Comments Add Comment

तीन दिनमै १० हजार बढी मानिस रामेछाप भित्रिए

१२ वैशाख, रामेछाप । कोरोना भाइरसको संक्रमण फैलनबाट रोक्न लगाएको बन्दाबन्दी हट्ने संकेत नदेखिएपछि रामेछापका स्थानीय तहले काठमाडौँमा अलपत्र परेका आफ्ना नागरिकहरुलाई उद्धार गरी गाउँ फर्काएका छन् । रामेछाप जिल्लामा तीन दिनको बीचमा १० हजारभन्दा बढी मानिसहरु गाउँ भित्रिएका छन् ।

स्थानीय प्रशासनले बाहिरका मानिसहरुलाई जिल्ला भित्रिन नदिने निर्णय गरेपछि पालिकाहरुले आफैंले आफ्ना नागरिकलाई ल्याउन गाडीहरुलाई अनुमति पत्र दिएर गाउँ भित्र्याएका हुन् ।

काठमाडौँमा अलपत्र परेका नागिरकहरुलाई लिन जिल्लाका अधिकांस पालिकाका अध्यक्ष र वडा अध्यक्षहरु आफैं काठमाडौं पुगेका थिए ।

नागरिकहरु अलपत्र परेपछि आफै गाउँबाट काठमाडौँ गएर नागरिकको खोजी गरी पहिलो चरणमा १८ वटा बसहरुको व्यवस्था गरेर गाउँ ल्याएको सुनापति गाउँपालिका अध्यक्ष धावा लामाले बताए । ‘जनता भोकभोकै मर्ने भए, त्यसैले आफैंले जोखिम उठाएर उनीहरुलाई खोजी गरी गाउँ पुर्याएँ । म आफैं ठिमी चोकमा बसेर सबैलाई गाडी चढाएर गाउँ ल्याएँ,’ लामाले भने । आफ्नो पालिकाका एकहजार भन्दा बढी मानिसहरुलाई उद्धार गरेर गाउँमा ल्याएको लामाले बताए ।

यो पनि पढ्नुहोस मतदातालाई कसरी भुल्न सकिन्छ र !

अलपत्र परेका नागरिकहरु खोजी गर्दै खाँडादेवी गाउँपालिकाको वडा नं. ६ का वडाअध्यक्ष पुष्कर कार्की पनि काठमाडौं पुगेका थिए । स्थानीय प्रशासनले अनुमति नदिएपछि गाउँपालिकाको पत्र लिएर काठमाडौंमा रहेका नागरिकलाई गाउँमा ल्याएको उनले बताए । आफ्नो वडाका केही मानिसहरु अझै काठमाडौंमा अलपत्र परेको बताउँदै उनले उनीहरुलाई पनि फिर्ता ल्याउने प्रयास भइरहेको बताए ।

‘काठमाडौंभित्र गाडी नचलेको कारण उनीहरु हिँडेर भक्तपुरसम्म आउन नसकेकाले छुटे । उनीहरुलाई गाउँ ल्याउने प्रयत्न गरिरहेका छौँ । सकिएन भने काठमाडौंमै खाने व्यववस्था मिलाउँछौँ’, उनले भने । खाँडादेवी गाउँपालिकाको प्रवक्तासमेत रहेका कार्कीले सो पालिकामा १ हजार ५ सयभन्दा बढी मानिसहरुलाई काठमाडौँबाट उद्धार गरी ल्याएको बताए ।

यसैगरी दोरम्बा गाउँपालिकाले पनि आफ्ना नगरिकलाई काठमाडौंबाट उद्धार गरी गाउँमा ल्याएको छ । पालिका अध्यक्ष कमानसिंह मोक्तानले पालिकाले आफ्नै खर्चमा बस रिजर्भ गरी नागरिकहरुलाई गाउँमा फिर्ता ल्याएको बताए । रामेछाप नगरपालिकाकी उपप्रमुख सिर्जना खड्काले पनि नगरपालिकाले नै खर्च व्यहोरेर नागरिकलाई फिर्ता ल्याएको जानकारी दिइन् ।

त्यस्तै मन्थली नगरपालिका प्रमुख रमेशकुमार बस्नेत तथा विभिन्न वडाका वडाध्यक्षहरुको सक्रियतामा मन्थली नगरपालिकाका नागरिकहरु पनि घर फर्किएका छन् । नगरपालिकाका करिब १ हजार ५ सय मानिसहरु घर फर्किएको जनप्रतिनिधिहरु बताउँछन् ।

२ वटा नगरपालिका र ६ वटा गाउँपालिका रहेको रामेछापका गोकुलगंगा र उमाकुण्ड गाउँपालिकाले पनि आफ्ना नागरिकलाई फिर्ता ल्याएका छन् ।

जिल्लामा काठमाडौंबाट १० हजारभन्दा बढी मानिसहरु भित्रिएको पालिकाहरुको तथ्यांकले देखाउँछ । काठमाडौँबाट गाउँ ल्याइएका मानिसहरुलाई सामान्य ज्वरो परीक्षण गरी घर पठाइएको छ । यसरी ल्याइएकाहरुलाई कम्तिमा पनि १५ दिनसम्म आफ्नै घरमा बस्न आग्रह गरिएको गोकुलगंगा गाउँपालिकाका अध्यक्ष खड्ग सुनुवारले बताए । उनीहरु अनुशासित भएर बसे–नबसेको हेर्नका लागि स्वयंसेवीहरु खटाएको उनले जानकारी दिए ।

सहरमा अलपत्र परेका मानिसहरु गाउँ फर्काएपछि गाउँमा भने त्रास बढेको छ । गाउँमा बाहिरका मानिस आउँदा कोरोना भाइरसको संक्रमण भित्रन सक्ने आशंकामा स्थानीयहरु त्रसित भएका छन् ।

अलपत्र परेका मानिसहर गाउँ ल्याउन राम्रो कुरा भए पनि उनीहरुबाट संक्रमण आउन सक्ने खतरा रहेको गैरसरकारी संस्था महासंघ रामेछापका उपाध्यक्ष रत्नप्रसाद कँडेल बताउँछन् । त्यसैले उनीहरुलाई कडा अनुशासनमा राख्नु पर्ने उनले बताए ।

यो पनि पढ्नुहोस ‘मन्दिर बनायौं, तर भगवानले नै हेरेनन् !’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment