Comments Add Comment

बैतडीमा भारतबाट आएका सबैको र्‍यापिड टेस्ट गरिने   

११ वैशाख, बैतडी । भारतबाट आएका बैतडीका चार हजारभन्दा बढीको र्‍यापिड डाइग्नोष्टिक टेस्ट (आरडीटी) गर्ने भएको छ ।

भारतबाट जिल्ला भित्रिएका चार हजार १२२ जनाको आरडीटी गरिने भएको हो । चैत महिनामा भारतबाट फर्केका सबैको आरडीटी गरिने प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिए । चैत महिनामा मात्रै भारतबाट ४ हजार ८२२ जना जिल्ला भित्रिएका थिए । तीमध्ये अहिलेसम्म सात सयको मात्रै आरडीटी र स्वाब टेस्ट भएकाले बाँकी सबैको पनि र्‍यापिड डाइग्नोष्टिक टेस्ट गरिने उनले बताए ।

चैत महिनामा भारतबाट जिल्ला भित्रिएकामध्ये दशरथचन्द नगरपालिकामा ५३१, पुर्चौंडीमा ३४३, मेलौलीमा ४४९, पाटनमा ४८२ र सुर्नयामा ४०५ जना रहेका छन् । त्यस्तै डिलाशैनीमा २६५, दोगडाकेदारमा ४०१, पञ्चेश्वरमा ८९५, सिगासमा १३९ र शिवनाथ ९१२ जना जिल्ला भित्रिएको बताइएको छ । चैत १० गते अघि जिल्ला भित्रिएका कोही पनि क्वारेन्टाइनमा बसेका छैनन भने उनीहरुको चेकजाँच समेत भएको छैन् ।

जिल्लामा अहिले एक हजार ६ सय र्‍यापिड डाइग्नोष्टिक टेस्ट (आरडीटी) किट मात्रै भएकाले थप किट प्रदेश सरकारबाट मगाउने पहल भइरहेको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले बताए । यस्तै कोरोना रोकथाम तथा नियन्त्रण जिल्ला स्तरीय संयन्त्रको बैठकले पालिकास्तरीय क्वारेन्टाइन निर्माणका कामलाई पनि तीव्रता दिने निर्णय गरेको छ ।

यस्तै राष्ट्रिय गौरवका आयोजना र प्रदेश गौरवका आयोजना सञ्चालन गर्न दिने र त्यसको अनुगमन समेत गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिए । यस्तै राहत वितरण प्रक्रियालाई प्रभावकारी बनाउन एकद्वार प्रणालीमार्फत मात्रै गर्न पाउने व्यवस्थालाई कडाइका साथ लागू गर्ने निर्णय भएको उनले बताए ।

यसैगरी विवाह व्रतबन्धजस्ता शुभकार्यमा ५ जना मात्रै सहभागी भएर गर्न पाउने निर्णय समेत प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिए । बैठकले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि जिल्लामा भइरहेका प्रयासलाई अझै प्रभावकारी बनाउने निर्णय समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment