Comments Add Comment

समाजवादी-राजपा एकीकरण : प्रदेश २ मा खुशीको माहौल

'टुटफुटको इतिहासलाई यहीँबाट रोकिनुपर्छ'

११ वैशाख, काठमाडौं । प्रदेश २ को सत्तारुढ दुई दल समाजवादी र राष्ट्रिय जनता पार्टी (राजपा) बीच एकीकरण भएपछि प्रदेश २ मा खुशीको माहौल बनेको छ । यी दुवै पार्टीका नेतादेखि बुद्विजिवीहरुले पनि यो एकतालाई सकारात्मक रुपमा लिएका छन् ।

प्रदेश २ का भूमी, व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साह समाजवादी र राजपा नेपालको एकीकरण आवश्यक र अपेक्षित नै भएको बताउँछन् । गत निर्वाचनले नै यसका लागि जनादेश दिएको बताउँदै मन्त्री साहले यो एकताले नयाँ यात्रा सफल, सार्थक र राष्ट्र निर्माणमा कोसेढुंगा साबित हुने विश्वास व्यक्त गरे ।

तत्कालीन राजपा सांसद विदेश्वर यादव ‘विक्की’ ढिलो भए पनि जनताको अपेक्षा पूरा भएको बताउँछन् । उनले दुई पार्टी अलग अलग हुँदा संघीय सरकारले पटक-पटक सरकार नै तोड्न चाहेको बताउँदै अब एकीकरण भएपछि यो सरकार पनि धेरै मजबुत भएको बताए । ‘जुन उद्देश्यले प्रधानमन्त्रीज्यूले अध्यादेश ल्याउनुभयो, त्यो पूरा भएन,’ उनले भने, ‘बुधबार समाजवादी पार्टी फुटाउन सफल भएको भए प्रदेश २ सरकारमा असर पर्न सक्थ्यो ।’

प्रदेशका मुख्य न्यायाधिबक्ता दीपेन्द्र झा पनि प्रदेश २ सरकारलाई नै लक्षित गरेर प्रधानमन्त्रीले दल परिवर्तन सम्बन्धी अध्यादेश ल्याए पनि त्यो सफल हुन नसकेको बताए । ‘यो अध्यादेश नै प्रदेश २ सरकार र यहाँका राजनीतिक दलप्रति लक्षित थियो,’ उनले भने, ‘तर, त्यो सफल हुन सकेन ।’

‘व्यापक माग थियो मधेशमा यो दुवै पार्टी एक हुनुपर्छ भनेर,’ राजनीतिक विश्लेषक सुरेन्द्र लाभले भने, ‘अध्यादेशको प्रेसरमा एकीकरण भएपनि धेरै नै सकारात्मक हो ।

यो पनि पढ्नुहोस पार्टी फुट्दैन, एकताको बाँकी काम लकडाउनपछि पूरा गर्छौँ : महतो

पार्टी एकीकरण भए पनि यसमा धेरै मिलाउनु बाँकी रहेको भन्दै लाभ भन्छन्, ‘जस्तो पद मिलाउनु छ । कोही पद छोड्नै चाहँदैन । उपेन्द्रजी हरक्षण उच्च पदमै रहन चाहनुहुन्छ । राजेन्द्र महतोको आफ्नै महात्वाकांक्षा छ ।’

सैद्वान्तिक अन्तर नदेखिए पनि पदीय भागबन्डामा यो एकता भड्किन सक्ने आशंका उनको छ । ‘विगतको इतिहासलाई हेर्दा यो डर लाग्नु स्वभाविक हो,’ लाभ भन्छन्, ‘तर, यस्तो नहोस् ।’

मधेसवादी दलको टुटफुटको इतिहास धेरै रहेको बताउँदै उनी यसलाई रोक्नु जरुरी रहेको बताउँछन् । यो पार्टी एक रहिहाले ठूलो पार्टी बन्न सक्ने उनी बताउँछन् । ‘यदि एक रहिहाल्यो भने धेरै ठूलो सन्देश जान्छ,’ उनले भने, ‘तराई, मधेस, पहाडको लागि बोल्ने, पहिचानवादीको लागि बोल्ने दलको रुपमा विकास हुन्छ ।’

वरिष्ठ अधिवक्ता हिम्मत सिंह पनि समाजवादी र राजपाको एकतालाई सकारात्मक रुपमा लिएको बताउँछन् । ‘अहिलेको अवस्थामा यी दलबीच एकीकरण आवश्यक थियो,’ उनले भने, ‘किनभने संघीय सरकारले प्रदेश २ सरकारलाई नै खसाउनका लागि अध्यादेश ल्याएको देखियो ।’

मुलुक लकडाउनमा रहेको समयमा र संसदसमेत नचलेको अवस्थामा प्रधानमन्त्रीले यस्तो अध्यादेश ल्याएर नैतिकहीन काम गरेको भन्दै वरिष्ठ अधिवक्ता सिंहले भने, ‘यी दुई पार्टीको एकताले अध्यादेशलाई गतिलो झापड दिएको छ ।’

एकीकरणपछि सबै प्रकृया सकारात्मक तरिकाले सम्पन्न गर्दै नेताहरुबीच आपसी मतभेद हटाउनु जरुरी रहेको सिंह बताउँछन् ।

‘जनभावनामा ठेस पुग्ने काम नहोस्’

पटक पटकका आन्दोलनमा सँगै भए पनि मधेसी दलहरु एक थिएनन् । सत्तामा जानकै लागि नेता पिच्छे दल खोलेको आरोप उनीहरुमा लाग्दै आएको थियो । एक अर्काका कटु आलोचक भए पनि अहिले समाजवादी र राजपा एक भएका छन् । रातारात भएको यो एकतालाई दुवै दलका जिल्लास्तरका नेताहरुले स्वागत गरेका छन् ।

राष्ट्रिय जनता पार्टीका महासचिव शिव पटेलले एकीकरणको समाचार सञ्चारमाध्यमबाटै थाहा पाएको बताए । ‘दल फुट्नु भन्दा एकीकरण हुनु राम्रै हो । तर पार्टीमा केही छलफल भएको छैन, केही जानकारी छैन, के कसरी एकीकरण भएको हो । मध्यरातमा एकीकरण भयो,’ महासचिव पटेलले भने, ‘सञ्चारमाध्यम हेरिरहेका छौं, विस्तारै थाहा होला ।’

एकता नहोस भन्ने पक्षमा आफू नभए पनि एकीकरण अघि पार्टीमा राम्रोसँग छलफल हुनुपर्ने तर्क उनको छ ।

राजपा पर्सा अध्यक्ष राजेशमान सिंहले सत्ता मोह त्यागेर नेतृत्व एक हुनु स्वागतयोग्य कुरा भएको बताए । ‘वर्षौं पहिले हुनुपर्ने एकता हो, प्रधानमन्त्रीले ल्याएको अध्यादेशले गर्दा अहिले एकता भयो,’ उनले भने, ‘अब छिन-छिनमा मोहमा परेर पार्टी फोड्नेभन्दा कार्यकर्ता र संगठन बनाउनमा ध्यान जाओस् ।’

नेतृत्वले पार्टी एकता गरेर ढिलै भए पनि मधेसी जनताको भावनाको कदर गरेको उनको भनाइ छ । ‘जनताले विश्वास गरेर प्रदेश सरकारको नेतृत्व गर्ने अवसर दिएको छ । नेतृत्वले त्यसमा खरो रुपमा उत्रनु पर्छ,’ नेता सिंहले भने, ‘जनभावनामा ठेस पुग्ने काम गर्नु हुँदैन ।’

समाजपादी पार्टीका पर्सा सचिव तवरेज अहमदले आम मधेसी जनताको माग बमोजिम पार्टी एकता भएको भन्दै खुशी व्यक्त गरे । ‘मधेसी दल पहिलेदेखि नै एउटै मुद्दाका लागि सँगै आन्दोलनमा होमिएका हुन् । एक बनुन् भन्ने नै जनताको भावना थियो,’ सचिव अहमदले भने, ‘जनभावना अनुसार पार्टी एक हुनु खुशीको कुरा हो । राम्रो भएको छ ।’

संघीय लोकतान्त्रिक गणतन्त्र खतरामा परेको समयमा भएको एकीकरणले मधेसी जनतामा सकारात्मक सन्देश प्रवाह गर्ने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment