेडले अत्यावश्यक एकतिहाइ कर्मचारीको व्यवस्था गरी बिहान ६ बजेदेखि बेलुका ८ बजेसम्म ‘फ्याक्ट्री’ चलाएर स्यानिटाइजर लगायत उत्पादन गरिरहेको छ । झण्डै एक सय कर्मचारीमध्ये अहिले ३० जनाले काम गरिरहेका छन् ।

महत्वपूर्ण सरकारी कार्यालय, मन्त्रालय, राष्ट्रपति कार्यालय, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल, बैङ्क, वित्तीय संस्था तथा विभिन्न सङ्घसंस्था लगायतले लिमिटेडको स्यानिटाइजर प्रयोग भइरहेको छ । धेरैजसोले कार्यालयमै आएर सामग्री लैजाने गरेका छन् । औषधि लिमिटेडको उत्पादन बिक्रीका लागि सात सय ७० थोक बिक्रेता कम्पनी छन् । उत्पादन पर्याप्त रहेको र बजार पनि राम्रो भइरहेको विभागले जनाएको छ ।

लकडाउनपछि नयाँ रणनीतिका साथ अघि बढ्ने 

औषधि उत्पादन कम्पनीमा काम गर्ने कामदारका लागि आवश्यक पर्ने मापदण्डको अभावमा लिमिटेडले विगत करिब १० वर्ष औषधि उत्पादन गर्न सकेको थिएन । लिमिटेडले सुरुमा एक सय २० प्रकारका औषधि उत्पादन गर्थ्यो। अहिले तीन प्रकारका स्यानिटाइजर, सिटामोल र जीवनजल मात्रै उत्पादन गरिरहेको छ । उत्पादित सामग्री बजारमा धेरै खपत भइरहेको छ ।

बजारमा सीमित मौज्दात रहने र आवश्यक मात्रै उत्पादन गर्ने भएकाले पनि अहिलेको बजार अभाव भएको लिमिटेडको बुझाइ छ। कोभिड-१९ को संक्रमणबाट बच्न स्यानिटाइजर प्रयोग तथा साबुनपानीले राम्ररी हात धुन विज्ञहरूले सुझाएका छन् ।

सीमित उत्पादनले बजार धान्न नसकेको अवस्थामा औषधि लिमिटेडले स्यानिटाइजर उत्पादन गरिरहेको हो । बजारमा अत्यावश्यक मास्क, स्यानिटाइजर आदिको अभाव छ । कतिपय औषधि पसलले बढी मूल्यमा यी सामग्रीहरू बिक्री गरिरहेका छन्। व्यवसायीले लकडाउनको मौका छोपी उपभोक्तालाई महँगो मूल्यमा मास्क स्यानिटाइजर बेच्ने गरेका छन् । औषधि र मास्कमा बढी मूल्यमा लिएर कालोबजारी गर्ने केही फार्मेसी तथा औषधि पसललाई कारबाही समेत गरिसकिएको छ ।

राजधानी काठमाडौं मात्र होइन, देशभर स्यानिटाइजरको अभाव छ । केही निजी कम्पनीले पनि स्यानिटाइजर उत्पादन गरिरहेका छन्। बजारमा अभाव बढिरहेकै छ। कोभिड-१९ को विश्वव्यापी महामारी फैलिएसँगै नेपालमा पनि यसको प्रभाव परेको छ ।

नेपालमा हालसम्म ४२ जनामा कोभिड-१९ को संक्रमण देखिएको छ । यीमध्ये छजना उपचारपछि घर फर्किसकेका छन् । कोभिडको जोखिम नियन्त्रणका लागि सरकारले गत चैत ११ देखि वैशाख १५ सम्म देशभर लकडाउन गरेको छ ।

पछिल्लो विवरण अनुसार विश्वका झण्डै एक सय १० देशमा महामारीको रुपमा फैलिएको कोभिडका कारण विश्वमा एक लाख ७७ हजार पाँच सय एकको मृत्यु भइसकेको छ। हालसम्म २५ लाख ६५ हजार दुई सय ५८ संक्रमित छन् भने छ लाख ८६ हजार छ सय ३४ उपचारपछि घर फर्किएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment