Comments Add Comment

लकडाउन अवसर हो, समाधान होइन

लकडाउन अब पाँचौँ हप्तामा प्रवेश गरी सकेको छ । यो पाँच हप्ता सरकारले हामीलाई संक्रमित हुनबाट जोगिन दिएको समय मात्र होइन, हामीले सरकारलाई ‘एक्सन’ मा उत्रिन दिएको समय पनि हो । ताकि यसबीच धेरैभन्दा धेरै कोरोना संक्रमित व्यक्तिको पहिचान र उपाचार होस् । यही विविध कारणको लागि थियो जसरी भएपनि नेपालमा कोरोना संक्रमितको संख्यालाई यथास्थितिमा सीमित गर्न सकियोस् । जति राज्यको स्वास्थ्य प्रणालीले धान्न सक्ने होस् । याद राख्न जरुरी के छ भने लकडाउन चिकित्सकीय समाधान होइन । यो त एउटा निश्चित समयको लागि पाइने व्यवस्थापकीय अवसर हो ।

यो सत्य हो कि हाम्रो जस्तो गरिब देशमा सामानमा कमिसन खाए पनि नखाए पनि परीक्षण गर्न सक्ने क्षमता सीमित नै हुन्छ।  त्यसो त हाम्रो परीक्षणको संख्या त्यति खराब  पनि छैन । हाम्रो स्रोत र साधनलाई हेर्ने हो भने भारत विश्वको पाँचौँ ठूलो अर्थतन्त्र भएको मुलुक हो । यो लेख लेखुन्जेल त्यहाँ जम्मा साँढे चार लाख मानिसमा कोरोनाको परीक्षण भएको छ।

नेपाल संसारकै गरिब मुलुकमध्येको एक हो । यद्यपि, हामीकहाँ यही अवधिमा ३० हजार जनाको परीक्षण भएको छ । जनसंख्याको हिसाबले हेर्ने हो भने हाम्रो अनुपात भारतकोभन्दा राम्रो छ । तर पनि संक्रमितको सही संख्या पत्ता लगाउन अहिलेको परीक्षण दर पर्याप्त छैन । त्यसैले, अहिले जुन पहिचान भएको संख्या छ, देशमा संक्रमितको संख्या त्योभन्दा बढी हुन सक्ने अनुमान लगाउन सकिन्छ । यद्यपि, अस्पातलहरूमा कोरोना बिरामीको चाप धेरै नभएको अवस्था हेर्दा, यहाँ संक्रमितको संख्या भयावह स्थितिमा छ भन्ने कुनै ठोस आधार छैन ।

लकडाउनको उद्देश्य संक्रमण निर्मुल पार्नु होइन । स्ट्यान्फोर्ड विश्वविद्यालयमा चिकित्सा विज्ञान पढाउने प्रोफेसर जय भट्टाचार्यकाअनुसार, कोरोनालाई सदाको लागि निर्मुल पार्न सायद सम्भव छैन। तर, उनले सेन्टा क्लेयर काउन्टीमा गरेको अध्ययनअनुसार, कोरोना त्यति प्राणघातक पनि हुँदैन, जति पहिले अनुमान गरिएको थियो । जहाँ अहिलेसम्मको अनुमानअनुसार यसले एक सय संक्रमितमध्ये तीन जनाको ज्यान लिन्छ भन्ने थियो। उनको अध्ययन अनुसार एक हजार जनामा एक वा दुई जनासम्मको लिन सक्ने देखिन्छ । तर, अन्य धेरै सहरमा यस प्रकारको अध्य्यन नगरेसम्म यकिनका साथ केही भन्न सकिने अवस्था भने छैन।

हामी कहाँ पर्याप्त परीक्षण भएको छैन। तर, कोभिड-१९ यस्तो बिमारी हो, जुन लुकाउन सकिँदैन । विश्व स्वास्थ संगठनको निर्देशिकाको अनुसार यस्को लक्षण देखा पर्न संक्रमित भएको दुईदेखि १४ दिन सम्मको समय लाग्छ । कतिपयमा संक्रमण भए पनि लक्षण नदेखिन पनि सक्छ । हामी कहाँ लकडाउन भएको ३० दिन भइसक्यो । सरकारले लकडाउन घोषणा गरेभन्दा पहिले नै नेपालमा कोरोना भित्रिसकेको हुनुपर्छ। यदि स्थिति भयावह नै भएको भए अहिलेसम्म धेरै संक्रमित अस्पतालमा भर्ना भइसकेको हुनुपर्ने हो। जुन अहिलेको अवस्था होइन। तर, यस विषयमा ठोस रुपमा विज्ञहरूले नै भन्न सक्ने स्थिति हो ।

लकडाउन कुनै न कुनै दिन त उठाउनु पर्ने हुन्छ । त्यो चाहे अर्को हप्ता होस् वा अर्को महिना । सम्भावना यही रहन्छ कि कुनै न कुनै व्यक्ति संक्रमित अवस्थामा नै हुनेछ र त्यो व्यक्तिले संक्रमणको शृङ्खला फेरि सुरु हुन सक्छ ।

इन्डियन काउन्सिल अफ मेडिकल रिसर्चकाअनुसार त्यहाँ अहिलेसम्म गरिएको परीक्षणको नतिजाले संक्रमितमध्ये ८० प्रतिशतमा कुनै लक्षण नभएको देखाउँछ। यसले संक्रमितको पहिचान गर्न झन् कठिन बनाउँछ । तर, यो राम्रो खबर पनि हो । कोरोनाको मृत्‍युदर निकाल्दा यो तथ्यलाई पनि समायोजन गर्ने हो भने  मृत्‍युदर पहिले अनुमान गरेभन्दा धेरै कम हुन जान्छ। जुन कुरा डाक्टर भट्टाचार्यको अध्ययनले पुष्टि गर्छ । यस्को अर्थ हो कि यो भाइरस त्यति घातक नहुन पनि सक्छ। जति अघिल्ला तथ्यांकले संकेत गरेका थिए ।

कोरोनाबाट पूर्ण मुक्ति कहिले ?

कोरोनाबाट सदाको लागि मुक्ति पाउन दुईवटा विकल्प छन् । अझ भनौं यसमा तीन वटा विकल्प छन् । पहिलो, लकडाउनलाई त्यति बेलासम्म कायम राख्ने जति बेलासम्म नेपालको पूरै जनसंख्याको परीक्षण नहोस् र सुनिश्चित होस् कि कसैमा पनि कोरोनाको संक्रमण छैन । तर , पूरै जनसंख्याको परीक्षण गर्ने कुरा त्यति सम्भव हुने कुरा भने होइन । त्यसकारण, अब कमसेकम संक्रमित सबैको पहिचान हुनु जरुरी छ । तर, जतिजति समय बित्दै जान्छ, त्यतियति ट्रेसिङ गर्न गाह्रो हुन्छ र परिणामस्वरुप सबै संक्रमितहरूको पहिचान गर्न मुस्किल पर्छ । सबै संक्रमितको पहिचान गर्न सक्नु नेपालको लागि मात्र चुनौतीको विषय होइन । यो सबै देशहरूका  लागि गम्भीर विषय हो । विशेष गरेर त्यस्तो अवस्थामा जब सबै संक्रमितले लक्षण देखाउदैनन् ।

यसको दोस्रो तरिका हो,  त्यति बेलासम्म लकडाउन कायम राख्ने जति बेलासम्म कोरोनाको खोप बजारमा आउने छैन । त्यसको लागि कम्तीमा पनि एकदेखि डेढ वर्ष लाग्नसक्ने विज्ञहरू बताउँछन् । त्योपनि कतिपय नियामक प्रकृयालाई ‘फास्ट ट्र्याक’ वा नजर अन्दाज गरेको खण्डमा ।

यसको तेस्रो तरिका हो, जुन अहिले केही अग्रणी महामारी विज्ञहरू बताउँछन् । त्यो हो : ‘हर्ड इम्युनिटी’ । यो सिद्दान्तअनुसार यदी जनसंख्याको ठूलो हिस्सा (सामान्यत ५० देखी ८० प्रतिशत) कुनै भाइरसद्वारा संक्रमित भए, भाइरसले फैलनको लागि मानिस (होस्ट ) पाउन गाह्रो हुन्छ । जसले गर्दा त्यो पूरै जनसंख्या त्यो भाइरस प्रतिरक्षक बन्दछ । हार्वर्ड विश्वविद्यालयका माहामारी विशेषज्ञ मार्क लिपस्टिचको भनाइ अनुसार यो १९१८ को जस्तो फ्लु महामारी हो । यो महामारीको अन्त हुन करिब ५० प्रतिशत मानिस यो भाइरस प्रतिरक्षक हुन पर्छ । यसको रोकथाम गर्नेबारे केही तथ्यहरूलाई बुँदागत रुपमा यसरी उल्लेख गर्न सकिन्छ।

१) यो या त कुनै भ्यक्सिनबाट यसको उपचार खोज्न सकिन्छ। जुन तत्काल उपलब्ध हुने वाला छैन

२) प्राकृतिक संक्रमणबाट ।

इम्पेरिअल कलेज अफ लन्डनका प्रमुख माहामारी विज्ञ अज्र घानीकाअनुसार संक्रमणलाई दबाउनुको मतलब हुन्छ, हामीमा यसविरुद्ध ‘हर्ड इम्युनिटी’ विकशित नहुने स्थिति हुनु हो । भारतका अग्रणी महामारी विज्ञ जयप्रकाश मुलियिलकाअनुसार ‘लकडाउनले कोरोनाको विस्तारमा ब्रेक त लाउन सक्छ। तर, ‘हर्ड इम्युनिटी’ नै कोभिड-१९ को स्थायी समाधान हो । युनिवर्सिटी अफ क्यालिफर्निया, बर्क्लेका महामारी विज्ञ आर्ट राइनगोल्डकाअनुसार यस्तो महामारी रोक्न दुई वटा तरिकाहरू हुन्छन : भ्यक्सिन अथवा ‘हर्ड इम्युनिटी’ ।

तर, ‘हर्ड इम्युनिटी’ अवलम्बन गर्दा वृद्ध र रोग प्रतिरोधात्मक क्षमता कम भएका मानिसहरूलाई संक्रमणबाट जोगाउन अत्यन्त जरुरी हुन्छ । बेलायतले सुरुसुरुमा ‘हर्ड इम्युनिटीको’ प्रयोग गर्‍यो । पछि धेरै मानिसको ज्यान जान थालेपछि उनीहरू यसबाट पछि हटे । त्यसपछि उनीहरूले लकडाउन कै बाटो अवलम्बन गरे । तर, हामीकहाँ जस्तो बाहिर निस्कियो कि प्रहरीको डन्डा खानुपर्ने खालको लकडाउन चाहिँ त्यहाँ थिएन। बेलायतमा प्रतिदस लाख जनसंख्यामा ज्यान गुमाउनेको संख्या दुई सय ४३ छ। स्विडेनले ‘हर्ड इम्युनिटी’ प्रयोग गर्दैछ । त्यहाँ रेस्टुरेन्ट चलेकै छन, मानिसहरू सडकमा हिँडेकै छन् । १६ वर्षभन्दा मुनिका विद्यार्थी स्कुल गएकै छैनन् । केही कुरामा कडाइ छ, अन्यथा मानिसको जीवन सामान्य ढङ्गले चल्दैछ । यहाँ प्रतिदस लाख जनसंख्यामा कोरोनाबाट मृत्‍यु हुनेको संख्या एक सय ५६ छ। जुन अरू स्केन्डिनिवियन देशहरूमाभन्दा धेरै हो, जहाँ लकडाउन अवलम्बन गरिएको छ। तर, पनि स्विडेनको मृत्‍यु संख्या, स्पेन (४४६ प्रतिदश लाख) इटाली (३९८ प्रतिदश लाख) र फ्रान्स (३१० प्रतिदश लाख )भन्दा कम नै हो । त्यहाँ स्वअनुशासनमा बढी जोड दिइएको अवस्था छ ।

मुलियलकाअनुसार अन्तोतगत्वा, निश्चित संख्यामा मानिसहरू संक्रमित हुने नै छन् । उनका अनुसार लकडाउनले संक्रमणको संख्या निर्मुल पार्ने होइन। विस्तारित समयमा फिजाइ दिने मात्र हो। ताकि देशको स्वास्थ प्रणालीमा एक साथ ठूलो भार नपरोस् । तर, नेपाल जस्तो कमजोर स्वास्थ्य प्रणाली भएको देशमा ‘हर्ड इम्युनिटी’ को अवधारणा घातक सिद्ध हुन सक्छ र यसले गम्भीर राजनैतिक सामाजिक परिणाम निम्त्याउन सक्छ ।

तर, औचित्यविहीन लकडाउनका बेफाइदा छन् । यसले आर्थिक दुरावस्था निम्त्याउने मात्र होइन, स्वास्थ्यकै हिसाबले पनि गम्भीर समस्या ल्याउन सक्छ । अस्पतालले नियमित सेवा सुचारु नगर्दा गैरकोभिड स्वास्थ समस्याहरू बढ्दै जाने छन्। जसमध्ये जानलेवा समस्याहरू पनि हुने छन्। ध्यान रहोस्, मानिसको ज्यान कोरोनाले मात्र जाने होइन । विश्व स्वास्थ संगठनका अनुसार मुटु सम्बन्धी रोगबाट वर्षेनी एक करोड ५० लाखभन्दा बढी मानिसको ज्यान जान्छ । श्वासप्रश्वाससम्बन्धी समस्याबाट ३० लाख र फोक्सोको क्यान्सरबाट मात्र १७ लाख मानिसको ज्यान जान्छ । नियमित ऊपचारको अभावबाट मुटु, क्यान्सर आदि समस्याबाट ग्रस्त बिरामीको हालत झन नाजुक हुँदै जाने छ । त्यसमाथि, लकडाउनले निम्त्याउने मानसिक समस्या त छँदैछ। अहिले नै नेपाल, भारत र चीनमा घरेलु हिंसा बढेको समाचारहरू आउँदै छन । लकडाउनपछि चाइनामा डिभोर्स गर्ने दम्पतीको संख्या बढेको खबर पनि आउन थालेका छन् । नेपालमा त्यसो नहोला भन्न सकिने अवस्था छैन । मानिसलाई केवल शरीरको रुपमा हेर्नु र मानसिक पक्षलाई नजर अन्दाज गर्नु बुद्धिमानी होइन । लामो लकडाउनले निम्त्याउने बेरोजगारीले, डिप्रेसनदेखि आत्महत्यासम्मका घटना बढाउने कुरा पछिल्ला विश्व आर्थिक मन्दी पश्चात गरिएका अध्ययनहरूले बताउँछन्।

लकडाउन अब के गर्ने त ?

त्यसो भए लकडाउन अब के गर्ने त ? यो प्रश्न सरकारको लागि भालुको कन्चट समाते सरह भइसकेको छ। छोड्न पनि नमिल्ने, सधैं समात्न पनि नमिल्ने । तर, लामो लकडाउनले जिन्दगी बचाउन त सकिएला, जिन्दगी चलाउन सकिँदैन । लामो समय जिन्दगी नचले बाँच्न पनि सकिँदैन । लकडाउन भनेको झुलभित्र पसेर मलेरियाबाट बच्ने उपाय जस्तै हो । एक दुई रात त झुलभित्र नखाइ बस्न सकिन्छ, चार महिना सकिँदैन । कोरोना स्वास्थमा मात्र सीमित समस्या होइन, सामाजिक आर्थिक समस्या पनि हो ।

त्यसैले, अबको समय भनेको माथि उल्लेखित विकल्पहरूबाट बीचको बाटो खोज्ने हो । आउने दिनमा जनताको साथ र विश्वाश नजिती यो समस्याको समाधान निस्कने छैन । आदेश र लाठी यसको समाधान होइन। तत्कालको बाटो भनेको सरकारले परीक्षणमा सक्दो तीव्रता ल्याउने, लकडाउनलाई खुकुलो पार्ने र आम मानिसले स्वअनुशासन अवलम्बन गर्ने नै हो। उदाहरणका लागि संक्रमणको ‘हटस्पट’ पहिचान गरी त्यहाँ कडाइका साथ निगरानी राख्ने र बाँकी ठाउँमा स्वास्थ्य सुविधा हेरेर लकडाउन केही खुकुलो बनाउने । सार्वजनिक यातायातलाई तत्काल चल्न नदिने, निजी सवारीलाई सार्वजनिक स्थलमा पार्किङ गर्न नदिने तर कुनै एक बिन्दुबाट अर्को बिन्दुमा जान रोक नलगाउने । आवाशीय क्षेत्रका बासिन्दालाई आफ्नो टोल वरिपरि अरू सँग सामाजिक दुरी कायम राख्दै हिँडडुल गर्न दिने ।

निश्चित समयका लागि पसल, मर्मत सेवा आदि खोल्न दिने । सिनेमा हल, रेस्टुरेन्ट, स्कुल कलेज जस्ता धेरै मानिस जम्मा हुने स्थल अहिलेका लागि बन्द नै राख्ने । निजी क्षेत्रका अफिस न्यूनतम जनशक्तिको प्रयोग गरेर सञ्चालन गर्न दिने । कृषि, उद्योग निश्चित मापदण्डअनुसार सञ्चालन गर्न दिने आदि। नागरिकको तर्फबाट स्वअनुशासनको पालना गर्ने । जस्तै, सधैं मास्क लगाउने, बाटोमा हिँड्दा भौतिक दुरी कायम राख्ने, हात बारम्बार धुने आदि । भिड कुनैपनि हालतमा जम्मा हुन नदिने, आफू भिडको हिस्सा नबन्ने । कोही अझै आफैँ लकडाउनमा बस्न चाहन्छ र घरबाट बहिर निस्कन चाहँदैन भने रोजगारदाता र समाजले त्यस्तो निर्णयको सम्मान गर्ने । मलाई पुरा विश्वास छ, नेतालाई देश कसरी चलाउने भनेर ज्ञान दिन सक्ने हामीले, आफ्नो जीवनका लागि यति ज्ञानको प्रयोग त अवश्य गर्ने नै छौँ ।

सर्भाइबल अफ द् फिटेस्ट

अहिले लकडाउनमा रहँदा धेरै मानिसले प्रकृतिक सुन्दरताको बखान गर्न थालेका छन् । प्राकृतिक सुन्दरताको आनन्द लिँदै गर्दा, हामीले प्रकृतिको खेलाबारे पनि याद राख्नुपर्छ । मानिस र किटाणु बीचको लडाइँ यो पहिलो होइन। यो हजारौँ वर्षदेखि चलिआएको शृङ्खला हो । जीव वैज्ञानिक यसलाई ‘एबोलुसनरी आर्म्स रेस’ को संज्ञा दिन्छन् । हेक्का रहोस्, मानव जातिमाथि खतरा त सधैं नै थियो । प्राग् ऐतिहासिक युगमा मानिसलाई हिंसक जनावरबाट मात्र होइन, किटाणुबाट पनि उत्तिकै खतरा थियो । हिंस्रक जनावरबाट बच्नको लागि उनीहरू एक महिना मात्र पनि लकडाउनमा बसेको भए मानव जाति उहिले नै लोप भइसक्थ्यो । आज हामीमा यदि धेरै रोगहरूसँग लड्ने प्रतिरोधात्मक क्षमता छ भने त्यसको श्रेय ती मानव पुर्खाहरूलाई जान्छ।

जसले सबै खाले रोगको भौतिक सामना गरेर हाम्रो शरीरमा ती रोगविरुद्ध लड्ने क्षमता छाडेर गए । सर्भाइभल अफ द् फिटेस्ट भन्ने वाक्यांश हामीले धेरै सुनेका छौँ, कैयौँ पटक बोलीमा प्रयोग पनि गरेको हुनसक्छौँ। आज त्यस सिद्धान्तलाई प्रयोगमा ल्याउने बेला आएको छ । अब हामीले यही मानेर चल्नु पर्ने छ कि भिडभाड भनेको बाघ/भालु हो । आज कोरोना लागेको बेला त्यही मानिस ‘फिटेस्ट’ हुन्छ, जसले सामाजिक दुरी कायम राख्ने गर्छ। जसले हात बारम्बार धुने छन्, मास्क लगाउने छन् र घरका बुढापाका र स्वास्थ्य समस्या भएका सदस्यहरूलाई संक्रमण लाग्नबाट बचाउने छन् । आज त्यही ‘फिट’ हुने छन्, जो घरबाट बाहिर निस्कनु अघि घरका बुढापाकालाई एक पटक राम्रोसँग हेर्ने छन् र यो कुरालाई राम्रोसँग मनन् गर्ने छन् कि उनीहरूको जिन्दगी आफ्नो हातमा छ। आफ्नो लागि नभए पनि कमसेकम बुढापाका र कमजोरका लागि भए पनि स्वअनुशासनको पालना गर्ने छन्। कमसेकम त्यति बेलासम्म हामीले अति सचेत हुनुपर्ने छ जबसम्म हामीलाई कोरोनाको खोप वा कारगर औषधि हात लाग्ने छैन । यस्तो गर्नेलाई नै प्रकृतिले सबैभन्दा ‘फिट ‘ मान्ने छ । बुढापाकाको आशीर्वाद लाग्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment