Comments Add Comment

बंगलादेशमा २५० भन्दा बढी डाक्टरमा कोरोना भाइरस संक्रमण

१२ वैशाख, काठमाडौं । बंगलादेशमा कोरोना भाइरस (कोभिड-१९) बाट २५० भन्दा बढी डाक्टर संक्रमित भएका छन् ।

बंगलादेश डक्टर्स फाउण्डेशन (बीडीएफ)का अनुसार बिहीबारसम्ममा बंगलादेशमा २५१ डक्टर यो भाइरसबाट संक्रमित भइसकेका छन् । पछिल्लो समय उल्लेख्य मात्रामा संक्रमितको संख्या बढिरहेको अवस्थामा ठूलो संख्यामा डाक्टरहरु पनि संक्रमित भएको तथ्याङ्क सार्वजनिक भएको हो । बंगलादेशको राजधानी सहर ढाकामा मात्र करिब दुई सय डाक्टरहरु भाइरसबाट संक्रमित भएका छन् ।

बीडीएफले भने मुलुकमा पीपीईको अभावको कारण डक्टरहरुमा कोरोना भाइरसको संक्रमण फैलिएको आरोप लगाएको छ । धेरै मुलुकमा जस्तो बंगलादेशमा पनि अहिले स्वास्थ्यकर्मीलाई व्यक्तिगत सुरक्षा सामग्री (पीपीई)को अभाव फैलिएको छ ।

बंगलादेशको ब्राक यूनिभर्सिटीले गरेको एक अध्ययनले कोरोना भाइरसका बिरामीको उपचारमा संलग्न करिब २५ प्रतिशत डाक्टर र नर्स तथा ६० प्रतिशत मेडिकल सहयोग कर्मचारीले अहिलेसम्म पीपीई पाउन सकेका छैनन् ।

त्यसका साथै बंगलादेशका स्वास्थ्यकर्मीहरुले आफूलाई दिइएको पीपीईको गुणस्तरमा पनि प्रश्न उठाएका छन् । ‘यो त पीपीईभन्दा पनि रेनकोटजस्तो छ’, कोभिड-१९ का बिरामीको उपचार गराइरहेका डाक्टर अनिस अहमदले बताए ।

बंगलादेशमा पर्याप्त मात्रामा डाक्टरको पनि अभाव छ । विश्व बैंकको विकास सूचक अनुसार सन् २०१७ मा बंगलादेशमा एक हजार जनामा डाक्टरको संख्या ०.५ मात्र थियो । यो विश्वकै सबैभन्दा कममध्येको एक हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment