Comments Add Comment

फुटबलर राजेशलाई लकडाउनले सिकायो धैर्य

९ वैशाख, काठमाडौं । युवा फुटबलर राजेश परियार २०७६ चैतको दोस्रो साता घुम्नका लागि छिमेकी जिल्ला धादिङ पुगे । साथी विशाल वाइवासँगै उनी त्यता गएका थिए ।

कोरोनाको सन्त्रास बढेकाले देशभर फुटबल गतिविधि रोकिएको थियो । न्युरोड टिम (एनआरटी) बाट क्लब फुटबल खेल्ने उनी फुर्सदमा थिए । त्यसैले साथीसँगै हान्निए, धादिङ गल्छी नजिकै रहेको मछेडीखोला ।

उनले सोचेका थिएनन्, यति लामो समय उतै बस्नुपर्ला भनेर। राजेशको टोली धादिङ पुगेको भोलिपल्टै सरकारले देशभर लकडानउको घोषणा गरिदियो, जुन अहिलेसम्म जारी छ । राजेश पनि एक महिनादेखि धादिङमै थुनिएका छन् । जति सरकारले लकडाउन अवधि थप्छ, राजेशको धादिङ बसाइँ पनि उति लम्बिन्छ । उनी साथी विशालकै घरमा बसिरहेका छन् ।

लकडाउनले गर्दा अहिले मानिसहरू आ-आफ्नै घरभित्र कैद छन्। यस्तो बेला मैदानमा खेल्ने र रेगुलर ट्रेनिङ गर्ने खेलाडीहरूलाई कति छट्पटी भएको होला ? खेलाडीहरू बाहिर निस्केर ट्रेनिङ गर्न पाएका छैनन् । इन्डोरमा जे उपलब्ध छ त्यसैमा वर्कआउट गर्नुपर्ने बाध्यता छ।

राजेशले पनि त्यसै गरिरहेका छन् । फिटनेशमा उनले विशेष ध्यान दिएका छन् ।

‘बेलुका पनि चाँडै सुत्छु । सदाजस्तै बिहान साढे पाँच बजे उठिसक्छु । अनि नजिकै केहीबेर रनिङ गर्छु,’ राजेशले भने, ‘घरमा भएको सामानले वर्कआउट गर्ने गरेको छु ।’

बाहिर गए पनि राजेशले फिटनेशलाई ध्यानमा राखेका छन् ।

‘यहाँको वातावरण पनि राम्रो छ । साथीको परिवारले मलाई राम्रो व्यवहार गर्नुहुन्छ,’ उनले सुनाए ।

बिहानको सामान्य वर्कआउटपछि दिउँसो हल्का मनोरन्जनमा समय बिताउँछन् राजेश । दिउँसो प्लेस्टेसनमा खेल्छन् । फिल्महरू हेर्छन् । अनि आफैँले खेलेका भिडियोहरू पनि खोजेर हेर्छन् । यसरी नै समय बितिरहेको छ उनको ।’

एउटा फुटबल खेलाडीको लागि फुटबल अनि मैदान सबैभन्दा प्यारो हुन्छ । तर, अहिले राजेशसँग दुवै कुरा छैन । त्यसैले पनि उनले फुटबल मिस गरेका छन् ।

‘फुटबल त मिस भइरहेको छ,’ राजेशले भने, ‘जहिल्यै ट्रेनिङ गर्ने बानी, खेलिरहने बानी । अहिले खेल्न नपाउँदा कहिले लकडाउन खुल्ला र खेलौँला जस्तो भएको छ ।’

राजेशका लागि लकडाउन पूरै उपलब्धिहीन चाहिँ भएको छैन । यस अवधिमा घरमा बस्दा पनि धेरै नयाँ कुराहरू सिकेको उनी बताउँछन् ।

‘मैले यो समयमा साथीहरूको महत्व जीवनमा धेरै हुने रहेछ भन्ने बुझेँ । अनि धैर्य हुन चाहिँ एकदम सिकेको छु,’ राजेशले भने, ‘राम्रो साथीको ठूलो महत्व हुँदो रहेछ । मलाई यहाँ पनि एक्लो फिल हुन दिएको छैन साथीले ।’

राजेशले केही समयअघि सम्पन्न भएको शहीद स्मारक ए डिभिजन लिग खेलेका थिए । पूर्णरुपमा फिट नभएकोले धेरै खेल्न सकेनन् । तर, जति खेले त्यसमा उनले उत्कृष्ट प्रदर्शन गरे । उनले केही गोल समेत गरेका थिए ।

उमेर समूहमा विभागीय टोली त्रिभुवन आर्मीबाट खेलेका राजेशले ए डिभिजनमा एनआरटीबाट डेब्यु गर्दै पहिलो गोल नै आर्मीविरुद्ध गरेको थिए । २०७५ को ए डिभिजन लिगमा पहिलो खेलमै एनआरटीले आर्मीलाई २-२ को बराबरीमा रोक्दा राजेशले लिगमा डेब्यु गरे । त्यही खेलमा उनले लिगको डेब्यु गोल समेत गरेका थिए ।

‘मैले डेब्यु खेलमै आर्मीविरुद्ध गोल गरेँ । त्यो मेरो स्मरणीय गोल हो,’ राजेशले भने । राजेशले लगातार दुई सिजन एनआरटीबाट ए डिभिजन लिग खेलिसकेका छन् ।

त्यसअघि उनले आर्मीबाट ललित स्मृति यू-१८ च्याम्पियनसिप खेलेका थिए । पहिलो र दोस्रो दुवै संस्करण आर्मीले जितेको थियो । त्यतिखेर आर्मीको यू-१८ टिममा राजेशसँगै अर्पण कार्की, अरिक विष्ट, सेसेहाङ आङदम्बे, अभिषेक रिजाल, सुमन अर्याल, प्रेजन तामाङ, अनोस मगरलगायत खेलाडी थिए । सुमन र अभिषेकले सिनियर राष्ट्रिय टिमबाट समेत खेलिसकेका छन् ।

राजेशले पनि यू-२३ राष्ट्रिय टिमबाट खेल्दै १३ औं दक्षिण एसियाली खेलकुद सागमा स्वर्ण पदक जितेका थिए । उक्त टिममा पनि अर्पण कार्की अभिषेक रिजाल, सेसेहाङ, सुमन अर्याल, प्रेजन तामाङ लगायत उनका पुरानै टिममेटहरु थिए ।

साग खेल्न सुरुमा घोषणा गरेको टिममा राजेश प्रेजन थिएनन् । राष्ट्रिय टिमका खेलाडीहरू विमल घर्तीमगर, अन्जन विष्ट, दिनेश राजवंशी जस्ता खेलाडीहरू सागको टोलीमा थिए । तर, अखिल नेपाल फुटबल संघ एन्फाले उनीहरूलाई डिस्को काण्डका कारण कारबाही गरेपछि राजेश र प्रेजनसँगै राजीव लोप्चनले १३ औं साग खेल्ने टिममा स्थान बनाएका थिए ।

‘त्योभन्दा अघि पनि राष्ट्रिय टिमको क्याम्पमा परेको थिएँ । तर, म बिरामी भएकोले टिममा पर्न सकिन । ठिक भएपछि क्लबको ट्रेनिङमा फर्केको थिएँ,’ राजेशले भने, ‘त्यसपछि मलाई बालगोपाल सरले ट्रेनिङमा बोलाउनुभयो ।’

साग खेल्ने टिममा परेपछि राजेशले त्यतिबेला आफ्नो सपना पूरा भएको बताएका थिए । उनले सागमा केही खेलमा खेल्ने अवसर पाए । तर, सोचेजस्तो प्रदर्शन गर्न सकेनन् । उनलाई आफ्नै प्रदर्शन चित्त बुझेन ।

‘मैले जति सोचेको थिएँ, त्यो अनुसार खेल्न सकिँन,’ उनले भने ।

फाइनलमा नेपालले भुटानलाई २-१ ले हराएर स्वर्ण जितेको थियो । उक्त खेलमा पनि राजेशले खेल्ने अवसर पाएका थिए । उनी भन्छन्, ‘फाइनलमा मैले मेरो एक प्रतिशत पनि दिन सकिन । मैले सबैजनासँग माफी मागेँ । राजेश मानन्धर सरले धेरै सम्झाउनु भएको थियो । तर, देशले स्वर्ण जितेको म एकदमै खुसी थिएँ ।’

राजेशले चितवनको एसओएस चिल्ड्रेन भिलेजमा हुँदादेखि नै फुटबल खेल्न सुरु गरेका थिए। आमाको निधनपछि उनी एसओएसमा पुगे ।

‘मैले त्यहाँ कक्षा ४ मा हुँदादेखि नै फुटबल खेल्न थालेँ। हाम्रोमा साजन श्रेष्ठ फुटबल कोच हुनुहुन्थ्यो । साजन दाइले ए डिभिजन लिगहरु समेत खेल्नुभएको थियो । उहाँबाट नै मैलै खेल्न सिकेँ । मेरो लागि फुटबलको प्रेरणा नै उहाँ हो,’ राजेशले पुराना दिन सम्झिए ।

त्यसपछि राजेश एन्फा एकेडेमीसम्म पुगे। सन् २०१२ मा उनी एन्फाको यू-१२ टिममा छनोट भए । त्यसको दुई वर्षपछि यू-१४ टिम सुब्रतो कप खेल्न भारत गए ।

राजेशले साफ यू-१६ च्याम्पियनसिप समेत खेले । उनले सन् २०१५ मा एएफसी यू-१६ क्वालिफायर्स र २०१७ मा एएफसी यू-१९ क्वालिफायर्स खेलेका थिए ।

अब उनको एउटै लक्ष्य छ देशको सिनियर टिममा आफ्नो स्थान बनाउने । राजेश भन्छन्, ‘मैले अझै मेहनत गर्नु छ । भविष्यमा राष्ट्रिय टिमबाट खेल्ने मेरो लक्ष्य छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment